पोखरा : नेकपा एमालेबाट निर्वाचित मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले गण्डकी सरकारका मन्त्री संख्या नै दर्जन नजिक पुर्याएका छन्। संघीय सरकारमै २० देखि २५ बीचमा मन्त्रालय रहने प्रावधान छ।
दोस्रो पटक मुख्यमन्त्री भएपछि गुरुङले प्रदेश सरकारमै मन्त्रीको संख्या बढाएर ११ पुर्याएका हुन्। आफूलाई साथ दिएका दल र स्वतन्त्र सांसदलाई पनि भाग मिलाउन गुरुङले मन्त्रालय फुटाएर ११ पुर्याएका हुन्।
आज मन्त्रिमण्डल विस्तारका क्रममा मुख्यमन्त्री गुरुङले भौतिक, उद्योग तथा पर्यटन र सामाजिक विकास मन्त्रालय फुटाएर तीन नयाँ मन्त्रालय खडा गरेका छन्।
गुरुङले बुधबार मन्त्री बनेकाहरुलाई जिम्मेवारी दिएपछि विपक्षीलाई पनि सरकारमा तान्ने रणनीति बनाएका छन्। गुरुङले एउटै मन्त्रालयमा अनेक जिम्मेवारी थोपरिँदा काम गर्न समस्या भएकाले फुटाएर जिम्मेवारी बाँडफाँट गर्नुपरेको बताएका छन्।
नयाँ कार्यविभाजन अनुसार गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आफैँ राखेका छन्। उनले बुधबार आफ्ना सहयोद्धा किरण गुरुङलाई अर्थ भूमि व्यवस्था, कृषि सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका छन्।
त्यसैगरी गुरुङले रामशरण बस्नेतलाई भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था, ऊर्जा, जलश्रोत तथा खानेपानी, कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बनाएका छन्।
नरदेवी पुनलाई शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री बनाइएको छ। उनी यसअघि सामाजिक विकास मन्त्रीको भूमिकामा थिइन्।
गुरुङले विकास लम्साललाई पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति, वन, वातावरण तथा भूसंरक्षण मन्त्री बनाएका छन्। आफ्नो सत्ता जोगाउन संकट मोचक बनेका मनाङबाट निर्वाचित स्वतन्त्र सांसद दीपक मनाङेलाई गुरुङले फेरि युवा तथा खेलकुद मन्त्री बनाएका छन्।
के छ व्यवस्था ?
संवैधानिक व्यवस्था अनुसार प्रदेशसभाका सांसदमध्ये २० प्रतिशतसम्मलाई मन्त्री बनाउन पाइन्छ। गण्डकी प्रदेशमा मुख्यमन्त्री गुरुङले १२ वटासम्म मन्त्रालय खडा गर्न पाउँछन्।
११ जिल्ला रहेको गण्डकीमा सुरुमा ७ वटा मन्त्रालय थिए। त्यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँगै आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय बनाइएको थियो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।