फुटको डिलमा जसपा, एकता जोगाउने प्रयासमा दोस्रो तह

प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको अध्यादेशका कारण रातारात एकता गरेर बनेको जसपा फेरि प्रधानमन्त्री ओलीकै कारण साबिककै दलमा फर्किने अवस्थामा पुगेका छन्।

२३ फागुनपछि सत्ता समीकरणको सवालमा पार्टीभित्र उब्जेको विवादले जनता समाजवादी पार्टी (जसपा) एकता गरेको १३ महिनामै फुटको सँघारमा पुगेको हो। 

औपचारिक रुपमा पार्टी एक रहे पनि पछिल्ला गतिविधिले अनौपचारिक रुपमा फुटिसकेको, तर घोषणा गर्न मात्र बाँकी रहेको सजिलै सन्देश दिइरहेको छ।

जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर ओलीको समर्थनमा र द्वितीय अध्यक्ष उपेन्द्र यादव ओलीको विपक्षमा उभिएपछि विवादको बीजारोपण यहीँबाट सुरु भएको थियो, जुन अहिले चरम उत्कर्षमा पुगिसकेको छ।

कतैबाट आएन, स्पष्टीकरणको जवाफ

यो सिलसिला अहिले दुईवटै अध्यक्षले एक–अर्कालाई स्पष्टीकरण सोध्नेसम्म पुगेको छ। पार्टीको नीति–नियमभन्दा विपरीत गएर काम गरेको भन्दै प्रथम अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादवलाई तीनदिने स्पष्टीकरण सोधेका छन् भने त्यसलगत्तै उपेन्द्र यादवको समूहबाट केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीको हस्ताक्षरमा ठाकुरलाई पनि स्पष्टीकरण सोधिएको छ।



दुईवटै समूहको स्पष्टीकरणमा भनिएको छ,‘तपार्इंले पछिल्ला केही दिनहरुमा पार्टीको नीतिविपरीत काम गर्नुभएको छ, त्यसैले पार्टीको निर्णयअनुसार तपार्इंलाई स्पष्टीकरण सोध्ने निर्णय भएको हुँदा पार्टीको विधानको धारा ४९ मा भएको अनुशासनको कारबाहीसम्बन्धी व्यवस्थाअनुसार यो स्पष्टीकरणको सोधिएको छ। तीन दिनभित्र पार्टी केन्द्रीय कार्यालयमा जवाफ पठाउन अनुरोध छ।’

तीन दिनको समय दिँदै जसपा अध्यक्ष ठाकुरले उपेन्द्र यादवलाई ७ बुँदे स्पष्टीकरण सोधेका छन् भने उपेन्द्र समूहबाट पनि यही अवधिमा जवाफ दिन भन्दै ठाकुर समूहलाई ९ बुँदे स्पष्टीकरण सोधिएको छ। दुईवटै समूहले यही गएको ११ जेठमा पत्र ‘वार’ गर्दै स्पष्टीकरण सोधेका थिए।



यी दुवै समूहले एक–अर्कालाई मिति तोकेर सोधेको स्पष्टीकरणको म्याद सकिइसकेको छ। तर, अहिलेसम्म कसैबाट पनि कुनै स्पष्टीकरणको जवाफ पठाइएको छैन।

ठाकुर समूह गलत बाटोमाः अध्यक्ष यादव

जसपाका दुईवटै अध्यक्षले एक–अर्कालाई स्पष्टीकरण सोधिसकेपछि अहिले जसपामा झन् अन्योल बढेको छ। एकताको गाँठो चुँड्ने सम्भावना बढेको पार्टीभित्र चर्चा सुरु भइसकेको छ। 

तर, अध्यक्ष यादवले भने फरकधारसँग कुरा गर्दै आफूहरु अझै एकता जोगाउने प्रयासमा लागेको बताए । उनी भन्छन्,‘अहिले पनि पार्टी एकता जोगाउन सक्ने सम्भावना छ, त्यही भएर हामीले त्यो कोसिस गरिरहेका छौँ । किनकि बसेर छलफलको माध्यमबाट नै समस्या समाधान हुने भएकाले हामीले त्यो बाटो पछ्याइरहेका छौँ। अहिलेसम्म हाम्रो भरपूर कोसिस छ, पार्टी एकता जोगाउनमा ।’ 

तर, ठमकुर पक्ष गलत बाटोमा लागेको अध्यक्ष यादवको आरोप छ। उनीहरु गणतन्त्रलाई नै सखाप गर्ने बाटोमा लागेको आरोप लगाउँदै अध्यक्ष यादवले भने, ‘हामी त्यही बचाउने कोसिसमा छौँ, पार्टी एकता कायम राखेर।’ 

अहिले पनि सम्भावना रहेकाले त्यसमा सफलता लिने प्रयासमा लागेको अध्यक्ष यादवको भनाइ छ। उनी भन्छन्,‘स्पष्टीकरण सोध्नु भनेको छलफलको माध्यम बनाउनु हो, त्यही भएर हामीले सोधेका हौँ।’ 

एकताको बल उपेन्द्रजीको हातमा छ : नेता शरदसिंह भण्डारी

तर, यसमा ठाकुर समूहको भने फरक भनाइ छ। ठाकुर पक्षका नेता शरदसिंह भण्डारी भन्छन्,‘अहिले हामी संसद विघटनपछि भएको पदाधिकारीको पहिलो बैठकले गरेको निर्णयअनुसार नै हिँडिरहेका छौँ, त्यो बैठकमा हाम्रो माग जसले नगदानगदी पूरा गर्छ, हामी उतै जाने निर्णय गरेको थियो। त्यहीअनुसार अहिले हाम्रा सबै माग ओली सरकारले सम्बोधन गरिरहेको छ, जुन कारणले पनि हामी ओली सरकारलाई समथर्न गरिरहेका छौँ।’ 

तर उपेन्द्र पक्षले पार्टीको निर्णयविपरीत वैकल्पिक सरकार निर्माणको कुरा गरेर पार्टीलाई फुटाउने कार्य गरिरहेको उनको आरोप छ । ‘त्यसैले अहिले हामी अझै पनि पार्टी एकता कायम राख्नको लागि छलफल गर्न स्पष्टीकरण सोधेका छौँ,’ भण्डारीले भने, ‘हाम्रो प्रयास पार्टी मिलाएर नै जाने छ।’ 

प्रयासमा सफलता नमिले प्रक्रियामा जाने तयारीमा पनि रहेको उनको भनाइ छ। उनी भन्छन्,‘छलफल भइरहेको छ,बल उपेन्द्रजीको कोर्टमा छ। उहाँले पार्टी एकता गर्न चाहनुभयो भने एकता हुन्छ, चाहनुभएन भने हुँदैन।’ उनका अनुसार पार्टी एकता जोगाउन छलफल तथा बैठक जारी छ।

एकता जोगाउन दोसो तहका नेता सक्रिय

यसरी पार्टीमा अध्यक्षद्वयबीच टकराव उत्पन्न भएपछि त्यो विवाद सल्टाउन दोस्रो तहका नेता सक्रिय छन्। दुईवटै गुटका दोस्रो तहका नेता एक–आपसमा छलफल तथा राय विमर्श लिने–दिने गरिरहेका छन्। जसपाका एक सांसदका अनुसार अहिले नै पार्टी फुटाउने पक्षमा कोही पनि छैनन्। त्यसैले एकपटक प्रयास गरेर सबैले पार्टी एकता कायम नै राख्न लागिपरेको उनको भनाइ छ।

उनी भन्छन्,‘शीर्ष नेताबाहेकका सांसद एवं कार्यकर्ताले आ–आफ्नो अध्यक्षलाई आग्रह गरिरहेका छन्, पार्टी एकताबारे । यसमा पूर्व समाजवादी पार्टीका नेताहरुले आफ्नो अध्यक्षलाई र पूर्व राजपाका नेताहरुले आफ्नो नेतृत्वलाई मनाइरहेको छ।’ 

यसका अध्यक्ष ठाकुरले अशोक राईलाई पनि पहल गर्न आग्रह गरेको उनले बताए । अहिले छलफलको वातावरणको माहोल बनाउने काम भइरहेको ती सांसदको भनाइ छ।

यो कुराको पुष्टि उपेन्द्र यादवले पनि फरकधारसँगको संवादमा गरे। उनले भने,‘अहिले हामी छलफलको माध्यमबाट देखिएको समस्या समाधानतर्फ लागेका छौँ,समय अझै पनि छ। हेरौँ के हुन्छ?’

  • प्रकाशित मिति : जेठ १५, २०७८ शनिबार २०:१८:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया