पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता वर्षमान पुनको समन्वयमा केही दिनअघि रोल्पाका विभिन्न गाउँपालिकामा अक्सिजन सिलिन्डर पठाइयो । काठमाडौंस्थित बिध म्यानेजमेन्टबाट प्रतिसिलिन्डर २६ हजारका दरले किनेर ती सिलिन्डर रोल्पाका अस्पताल र गाउँपालिकामा पठाइएको थियो ।
यसअघि वनमन्त्री प्रेमबहादुर आलेले प्रतिसिलिन्डर २३ हजारमा तिनै सिलिन्डर किनेर धनगढी र गृहजिल्ला डोटी पुर्याएका थिए। डोटीमा २३ हजारले लगिएका तिनै सिलिन्डर रोल्पा पठाउँदा कसरी तीन हजार बढी मूल्य पर्यो त? धेरैको चासोको विषय बनेको छ।
यसअघि सरकारले १८ हजार ८०० प्रतिगोटामा ती सिलिन्डर जिल्ला अस्पताल रोल्पा पठाएको थियो । ४० लिटरका अक्सिजन सिलिन्डरको अहिले भने भ्याटबिना २६ हजार परेको छ । त्यसमा भ्याट पनि जोड्दा २९ हजार ३८० हुन आउँछ।
यसअघि वनमन्त्री आलेले भ्याटसहित प्रतिसिलिन्डर २५ हजार ९ सय ९० रुपैयाँमा किनेको बिल सार्वजनिक भएको थियो । मन्त्री पुनको समन्वयमा बिध म्यानेजमेन्टले रोल्पाका विभिन्न पालिका तथा जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर पठाएको थियो ।
बिध म्यानेजमेन्टका प्रोजेक्ट म्यानेजर सुशान्त धितालले रोल्पामा पठाउँदा सबै खर्च कम्पनीले नै गरेको बताए। अक्सिजन सिलिन्डरमा लाग्ने फ्लोमिटर, नोजल्स, ढुवानी खर्च सबै जोडेर पठाइएको उनको भनाइ छ ।
यसअघि वनमन्त्री आलेलाई भने सहुलियत दरमा दिइएको उनले बताए । ‘वनमन्त्रीज्यूले आफूले किनेर अनुदानमा दिन लागेको भनेपछि हामीले एकदमै सहुलियतमा दिएका हौँ । कत्ति पनि नाफा नराखी दिएका थियौँ,’ धितालले भने ।
आफूले अनुदान दिन लागेको र जति पैसामा चीनबाट आएको हो त्यतिमै दिन आग्रह गरेपछि मन्त्री आलेलाई कम मूल्यमा दिएको उनको भनाइ छ । ‘रोल्पाका लागि हामीले नै ढुवानी खर्च व्यहोरेका छौँ । हामीले नै अक्सिजन भरेका हौँ। फ्लोमिटर, नोजल्ससमेत जोड्दा बढी भएको हो,’ प्रोजेक्ट म्यानेजर धितालले भने ।
करको विषय पनि विवादमा आएकोबारे जवाफ दिँदै उनले सरकारले अहिले पैठारीमा मात्र कर छुट गरेको प्रस्ट पारे । ‘करको विषयमा पनि आइरहेको छ । सरकारले त पैठारीमा मात्र हो छुट दिएको हो । बिक्रीमा त कर लागिहाल्छ,’ धितालले भने ।
पूर्वमन्त्री पुनको प्रस्टिकरण
महँगोमा सिलिन्डर किनेर रोल्पा पठाएको विषय चर्चामा आएपछि पूर्वमन्त्री पुनले प्रस्टिकरण दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत केहीले संकटको बेला राजनीति गर्न खोजेको आरोप लगाए ।
रोल्पाकै एकजना पत्रकार र एमालेकी स्थानीय नेतृ ईश्वरी घर्तीलगायत एमाले नेता–कार्यकर्ताहरु आफूलाई बदनाम गर्न लागिपरेको उनले आरोप लगाए ।
सरकारले गर्नुपर्ने काम आफूले गर्दै आएको दाबी गर्दै पूर्वमन्त्री पुनले आफ्नो पहलमा अहिलेसम्म तीनपटक रोल्पामा अक्सिजन सिलिन्डर पुगिसकेको उनले बताए ।
कोरोना महामारीको समयमा राजनीति मात्रै गर्नभन्दा आ–आफ्नो ठाउँबाट रचनात्मक काम गर्न र जनताको जीवन रक्षामा लाग्न उनले अनुरोध गरे।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।