काठमाडौं : कोरोना संक्रमणको रोकथाम र नियन्त्रण गर्न उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) खारेजीमा परेको छ। सीसीएमसी खारेजीमा परेसँगै सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा कोभिड-१९ निर्देशक समिति गठन गरेको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–२०७८ बाट सरकारले सीसीएमसी खारेज गर्दै प्रधानमन्त्रीको नेतृत्वमा १० सदस्यीय निर्देशक समिति बनाएको हो।
बिहीबार जारी भएर शुक्रबार राजपत्रमा सूचना प्रकाशित ‘कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ कार्यान्वयनमा आएसँगै २०७७ वैशाख १६ गते सरकारले गठन गरेको सीसीएमसी र सीसीएमसी निर्देशक समिति स्वत: निष्क्रिय भएका छन्।
अध्यादेशमा कोभिड–१९ को रोकथाम, नियन्त्रण, निदान र उपचारको व्यवस्थापनसम्बन्धी कार्यलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीका अध्यक्षतामा १० सदस्यीय निर्देशक समितिसमेत गठन गरिने उल्लेख छ।
अब खारेजीमा परेको सीसीएमसीका संयोजक पोखरेल निर्देशक समितिका सदस्य भएका छन्। समितिका सदस्यहरूमा उपप्रधानमन्त्री, स्वास्थ्य तथा जनसंख्या, गृह, अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, परराष्ट्रमन्त्री, मुख्य सचिव र प्रधानसेनापति रहने छन्।
प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा सुरक्षा र आपूर्ति व्यवस्था तथा बाह्य सहयोगका लागि सम्बन्धित निकायलाई परिचालन गर्ने सक्ने छ।
अब कोरोना रोकथाम र नियन्त्रणको सबै काम प्रधानमन्त्री नेतृत्वको कोभिड–१९ निर्देशक समितिले गर्ने भएको छ। यसअघि कोभिड-१९ नियन्त्रणका लागि सरकारले सुरुमा २०७५ सालमा पोखरेल नेतृत्वकै उच्चस्तरीय समन्वय समिति बनाएको थियो।
तर कोरोनाको पहिलो लहरमा पोखरेल र तत्कालीन स्वास्थ्य मन्त्री भानुभक्त ढकाल चीनबाट गरिएको स्वास्थ्य सामग्री खरिदको कमिशन विवादमा मुछिएका थिए। त्यसबेला सेनाले खरिद गर्ने स्वास्थ्य सामग्रीमा पनि गडबडी पाइएपछि विवाद भएको थियो। त्यसपछि पनि पोखरेल नेतृत्वमै सीसीएमसी निर्देशक समिति बनेको थियो। तर उक्त समिति पनि पटक पटक विवादित भएपछि अब कोरोना नियन्त्रणको कमाण्ड प्रधानमन्त्री आफैंले निर्देशक समितिमार्फत लिएका हुन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।