देउवाको स्पष्टीकरण : निर्दलीय अभ्यास भयो भन्नेले एक पटक संविधान पढुन्
राष्ट्रपतिले पटक पटक संविधान उलंघन गरेको आरोप


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पटक पटक संविधानको उल्लंघन भइरहेको आरोप लगाएका छन्। 

प्रेस युनियनको स्थापना दिवसका अवसरमा बिहीबार आयोजित भर्चुअल अन्तरक्रिया कार्यक्रमलाई सम्बोधनका क्रममा देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सिफारिस गरेकै भरमा राष्ट्रपतिले पटक पटक संसद विघटन गरेर संविधानको ठाडो उल्लंघन गरेको आरोप लगाएका हुन्। 

उनले सरकारको सिफारिस आएपछि हतार नगरी आवश्यक सोचविचार गरेर मात्रै निर्णय लिएको भए उपयुक्त हुने बताए। 'सरकारबाट आएको सिफारिस राष्ट्रपतिले पहिले राम्ररी अध्ययन गरेको भए राम्रो हुन्थ्यो। प्रधानमन्त्रीका लागि समर्थन जनाएका सांसदलाई डाकेको भए पनि हुन्थ्यो,’ देउवाले भने, ‘तर उहाँले त मध्यराति, २ बजे राति संसद विघटन गरिदिनुभयो। राष्ट्रपति जस्तो गरिमामय पदमा रहेको व्यक्तिले प्रधानमन्त्रीले भन्दैमा यसरी संविधानको ठाडो उलंघन गर्नु त राम्रो होइन नि!'

उनले आफूले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्दा निर्दलीय नहुने पनि तर्क गरेका छन्। देउवालाई दलको निर्णयविपरीत नेकपा एमालेका केही र जनता समाजवादीका केही सांसदले साथ दिएपछि आलोचना भइरहेको छ। यस्तोमा उनले संविधान अनुसार नै प्रधानमन्त्रीमा दाबी गर्दा निर्दलीय अभ्यास नहुने जिकिर गरेका छन्। 

'संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा दाबी गर्दै राष्ट्रपति समक्ष गएको हो', उनले भने, 'संविधानअनुसार नै १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपतिसमक्ष जाँदा कसरी निर्दलीय अभ्यास हुन्छ?'

उनले निर्दलीय भन्नेहरूलाई संविधान पढ्न पनि आग्रह गरेका छन्। ‘यसलाई निर्दलीय अभ्यास भन्न मिल्दैन। निर्दलीय भन्नेहरूले संविधानको धारा ७६ को ५ पढ्नु', उनले भने, 'त्यहाँ कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्ने आधार प्रस्तुत गरेमा राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नुपर्छ भन्‍ने प्रष्ट व्यवस्था छ। हामीले बहुदलीय अभ्यास नै गरेका हौँ।’



भिडियो



 

  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १३:२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया