बादलको हार बन्यो ओली-नेपाल डिभोर्सको आधार !
ओलीले विश्वासको मत नलिने, सिधै उपधारा ५ मा जाने

नेकपा एमालेको जारी विवाद मिलाउन कार्यदलले काम गरिरहेकै बेला बिहीबार भएको राष्ट्रियसभा सदस्य बागमती प्रदेशको उपनिर्वाचनले फेरि विभाजनको रेखा कोरेको छ। 

फागुन २३ मा सर्वोच्च अदालतको फैसलाले पुनःस्थापित भएको एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीचको विवाद मिलाउन गठित कार्यदलले काम गरिरहेको छ । तर बिहीबार भएको राष्ट्रियसभाको उपनिर्वाचनको नतिजाले एमाले एकतामा धक्का पुग्ने सम्भावना बढाएको छ। 

बागमती प्रदेश अन्तर्गतको राष्ट्रियसभा उपनिर्वाचनमा नेता नेपालले आफूले उठाएका स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटाको साथ नछाडेपछि एमालेका आधिकारिक उम्मेदवार रामबहादुर थापा बादल हारेका छन्। 

एमालेको ह्वीप र अध्यक्ष केपी शर्मा ओलीको चेतावनीबीच नेपाल पक्षले अटेर गरेपछि त्यसको प्रतिकूल असर एमालेको एकतामा देखिन थालेको छ। नेता नेपालले बुधबार मौन अवधी शुरु हुनु अगाडि आफूलाई भेट्न पुगेका नेता बादललाई खिमलालाई बचन दिइसकेकाले त्यसबाट पछाडि फर्कन नमिल्ने बताएका थिए । 

फेरि डिभोर्स 

उनको भनाई जसरी नै बिहीबार भएको निर्वाचनमा नेपाल पक्षले एमालेका आधिकारिक उम्मेदवार बादललाई मत नदिएर कांग्रेस, माओवादी समेतको समर्थनमा उम्मेदवार बनेका देवकोटालाई जिताएका छन्। 



यो घटनालाई एमालेले निकै गम्भीर रुपमा लिएको छ। बिहीबार बसेको एमालेको आकस्मिक स्थायी कमिटीको बैठकले माधव पक्षको कदमको भर्त्सना गरेको छ। पार्टीको निर्देशन अवज्ञा गर्दै आधिकारिक उम्मेदवारविरुद्ध मतदान गर्ने कार्यलाई एमालेले निकै गम्भीर रुपमा लिएको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । उनले भने, 'पार्टीको निर्देशनको अवज्ञा गर्दै पार्टीका आधिकारिक उम्मेदवारका विरुद्ध मतदान गर्ने पार्टीका सांसद् र जनप्रतिनिधिहरुले मतदान गरेको विषयलाई गम्भीर रुपमा लिएको छ।'

उपनिर्वाचनमा एमालेले उठाएको आधिकारिक उम्मेदवार नेता बादललाई मत नदिई कांग्रेस-माओवादीको समर्थनमा नेपालले उठाएका उम्मेदवार देवकोटालाई मतदान गर्ने बिहीबार नै नेपाल पक्षले स्पष्ट गरिसकेको थियो । 



यता अध्यक्ष ओलीले बुधबार अपिल जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार बादललाई अनिवार्य मतदान गर्न निर्देशन दिएका थिए। तर, एमालेको ह्विप र अध्यक्ष ओलीको निर्देशनविपरीत गएर बागमती प्रदेश अन्तर्गतका नेपाल पक्षीय प्रदेश सांसद् र जनप्रतिनिधिहरुले देवकोटालाई मतदान गरेका छन् । 

पार्टी एकता प्रयास चलिरहँदा नेपाल पक्षले पार्टीको ह्वीप उल्लंघन गरेको विषय निकै गम्भीर विषय भएको एमालेका एक स्थायी कमिटी सदस्य बताउँछन् । यसले पार्टी एकता प्रयासलाई पनि प्रभावित गर्ने उनको भनाइ छ । 

'पार्टीको ह्वीप उल्लंघन भएको छ । पहिले त यसको बारेमा समीक्षा हुने छ। त्यसपछि एकताका लागि प्रयास अघि बढ्ने छ', ती स्थायी कमिटीका सदस्य भन्छन्, 'यो विषय निकै गम्भीर विषय हो । यसलाई पार्टीले गम्भीर रुपमा लिएको छ । निश्चित रुपमा यसले एकता प्रयासलाई असर गर्छ नै।' 

वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा असफल भएपछि एमाले अध्यक्ष ओलीले ३० गते वरिष्ठ नेता नेपालसँग गएको फागुन २८ गते आफूले लिएका निर्णयहरु खारेज गरेर पार्टीलाई २०७५ जेठ २ मा पुर्‍याउन राजी भएका थिए। 

उनले पार्टीको विवाद मिलाउने सन्दर्भमा सहमति पनि गरेका थिए । त्यही अनुसार जेठ २ गते नेताद्वय सुवास नेम्वाङ र भीम रावलको नेतृत्वमा १० सदस्यीय कार्यदल गठन गरिएको थियो । 

उक्त कार्यदलले ३ दिनमा वृहत् एकताको खाका बनाएर बुझाउने समयसीमा तोकिए पनि अहिलेसम्म एउटा मात्र कार्यदलको बैठक बस्न सकेको छ । बिहीबार ५ बजेका लागि बोलाइएको बैठक पुनः शुक्रबार ९ बजेका लागि सारिएको छ । बुधबार साँझ ७ बजेलाई तय भएको बैठक बिहीबार बेलुका ५ बजेलाई सारिएको थियो। 

बिहीबार पनि बस्न नसक्ने एमाले नेता रघुजी पन्तले जानकारी दिए। उनले नभ्याइएकाले शुक्रबारका लागि सारिएको समेत बताए । ३ दिनभित्र विवाद समाधान गर्न भन्दै ओली र नेपालले १० सदस्यीय कार्यदल गठन गरेका थिए । तीन दिनभित्रै विवाद समाधान गर्ने भनिए पनि मंगलबार एक दिन मात्रै कार्यदलको बैठक बसेको छ ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यो धेरै गम्भीर कुरा भएकाले यसले पार्टी एकतामै प्रभावित पार्ने संकेत गरे । उनले कार्यदल गठन भइसकेपछि र गठन हुनुभन्दा पहिलेका कुरालाई एउटै आँखाबाट हेर्न नसकिने बताउँछन् । 

'यो धेरै गम्भीर कुरा हो । किनभने त्यो भन्दा अगाडी गरिएका कुराहरुलाई त पार्टीका एकताका प्रयास शुरुआत भइसकेको थिएन भनेर एक ढंगले हेर्न सकिएला । एक ढंगले 'कट अफ डेट' मानौं जेठ २ लाई, प्रवक्ता ज्ञवालीले भने, 'तर जेठ २ मा कार्यदल बनिसकेपछि त्यो भन्दा अगाडि र त्यो भन्दा पछाडिका कुरालाई एउटै आँखाबाट हेर्न मिल्दैन। यो विषयलाई हामीले अत्यन्तै गम्भीर रुपमा हेरेका छौँ ।' 

ज्ञवालीले राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारको पराजयको विषयले एमाले एकतालाई प्रभावित पार्ने स्पष्ट पारे । 

गोकुलको प्रतिक्रिया : आफ्नैले डसे

ओलीनिकट एमाले नेता गोकुल बाँस्कोटा राष्ट्रियसभाको उपनिर्वाचनमा नेता बादलको पराजयलाई आफ्नैले डसेका कारण यस्तो नतिजा आएको बताउँछन्। पछिल्लो समय ओली र नेपालबीच वार्ता गराउन नेता बास्कोटाले पहल गरेका थिए। 

तर बिहीबारको उपनिर्वाचनमा नेपाल पक्ष पुरानै अडानमा कायम भएपछि नेता बास्कोटाले त्यस्तो प्रतिक्रिया दिएका छन् । उनी भन्छन्, 'दूध खुवाएर पालेका साँपले डसेका हुन्। विपक्षीसँग कुनै गुनासो छैन, समयको अन्त्य हैन नयाँ सुरुआत मात्र !'

शान्तको आक्रोश

एमाले संसदीय दलका सचेतक शान्ता चौधरीले सूर्य चिन्हले पराजय भोगिरहँदा कमलको जीत तपाईको हो भनेर नेता माधवकुमार नेपाललाई प्रश्न गरेकी छिन। 

'कमरेड तपाईंले मलाई नेकपा एमालेमा आवद्ध गराउनु भयो तर तपाईंले नेकपा एमाले होइन, स्वतन्त्र रोज्नु भयो', सचेतक चौधरी नेता नेपाललाई प्रश्न गर्छिन्, 'कमरेड, तपाईंले मलाई सूर्य चिन्ह हाम्रो हो भनेर रटाउनु भयो । तर तपाईंले त आज सूर्य चिन्ह चिन्ह छोड्नु भएछ कलम चिन्ह रोज्नु भएछ । त्यसैले तपाईंले जितेको हो र कमरेड ? होइन, जित्नु भएन।'

रिजाल भन्छन् : अब टुङ्ग्याऊँ

यसैबीच नेकपा एमालेका अर्का नेता विष्णु रिजालले राष्ट्रियसभाको सानो घटनाले एमाले एकता भाँडिने सम्भावना बढेको बताएका छन्। साना साना कुराले पनि एकता भाँडिने डर भएकाले छिटो टुंग्याउन उनले आग्रह गरेका छन्। 

'राष्ट्रियसभामा एक सिट एमालेका लागि ठूलो होइन । तर, बन्न लागेको एकताको वातावरण यही घटनाले बिथोलिने खतरा बढेको छ', उनले भनेका छन्, 'कार्यदल प्रभावित भएको छ, नेता-कार्यकर्तामा तिक्तता थपिएको छ।'

उनले देश देश चुनावतिर सोझिँदै गर्दा काशी जान कुतीको बाटो रोज्नुको साटो खुलस्त कुरा गरेर एकता छिटो टुंग्याउन नेताहरुलाई दबाब दिएका छन्।

नयाँ सरकारका लागि मार्ग प्रशस्त

यसैबीच राष्ट्रियसभाको उपनिर्वाचनमा एमाले पराजित भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने भएका छन् । 

बिहीबार बेलुकी बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीले ३० दिनभित्र विश्वासको मत लिने प्रक्रियामा नगई संसदको अधिवेशन जेठ ९ गते आह्वान गर्ने निर्णय समेत गरेको छ । त्यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरिएको छ ।

वैशाख २३ गते ओली प्रतिनिधिसभामा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तोकेको ३ दिनको म्यादभित्र वैशाख ३० गते बेलुकी ९ बजेसम्म विपक्षी दलहरुले सरकार गठन गर्न असफल भएपछि संसद्को सबैभन्दा ठूलो दलको हैसियतमा ओली पुनः प्रधानमन्त्री नियुक्त भएका थिए । 

तर ओलीले संविधानअनुसार ३० दिनभित्र विश्वासको मत लिने प्रकृयामा नगई धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका निम्ति मार्ग प्रशस्त गर्ने निर्णय गरेका छन् । ओलीको अकस्मातको यो निर्णयले पनि अब एमालेको जारी एकता प्रकृया टुंगिने र ओली-नेपाल पुनर्मिलनमा पूर्णविराम लाग्ने संकेत देखिएको छ । 

प्रतिनिधिसभामा विश्वासको मत लिँदा एमालेको नेपाल पक्षका २८ जना सांसदहरुको असहयोगका कारण ओली असफल भएका थिए । बिहीबार राष्ट्रियसभाको उपनिर्वाचनमा नेपाल पक्षको असहयोगका कारण एमालेका उम्मेदवार बादल पराजित भएपछि ओलीले हठात् यो निर्णय लिएका हुन् । यसले पनि अब एमालेको एकतामा पूर्णविराम लागेको अनुमान गर्न थालिएको छ। 

  • प्रकाशित मिति : जेठ ६, २०७८ बिहीबार १९:२४:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया