\
लुम्बिनी प्रदेशमा खाली रहेको राष्ट्रियसभा सदस्य पदका लागि सोमबार बिहान ९ बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको छ । निर्वाचनमा प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधि आवश्यक सुरक्षा र सावधानीसहित मतदानमा सहभागी भएका थिए ।
निर्वाचनमा प्रदेशसभा सदस्य ७९ जना र स्थानीय तहका प्रमुख/उपप्रमुख गरी २१७ जना रहेका छन् । प्रदेशसभा सदस्य ७९ जनामध्ये चार जनाको सांसद पद खोसिएको छ । जुन सांसद जनता समाजावादीका हुन् । पार्टी विपरीत काम गरेको भन्दै पार्टीले लुम्बिनी प्रदेश सरकारमा मन्त्री पद समालेका चार सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, कल्पना पाण्डेय र सुमन शर्मा रायमाझीलाई कारबाही गरेको थियो । कारबाहीको जानकारी जसपाले निर्वाचन आयोग र संसद सचिवालयलाई समेत दिएको थियो ।
सोही जानकारीका कारण लुम्बिनी प्रदेशमा आज भइरहेको निर्वाचनमा यी चार सांसदको मतदाता नामावलीमा नाम प्रकाशित भएन । जसकारण निलम्बित सांसदले अदालत र निर्वाचन आयोगको ढोका ढक-ढकाए । अदालतले पनि उनीहरूको सांसद पद पुनःस्थापना गर्न सकेन । सांसद नरहे पनि उनीहरू मन्त्री पदबाट मुक्त भएका छैनन् । अदालतले फैसला गर्न नसक्दा चार सांसद शुक्रबार निर्वाचन आयोगमा पुगे ।
आयोगले प्रदेश निर्वाचन अधिकृतलाई राष्ट्रियसभाको उपनिर्वाचनमा मतदान गर्न दिनु भनी पत्र पठायो । प्रदेश निर्वाचन अधिकृत रेतिन्द्र थापाले भने, ‘म आयोगको कर्मचारी हुँ । आयोगले जे भन्छ त्यो मान्नु पर्छ । निलम्बित सांसदलाई मन्त्रीको हैसियतमा मतदानको अधिकार दिइएको छ ।’
मतदाता नामावलीमा नाम प्रवेश नगर्ने आयोगले सत्ता डर-त्रासका कारण गैरसांसदलाई पनि मतदानको अधिकार दिएको जसपाका लुम्बिनी प्रदेश संयोजक अशोक यादवको भनाइ छ । जुन पार्टीबाट उनीहरू सांसद भएका हुन् उसैले पदमुक्त गरेपछि उनीहरूलाई मतदानको अधिकार नरहेको उनले बताए ।
शक्ति प्रयोग
सत्ताको शक्ति प्रयोग गरी गैरसांसदलाई पनि मतदानको अधिकार दिएको विपक्ष दलका नेताहरूको भनाइ छ । निर्वाचन आयोगले गैरकानुनी काम गरी उनीहरूलाई मतदानको अधिकार दिन पत्राचार गरेकाले त्यो आफ्ना लागि मान्य नरहेको नेकपा माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशसभा सदस्य इन्द्रजित थारूले बताए । उनले भने, ‘सत्ता र शक्तिको प्रयोग गरी गैरसांसदलाई पनि मताधिकार दिइएको छ । राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ ले अन्तिम मतदाता नामावली प्रकाशन भएपछि कुनै मतदाताको नाम समावेश गर्न नपाइने व्यवस्था छ । तर, राष्ट्रिय आयोगले आफूले सूचना जारी गर्दै मतदान गर्न दिनु भनी लुम्बिनी निर्वाचन आयोगलाई पत्राचार गरेको छ ।
यस्तो छ, अङ्क गणितीय हिसाब
लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्य पदका लागि मतदान जारी छ । नेपाली कांग्रेस र माओवादी केन्द्र सहितको गठबन्धन एकातिर छ भने नेकपा एमाले एकल चुनावी मैदानमा उत्रिएको छ । दुवैको अङ्क गणितीय मतभार यस्तो छ :
नेपाली कांग्रेस र माओवादी केन्द्रका ४१ जना प्रदेशसभा सदस्यहरू रहेका छन् भने नेकपा एमालेका ३८ जना रहेका छन् । जसमा मतभार ४८ राखिएको छ । गठबन्धनको १९६८ मतभार हुन्छ भने नेकपा एमालेको १८२५ रहेको छ । त्यस्तै स्थानीय तहतर्फ नेकपा एमाले ९४ जना रहेका छन भने जसको मतभार १६९२ रहेको छ । नेपाली कांग्रेस ६३ जसको मतभार ११५, नेकपा माओवादी केन्द्र ३७ जसको मतभार ६६६, जसपा ११ जसको मतभार १९८, तमलोपा र नयाँ शक्ति १-१, जनमोर्चा ५, राप्रपा ३ र स्वतन्त्र ३ रहेका छन् । गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा, जनमोर्चा रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।