भिडियो खिचेको भन्दै युवकमाथि डीएसपीको लात्ती, मुक्का र लाठी (भिडियो)
आलोचनापछि प्रदेश प्रहरी कार्यालयले बनायो छानबिन समिति

केही दिनयता प्रहरीले एकजना युवकलाई पसलमै कुटेको भिडियो  सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। त्यस भिडियोमा बर्दीमै रहेका प्रहरी मेडिकल सामाग्रीको एउटा पसलमा छिरेर त्यहाँका कर्मचारीलाई दुर्व्यवहार मात्रै गर्दैनन्, लात्ती, मुक्का र लाठी पनि बर्साउँछन्। 

त्यसरी कुटपिटमा उत्रिने कुनै प्रहरी जवान होइनन्, प्रहरी अधिकृत अर्थात डिएसपी नै हुन्। डिएसपी नै औषधि पसलमा पसेर युवकमाथि बुट र लौरो बर्साइरहेको भिडियोले अहिले प्रहरीलाई तनाव दिएको छ।

के हो घटना ?

यो घटना हो, वीरगन्जको । बुधवार बिहान (हिजो) पर्सा प्रहरीका डिएसपी प्रह्लाद कार्की १६ दिनदेखि जारी निषेधाज्ञा कडा बनाउन बजार अनुगमनमा निस्के । त्यस क्रममा उनी वीरगन्ज महानगरपालिकाको वडा नम्बर-८ स्थित बजार क्षेत्रमा पुगे।

जहाँ उनले खुल्ला रहेका किराना पसल बन्द गराउन जुटे। त्यहाँबाट फर्केर नेपाली सेनाको ब्यारेक पछाडिको क्षेत्रमा पुगे। उनी र अन्य प्रहरी त्यहाँस्थित प्याथो सर्जिकल हाउसमा पसे ।

छेउका किराना पसलहरु बन्द गराइरहँदा डिएसपी कार्कीलाई लाग्यो, 'मेडिकल पसलबाट मोबाइलमा भिडियो रेकर्ड गरिएको छ।' त्यही आशंकामा उनी बुधबार बिहान १० बजेर २१ मिनेटमा उक्त मेडिकल पसलमा छिरे। त्यहाँ छिरेर उनले पसलमा रहेका अफरोज अहम्मदलाई निर्घात कुटपिट गरे ।



'छेउको किराना पसल बन्द गराइरहनु भएको थियो, यही बेला मेरो स्टाफ पसल खोल्न आयो। पसलको सटर खोल्दै ऊ भिडियो कलमा कुरा गरिरहेको थियो', सर्जिकल हाउसका प्रमुख करण पटेल भन्छन्, 'डिएसपी सा'बलाई भिडियो खिचे जस्तो लागेछ,उहाँ एकाएक पसलमा आएर सोध्दै नसोधी कुटपिटमा उत्रिनु भएछ।'

भिडियो खिचेको आरोपमा अहमदलाई कुटिरहेका डीएसपीले पसलमा सीसीटीभी राखेको भेउ नै पाएनन् । उनले निर्धक्क भएर युवकलाई कुटपिट गरिरहे। तर उनको दुर्भाग्य-त्यो सबै पसलको सीसीटीभीमा रेकर्ड भयो, जुन भाइरल बनेको छ। 



पसल बन्द गरेको भिडियो खिचेर भाइरल गर्ने भन्दै डीएसपी कार्कीले अहमदलाई लौरो र बुटले हिर्काइरहेको फुटेज सीसीटीभी रेकर्ड भएको छ। ‘भिडियो खिच्यो भन्दैमा त्यसरी अमानवीय तरिकाले पिट्नु त भएन नि,’ पटेल भन्छन्, ‘कानुनअनुसार कारबाही गरे भइहाल्थ्यो, अहमदलाई सञ्चो नभएर घरमा सुतिरहेको छ।’

पसल सञ्चालक पटेलका अनुसार डिएसपी कार्कीले लौरो र बुटले हिर्काएपछि अहमदको मोबाइल समेत खोसेर लगेका थिए।

गल्ती भयो : एसपी पाण्डे

यसरी डिएसपी नै कुटपिटमा उत्रिएको भिडियो भाइरल भएपछि प्रहरीको चर्को आलोचना भइरहेको छ। डिएसपीबाटै कानुनको धज्जी उडाएको भन्दै उनीमाथि कारबाही माग भएको छ।

यसबारे पर्साका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले गल्ती नै भएको स्वीकारेका छन्। ‘लकडाउनमा कडाइ गर्न खोज्दा यो घटना भएको हो । यसमा अर्को कुनै नियत छैन', उनले भने, 'तर यो गल्ती हो, यदि त्यो भाइले भिडियो नै खिचेको थियो भने मोबाइल लिएर आउँदा हुन्थ्यो। तर कुटपिट भएछ, जुन कानुन अनुसार भएन।’

प्रहरी उपरीक्षक पाण्डेले यसलाई ‘करेक्सन’ गर्ने बताउँछन् । ‘भिडियो खिचेको भए डिलिट गर्न सकिन्थ्यो,’ उनले भने, ‘त्यसरी पिट्नु चाँहि गलत हो ।’ 

केही दिनयता पर्सामा निषेधाज्ञा उल्लघंन गर्ने क्रम बढेको थियो । एसपी पाण्डेका अनुसार बैठकबाटै निषेधाज्ञामा कडाइ गर्ने कुरा भएको थियो । ‘डिएसपी कार्कीको टोली गस्तीमा जाँदा आर्मी ब्यारेक पछाडि अत्यधिक भीडभाड थियो,’ एसपी पाण्डेले भने, ‘त्यसलाई नियन्त्रण गने क्रममा केहीले भिडियो खिचेका थिए, तर, भिडियो खिच्दैमा त्यसरी पिट्नु हुन्न, गलत भएको छ, हामी सच्याउँछौँ ।’

प्रहरीसँग झगडा गर्नेलाई मुद्दा

वीरगन्जमा १६ दिनदेखि निषेधाज्ञा जारी छ । बिहान ८ बजेसम्म मात्रै तरकारी र खाद्यान्‍न पसल खोल्न प्रशासनले अनुमति दिएको छ । यसबीचमा धेरैसँग प्रहरीको विवाद भएको छ। जहाँजहाँ प्रहरीसँग विवाद भएको छ, उनीहरुलाई पक्राउ गरी मुद्दा चलाइएको छ।

दुई साता अगाडि वीरगन्जको माइस्थानस्थित एउटा फलफूलको पसलमा प्रहरी र पसलेबीच झडप भयो। यहाँ पनि पसल बन्द गराउने क्रममा झडप भएको थियो। त्यसबेला प्रहरीमाथि दुर्व्यवहार गरिएको आरोपमा पाँच जनामाथि सार्वजनिक मुद्दा चलाइएको छ। उनीहरु अहिले पनि पर्सा प्रहरीको हिरासतमा छन्।

गत जेठ ७ मा निषेधाज्ञा उल्लघंन गरी वीरगन्ज-१२ स्थित मुर्ली पोखरीमा माछा बेच्ने क्रममा भीड बढेको थियो । भीड नियन्त्रण गर्न पुगेको प्रहरीमाथि माछा व्यापारी र स्थानीयले आक्रमण गरे । स्थानीयले सुरुमा ढुंगामुढा गर्दा तीनजना प्रहरी पनि घाइते भए । 

त्यसपछि ढुंगा प्रहार गर्ने ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । ती सबैमाथि अभद्र तथा निषेधाज्ञा उल्लंघन अभियोगमा मुद्दा दर्ता भएको छ। उनीहरु पनि पर्सा प्रहरीको हिरासतमा छन्।

छानबिन समिति

पर्सामा डीएसपीले कुटपिट गरेको भिडिओ भाइरल बनेपछि प्रदेश प्रहरी कार्यालय छानबिन सुरु गरेको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहका अनुसार घटनाको छानबिन गर्न एकजना एसपी कृष्ण प्रसाईंको नेतृत्वमा तीन सदस्यीय टोली गठन भएको छ। घटनामा डिएसपी कार्की दोषी देखिए विभागीय कारबाही हुने डिआइजी सिंहले बताएका छन्। 

भिडियो

  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १४:३१:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया