पार्टीबाट निष्कासित भइसकेका माधवकुमार नेपालले एमाले नेताकै हैसियतमा विपक्षी गठबन्धनको विज्ञप्तिमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आपत्ति प्रकट गरेका छन्।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीको उपेन्द्र यादव समूहले आइतवार निकालेको संयुक्त विज्ञप्तिमा एमालेबाट निष्कासित नेता नेपालले हस्ताक्षर गरेपछि थापाले आपत्ति जनाएका हुन्।
थापाले ती दलको संयुक्त विज्ञप्ति सामाजिक सञ्जालमा पोस्ट गरेर माधव नेपालको हस्ताक्षरलाई अनाधिकृत कार्यको संज्ञा दिएका हुन्। एमाले वरिष्ठ नेताको हैसियतमा नेपालले गरिरहेको गतिविधि र हस्ताक्षर अवैधानिक र अनधिकृत रहेको तर्क थापाले गरेका छन्।
‘विघटित प्रतिनिधिसभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले आज जारी गरेको वक्तव्यमा माधवकुमार नेपालको हस्ताक्षर अनाधिकृत छ,’ थापाले ट्वीट गर्दै आपत्ति प्रकट गरेका छन्।
संयुक्त विज्ञप्तिमा नेता नेपालको परिचय नेकपा एमालेका वरिष्ठ नेताका रुपमा राखिएको छ। तर एमालेले निष्कासित गरिसकेका नेताले वरिष्ठ नेताका रुपमा विज्ञप्तिमा हस्ताक्षर गरिनु गैरकानुनी भएको तर्क उनले गरेका छन्।
‘माधव नेपाल नेकपा एमालेको वरिष्ठ नेताको दर्जामा हुनुहुन्न। यसरी विज्ञप्तिमा हस्ताक्षर गर्दै हिँड्न सम्बन्धित दलले उहाँलाई कहिल्यै खटाएको छैन', उनले भनेका छन्, 'अझै विधि र पद्धति !’
नेता नेपाल, झलनाथ खनालसहित ११ नेतालाई एमालेले जेठ १० मा पार्टीको साधारण सदस्यबाटै निष्कासित गरिसकेको छ। एमालेले नेता नेपाल, खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरूदेवी जैरुलाई निष्कासित गरेको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा आइतवार बसेको विपक्षी गठबन्धनको बैठकपछि माधव नेपालले पनि हस्ताक्षर गरेर उनीहरुले संयुक्त रूपमा विज्ञप्ति निकालेका थिए। उनीहरुले सरकारका असंवैधानिक कामको निरन्तर विरोध गर्दै जाने बताएका थिए।
अनाधिकृत कार्य-
— Surya Thapa (@ThapajiSurya) May 30, 2021
विघटित प्रतिनिधि सभामा विपक्षी दलका नेता शेरबहादुर देउवासहितले जारी गरेकाे वक्तव्यमा माधवकुमार नेपालकाे हस्ताक्षर अनाधिकृत छ।
नेकपा(एमाले)मा वरिष्ठ नेताकाे दर्जामा उहाँ हुनुहुन्न र हस्ताक्षर गर्दै हिड्न सम्बन्धित दलले कहिल्यै खटाएकाे पनि छैन।
अझै विधि र पद्धति! pic.twitter.com/QpBnc9Wm3S
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।