आर्थिक सर्वेक्षण २०७८
नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक : अर्थ मन्त्री विष्णु पौडेल

पछिल्लो दुई दशकमै पहिलो पटक नेपालको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको छ । आर्थिक सर्वेक्षण २०७८ मा २०७१/७२ को महाभूकम्पबाट सिर्जित आर्थिक क्षतिभन्दा पनि यो उच्च भएको शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले बताएका हुन् । भर्चुअल माध्यमबाट आर्थिक सर्वेक्षण २०७८ सार्वजनिक गर्दै पछिल्लो २ दशकमै पहिलो पटक मुलुकको आर्थिक वृद्धिदर २.१२ प्रतिशतले ऋणात्मक अवस्थामा पुगेको बताएका हुन् ।

उनले स्वास्थ्य संकटको अवस्थामा क्रमश: सुधार आउने अपेक्षासहित नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्षमा ४ दशमल शून्य १ प्रतिशत रहने अनुमान गरिएको भए पनि यही आर्थिक वर्षको तेस्रो चौमासिकबाट तीव्र गतिले फैलिरहेको कोभिड-१९ को दोस्रो लहरको कारण अनुमानित आर्थिक वृद्धिदर हासिल गर्ने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।

आर्थिक सर्वेक्षण २०७८ मा चालु आर्थिक वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादनमा ५ दशमलव ८ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार १९१ पुगेको अनुमान गरिएको छ । त्यसैगरी प्रतिव्यक्ति कुल राष्ट्रिय आयमा ५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १ हजार १९६ पुगेको अनुमान गरिएको छ । पछिल्ला वर्षहरुमा वस्तु तथा सेवाको औसत मूल्यस्तर वाञ्छित सीमाभित्र नै रहेको जनाइएको छ ।

आर्थिक वर्ष ०७६/७७ मा तीनै तहका सरकारको एकीकृत खर्च ११ खर्ब ९१ खर्ब ६ करोड रुपैयाँ रहेको छ । एकीकृत खर्चमध्ये चालु खर्च ५६ प्रतिशत र पुँजीगत खर्च ३४ दशमलब १ प्रतिशत र वित्तीय व्यवस्था ९ दशमलब ९ प्रतिशत रहेको छ ।

त्यसैगरी सरकारको बजेट घाटा कुल गार्हस्थ्य उत्पादनको ८ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । चालु आर्थिक वर्षको फागुनसम्म संघीय राजस्वमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ दशमलव ६ प्रतिशतले बढेर ५ खर्ब १ अर्ब ९७ करोड पुगेको छ ।

मन्त्रालयले कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायका लागि २०७७ फागुनसम्म ४८ हजार ८३१ ऋणीका लागि १ खर्ब ४२ अर्ब १७ करोड पुनर्कर्जा स्वीकृत भएको जनाएको छ । कोभिड १९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि तीनै तहमा गरी ३४ अर्ब ११ करोड विनियोजन भएकोमा १० अर्ब ९५ करोड खर्च हुन बाँकी रहेको मन्त्रालयले जनाएको छ ।



पछिल्ला वर्षमा मानव विकास सूचकाङ्कमा सुधार हुँदै संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको  सन् २०२० को प्रतिवेदन अनुसार नेपालको मानव विकास सूचकाङ्क अघिल्लो वर्षभन्दा सुधार भई शून्य दशमलव ६०२ पुगेको छ । पुनर्निर्माणको क्षेत्रमा यस वर्ष ऐतिहासिक सफलता हासिल भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, कोभिड महामारीमा परेका व्यवसायीले बैंक ऋणको ब्याजमा १० अर्ब २१ करोड ६६ लाख छुट पाएका छन् ।

मन्त्रालयले पुँजीबजार प्रति लगानीकर्ताको आकर्षण बढेको, विमा व्यवसायको दायरा विस्तार भएको निर्यातमा वृद्धि भएको र शोधनान्तर तथा राजस्व संकलन लगायत अर्थतन्त्रका समष्टिगत सूचकहरु सकारात्मक रहेको जनाएको छ ।



मन्त्रालयले कोभिड महामारीबाट उत्पन्न आर्थिक संकटका बाबजुद पनि नेपालको मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको, शोधनान्तर स्थिति तथा विदेशी विनिमय सञ्चिति सुविधाजनक रहेको, वित्तीय क्षेत्र सवल रहेको र पुनर्निर्माणमा भएको प्रगति र पूर्वाधार विकासको क्षेत्रमा भएको विस्तारका कारण आगामी दिनमा आर्थिक स्थिति सवल हुँदै अर्थतन्त्र भी आकारमा वृद्धि हुने अनुमान गरिएकोमा कोभिड दोस्रो लहरले गतिशील बन्दै गएको अर्थतन्त्रमा पुन: चुनौती र जोखिम बढाएको जनाएको छ ।

  • प्रकाशित मिति : जेठ १४, २०७८ शुक्रबार १७:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया