कोरोना महामारीविरुद्ध जुट्दै अन्तर्राष्ट्रिय सहयोग

कोरोना महामारीसँग जुध्न नेपाललाई अन्तर्राष्ट्रिय जुट्न थालेको छ । अमेरिका, चीन, स्विट्जरल्यान्ड लगायतका देशबाट नेपाललाई स्वास्थ्य सामग्री सहयोग आउन थालेको हो । 

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय निकायलाई सहयोगका लागि आह्वान गरेका थिए । त्यस्तै परराष्ट्र मन्त्रालयले नेपाललाई आवश्यक पर्ने सहयोगको सूची समेत तयार पारेर विदेशमा रहेका दूतावासलाई पठाएको थियो । मन्त्रालयले १४ सामग्री सूची तयार पारेर विदेशमा रहेका दूतावासलाई उपलब्ध गराउँदै सहयोगका लागि पहल गर्न निर्देशन दिएको थियो । 

सरकारको उक्त आह्वानसँगै अन्तर्राष्ट्रियस्तरबाट सहयोग जुट्ने क्रम बढेको हो । हिजो (जेठ ८ गते) स्विट्जरल्यान्ड सरकारले ३० टन स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको थियो । त्यस्तै अमेरिकाबाट पनि स्वास्थ्य सामग्री नेपाल आएको थियो । अन्य देशहरूबाट पनि पनि सहयोग आउने क्रम जारी छ ।

चीनबाट अक्सिजनसहित स्वास्थ्य सामग्री

चीनले कोरोना महामारीविरुद्ध लड्न निरन्तर स्वास्थ्य सामग्री नेपाल पठाइरहेको छ । चीनको केन्द्रीय सरकारसँगै विभिन्न प्रान्तबाट समेत सहयोग आइरहेको छ । अहिलेसम्म नेपालमा तिब्बत सरकारले ३० हजार लिटर लिक्विड अक्सिजन, ८०० थान अक्सिजन भरिएका सिलिन्डर, १० वटा अक्सिजन कन्स्ट्रेटर, ५ वटा भेन्टिलेटर, २०० आइसियु बेड, १ हजार ५०० एन्टिजेन किट्स लगायतका स्वास्थ्य सामग्री नेपाल पुगिसकेको छ ।

तिब्बत सरकारले थप ३० हजार लिटर लिक्विड अक्सिजन र १५० थान अक्सिजन सिलिन्डर सहयोग गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ । त्यस्तै चीनको सिचुवान प्रान्तले पनि स्वास्थ्य सामग्री सहयोग गरेको छ । त्यस्तै चीनको रेडक्रसले पनि नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । यसअघि चीनले ८ लाख डोज भेरोसेल खोप पनि अनुदानमा दिएको थियो । 



अमेरिकाबाट फेससिल्ड र मास्क

वैशाख १८ गते अमेरिकाले नेपाललाई ८५ लाख अमेरिकी डलर सहयोग दिने घोषणा गर्‍यो । सोही घोषणा अनुसार अमेरिकाबाट नेपालमा स्वास्थ्य सामग्री आइरहेको छ । अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय विकास नियोग (युएसआइडी) मार्फत गरेको सहयोग पहिलो चरणमा काठमाडौं आइपुगेको छ । अमेरिकाले पठाएको सामानको पहिलो खेप हिजो काठमाडौं आइपुगेको हो । अब दुई चार्टर विमान केही दिनमा नेपालका लागि उड्नेछन् । 



अमेरिकाले पहिलो खेपमा २४ लाख ५० हजार थान फेस सिल्ड, ५० हजार थान सर्जिकल मास्क, १४ लाख थान डिस्पोजल गाउन, ९ लाख ६२ हजार २४० थान केएन ९५ मास्क, लगायतका स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुझेका थिए । 

यसअघि अमेरिकी अमेरिकी हिन्द महासागर कमान्डले नेपाललाई २७ लाख ५० हजार अमेरिकी डलर बराबर सहयोग गर्ने घोषणा गरेको थियो । अमेरिकी रक्षा मन्त्रालयबाट प्राप्त विभिन्न स्वास्थ्य सामग्री समेत स्वास्थ्य मन्त्रालयलाई प्रदान गरिएको थियो । 

स्विटजरल्यान्डबाट ४० थान भेन्टिलेटर

स्विटजरल्यान्ड सरकारले उपलब्ध गराएको ३० टन स्वास्थ्य सामग्री शनिबार काठमाडौं आइपुगेको छ । ती सामग्री विमानस्थलमा राजदूत एलिजावेथ भोन क्यापेलरले स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरिन् । 

कार्गो विमानमा स्वास्थ्य सामग्री नेपाल पठाएको थियो । जसमा ४० भेन्टिलेटर, १० अक्सिजन कन्स्ट्रेटर, ११ लाख एन्टिजेन टेस्ट किट, १ लाख १० हजार केएन ९५ मास्क, ५० हजार पञ्जा र १५ हजार पिपिई लगायतका स्वास्थ्य सामग्री रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

स्पेनबाट १२४८०० एन्टिजेन किट 

स्पेन सरकारले पनि नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । जेठ ६ गते स्पेन सरकारले प्रदान गरेको १ लाख २४ हजार ८०० थान एन्टिजेन टेष्ट किट, १० थान अक्सिजन कन्स्ट्रेटर, १ लाख ४४ हजार थान केएन ९५ मास्क, ५० थान अक्सिजन सिलिन्डर, १५ थान भेन्टिलेटर नेपालले बुझेको थियो । उक्त स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्री त्रिपाठीलाई स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा र स्पेनिस सहयोग नियोगका निर्देशक म्याग्डी मार्टिनेजले हस्तान्तरण गरेका थिए । 

अस्ट्रेलियाबाट ७० लाखको सहयोग

अस्ट्रेलिया सरकारले नेपाललाई ७० लाख डलर सहयोगको घोषणा गरेको छ । उसले कोरोना महामरी नियन्त्रणका लागि उपकरण खरिदका लागि ७० लाख डलर सहयोग गर्ने घोषणा गरेको हो । उक्त सहयोग राष्ट्रसंघ र एनजीओमार्फत प्रदान गरिनेछ ।

यसअघि ओमानमा रहेका एनआरएनए र अन्य नेपालीले संयुक्त रूपमा खरिद गरेको ५६० थान अक्सिजन सिलिन्डर समेत नेपाल आएको थियो । जसको अहिले पनि प्रशंसा भइरहेको छ । 

आफै कोरोना महामारीको चपेटामा रहेको भारतले लिक्विड अक्सिनको आपूर्ति सूचारु गरेको छ । अन्य स्वास्थ्य सामग्री समेत सहयोग भइरहेको छ । 

त्यस्तै थाइल्यान्डमा रहेका विभिन्न संघ संस्थाबाट पनि २४ अक्सिजन कन्स्ट्रेटर र अन्य स्वास्थ्य सामाग्री सहयोग आएको थियो । 

बंगलादेशले १० हजार भायल रेम्डिसिभिर अनुदानमा दिएको थियो । नेपालले पाँच हजार भायल खरिद गरेको थियो । बंगलादेशले अन्य स्वास्थ्य सामग्री र पिपिई समेत अनुदानमा दिएको थियो । 

फिनल्यान्डले पनि २२ लाख सर्जिकल मास्क, ३५०० एफएमपिटु मास्क, ५२ हजार ५०० ग्लोभ्स, ३० वटा आइसोलेसन गाउन लगायतका स्वास्थ्य सामग्री नेपाललाई सहयोग गरेको छ । त्यस्तै जर्मनीले पनि ६२ वटा भेन्टिलेटर, २७ हजार सर्जिकल मास्क, आइसोलेन सेन्टरका लागि पालहरू लगायतका सामग्री उपलब्ध गराएको छ । बेलायतले नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गरेको छ । 

कम्बोडिया, बेल्जियम लगायतका देशबाट पनि स्वास्थ्य सामग्री उपलब्ध भएको छ । त्यस्तै युरोपियन युनियनले पनि नेपाललाई २० लाख युरो सहयोग गर्ने घोषणा गरेको छ । साथै विभिन्न स्वास्थ्य सामग्री समेत उपलब्ध गराउने भएको छ । 

कुन सामान कति आयो ?  

भेन्टिलेटर                                  : १२२ वटा 
अक्सिजन कन्स्ट्रेटर                    : ५४ थान  
अक्सिजन सिलिन्डर                    : १५६०
पिपिई सेट                                : १५०००
एन्टिजेन किट                            : १२,२६,३०० थान 
मास्क (सर्जिकल+केएन ९५)       : ३३,५२,७४० थान
फेस सिल्ड                               : २४,५०,००० थान

  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १३:४२:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया