सांसदको नागरिकता र हस्ताक्षरसहित सर्वोच्च जाँदै विपक्षी गठबन्धन

वैकल्पिक सरकार बन्न नसकेको भन्दै राष्ट्रपतिले संसद विघटन गरेपछि विरोधमा रहेको विपक्षी गठबन्धनले आज सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्दैछ । १४९ सांसद आफूहरुको पक्षमा रहेको दाबी गरेको गठबन्धनले आज मुद्दा दर्ता गर्ने भएको हो । 

संसद विघटनविरुद्ध रिट बोकेर हिजै अदालत पुगेको गठबन्धनले तयारी समय अपुग भएकाले आज सांसदहरुको हस्ताक्षर र नागरिकतासहित अदालत जान लागेको हो । नेपाली कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र, एमालेको खनाल-नेपाल समूह, जसपाको बाबुराम-उपेन्द्र समूह र जनमोर्चाको विपक्षी गठबन्धन बनेको छ ।

प्रतिनिधि सभा विघटनअघि संविधानको धारा ७६(५) अनुसार विपक्षी दलहरुले  गठबन्धन बनाएर १ सय ४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा वैकल्पिक सरकारको दाबी गरेका थिए ।

तर, राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि वैकल्पिक सरकारमा दाबी भएको र दुवै पक्षमा केही सांसद दोहोरिएको पाइएको’ भन्दै दुवै पक्षको दाबी अस्वीकार गरेकी थिइन् । त्यसपछि सोही दिन राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधि सभा विघटन गरेकी थिइन् ।

राष्ट्रपतिको उक्त कदमविरुद्ध विपक्षी गठबन्धनमा सामेल भएका सांसद नागरिकता र हस्ताक्षरसहित आज सर्वोच्चमा उपस्थित हुने भएका हुन् । संसद विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको उनीहरुको ठहर छ । 





  • प्रकाशित मिति : जेठ १०, २०७८ साेमबार ८:१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया