कोभिडविरुद्धको खोपका लागि बेलायतकी महारानीलाई राष्ट्रपतिको पत्र

खोप कुटनीतिमा सक्रिय बनाएकी राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई पनि आइतवार पत्र पठाएकी छन्।  

आइतवार कोरोनाविरुद्ध सबैभन्दा पहिले खोप उत्पादन गरेको रुसका राष्ट्रपतिलाई पत्र पठाए लगत्तै बेलायतकी महारानीलाई पनि राष्ट्रपतिको पत्र पुगेको हो। 

कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन आग्रहसहित बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई पठाएको पत्र त्यहाँको विदेश मन्त्रालयमा पुगेको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ। 

उनले यसअघि रुसी राष्ट्रपति पुटिनलाई कूटनीतिक च्यानलबाट पठाएको पत्रमा रुसले उत्पादन गरेको स्पुतनिक-५ खोप सहयोगस्वरुप उपलब्ध गराउन आग्रह गरेकी थिइन्। 

राष्ट्रपतिले खोप कूटनीति अन्तर्गत रुसी समकक्षी भ्लादिमिर पुटिनलाई पनि पत्राचार गरेकी थिइन्। अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि उनले पत्र लेखिसकेकी छन्।



यसअघि बेलायतले नेपाललाई कोरोना भाइरसविरुद्धको २० लाख डोज दिने जनाएको थियो। तर अहिलेसम्म उक्त खोप आइसकेको छैन। नेपालमा बढिरहेको कोरोना महामारीबारे एक साताअघि बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड्समा खोप दिनेबारेमा छलफल भएको थियो।

बेलायतले को–भ्याक्स सुविधामार्फत २० लाख डोज आस्ट्रनेजेका (कोभिशिल्ड) खोप दिने बताइएको थियो। तर अझै पनि उक्त खोप नआएपछि राष्ट्रपतिले कूटनीतिक पहल थालेकी हुन्। 



यसअघि नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेकी थिइन्। बेलायतको संसदमै छलफल भएको दिन प्रधानमन्त्रीसँग भेट गरेर खोप उपलब्ध गराउन लागेकोबारे जानकारी दिएकी थिइन्। 

राजदूत पोलिटले बेलायतले कोभ्याक्स सुविधामार्फत नै खोप उपलब्ध गराउन लागेको बताएकी थिइन्। उनले ट्वीटरमार्फत खोपका विषयमा केही अलमल रहेको भन्दै को–भ्याक्स सुविधाअनुसार नै उपलब्ध गराइन लागेको बताएकी थिइन्। 

  • प्रकाशित मिति : जेठ १६, २०७८ आइतबार २२:०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया