कोरोना संक्रमण ओरालो लागेकै हो त ?
तर अझै पनि घटेन मृत्यु दर

गत साताभन्दा यो हप्ता कोरोना संक्रमितको संख्या बिस्तारै घट्दै गएको तथ्याङ्कले देखाएको छ । पछिल्लो २४ घण्टामा २० हजार ९९२ जनाको परीक्षण गर्दा ६ हजार ९३९ जनामा संक्रमण पुष्टि भएको छ । 

गत साता कोरोना संक्रमितको दर ९ हजारभन्दा माथि गएको थियो । नेपालमा यस महिनाको तथ्याङ्कलाई हेर्ने हो भने जेठ ३ गते २२ हजार ८७ जनामा परीक्षण गर्दा ९ हजार २४७ जनामा संक्रमण पुष्टि भएको हो । यो हालसम्मकै उच्च संक्रमणदर थियो । यस क्रममा हाल परीक्षणको दायरा वृद्धिसँगै संक्रमणमा कमी हुँदै गएको तथ्याङ्कले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको दैनिक कोभिड अपडेटमा उल्लेखित तथ्याङ्कलाई हेर्दा परीक्षणको दायरा अनुसार नै संक्रमण पुष्टि भएको देखिन्छ ।

यो साता जेठ ९ गते आइतबार १९ हजार ९२६ जनाको परीक्षण गर्दा ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको थियो । यही क्रममा बिहीबार २० हजार ९९२ जनाको परीक्षण हुँदा ६ हजार ९३९ जनामा संक्रमण देखिएको छ ।

यस तथ्याङ्कलाई हेर्ने हो भने यो साताबाट संक्रमणदर घटेको छ । पछिल्लो ३ दिनयता अस्पतालहरूमा पनि सामान्य आइसोलेसन बेडहरु खाली हुन थालेका छन् ।

अहिले अस्पतालमा पनि कोरोनाका सामान्य बिरामी घटेका छन् भने आइसियु तथा भेन्टिलेटरमा भने बिरामीको संख्या घटेको छैन । अस्पतालमा सिकिस्त बिरामीको संख्या भने दिनानुदिन बढी नै रहेको छ ।



भारतको प्रभाव नेपालमा पनि 

छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमितको संख्या घट्दा नेपालमा पनि यसको प्रभाव देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा २ लाख ८ हजार ९२१ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । अहिले भारतमा कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम पनि तीव्र गतिमा अघि बढिरहेको छ । भारतमा हालसम्म २० करोड ६ लाख ६२ हजार ४५६ जनामा खोप लगाइसकिएको छ ।



भारतमा संक्रमितको संख्या घट्न थालेपछि नेपालमा पनि पछिल्लो ३ दिनयता नयाँ संक्रमितको संख्या घट्न थालेको हो ।

संक्रमणदर घट्यो तर मृत्युदर उस्तै

कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै गए पनि मृत्युदर भने उल्लेख्य कमी आएको छैन । नयाँ संक्रमितको संख्या घटे पनि सिकिस्त बिरामीको संख्या पनि घटेको छैन । पछिल्लो २४ घण्टामा १०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

जेठ महिनाको सुरुबाट मृत्यु हुने संक्रमितको संख्या १३० भन्दा माथि रहेको थियो । जेठ १३ गते बिहीबार भने यो महिनाकै सबैभन्दा कम मानिसको ज्यान गएको छ । त्यस्तै १३ दिनयताकै उच्च मृत्युदरमा, जेठ ५ गते २४६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको देखिन्छ ।

चिकित्सक भन्छन् : सिकिस्तको संख्या घटेन

काठमाडौं उपत्यकामा रहेका अस्पतालहरूमा सामान्य आइसोलेसनका बेडहरु खाली हुन थालेका छन् । सामान्य आइसोलेसनका बेड खाली भए पनि अहिले अस्पतालमा सिकिस्त बिरामीको संख्यामा भने खासै परिवर्तन नआएको चिकित्सकहरू बताउँछन् ।

पाटन अस्पतालका डाक्टर रवि शाक्य भन्छन्, ‘अहिले संक्रमण पुष्टि भएको तीन चार दिनमा नै बिरामीलाई आइसियु तथा भेन्टिलेटरमा राख्नु परेको छ ।’ अहिले काठमाडौं उपत्यकाका अस्पतालहरूमा आइसियु तथा भेन्टिलेटर भने खाली छैनन् ।

  • प्रकाशित मिति : जेठ १३, २०७८ बिहीबार १७:३४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया