सगरमाथाको चुचुरोमा आइतबार एकैदिन १५० आरोही
फरकधार / ९ जेठ, २०७८

वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । 



आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार शिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

पर्यटन विभागबाट खटिएका सम्पर्क अधिकृत श्रेष्ठले अहिलेसम्म १५० भन्दा बढीले आरोहण गरेको खबर आएको बताए । ‘मौसम राम्रो भएकाले उल्लेख्य सङ्ख्याका आरोही चुचुरातर्फ गएका थिए, १५० भन्दा बढीले आरोहण गरिसकेको खबर आएको छ, अझै केही आरोहण जारी छ,’ उनले भने । 

मौसमले साथ दिए आगामी २८ र २९ तारिख सर्वाधिक आरोहण हुने जनाइएको छ । 



अहिले विश्व कीर्तिमानी कामिरिता शेर्पा २६औँ पटकको आरोहणका लागि आधार शिविरमा रहेका छन् । अझै पनि बाक्लो सङ्ख्यामा आरोही सगरमाथा आरोहणका लागि आधार शिविरमा रहेका सम्पर्क अधिकृत श्रेष्ठले बताए ।

यसअघि प्रतिकूल मौसमका कारण एक साता सगरमाथा आरोहण प्रभावित बनेको थियो । वसन्तयामको जारी आरोहणका क्रममा पूर्वीमध्ये अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकेका कारण नेपालको मौसम बिग्रिएपछि सगरमाथासहितका हिमाल आरोहण प्रभावित बनेको थियो ।

वसन्तयामको सगरमाथा आरोहण गत वैशाख २४ गतेदेखि सुरु भयो । कामिरिता शेर्पा नेतृत्वको १२ जनाको टोलीले सगरमाथाको चुचुरामा पुगेर डोरी टाँगे (रोप फिक्सिङ)सँगै सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको थियो । 

पर्यटन विभागले सगरमाथाका लागि सर्वाधिक ४३ आरोही समूहलाई आरोहण अनुमति दिएको छ । यो सङ्ख्या सन् २०१९ को वसन्तयामको भन्दा बढी हो । वसन्तयामको हिमाल आरोहणमा ७९ देशका ८६ आरोही समूहमा जम्मा ७७४ आरोहीले आरोहण अनुमति लिएका छन् ।

  • प्रकाशित मिति : जेठ ९, २०७८ आइतबार १८:२२:५७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया