logo-img

उज्ज्वल थापा : सदाका लागि निभ्यो आशाको एउटा दीप
भद्र र अहिंसात्मक आन्दोलनले लिएका थिए उचाइ

अनेकौँ प्रार्थना र सहयोगबीच विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्ज्वल थापाले  कोरोनासँगको लडाइँमा आफ्नो जीवन गुमाएका छन्।

विवेकशील-साझा पार्टीका पूर्व संयोजकसमेत रहेका थापाको ४४ वर्षकै उमेरमा कोरोना भाइरस संक्रमणसँग संघर्ष गर्दा गर्दै मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा निधन भएको छ। 

कोरोना पुष्टि भएपछि सुरुमा धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा भर्ना भएका उनी त्यहाँबाट थप उपचारका लागि धापासीस्थित ग्राण्डी अस्पताल पुगेका थिए।  जहाँ पनि उनको उपचार सम्भव नभएपछि ललितपुरको मेडिसिटी अस्पतालमा रिफर गरिएको थियो। 

जेठ १४ गते शुक्रबार मेडिसिटी अस्पतालको भेन्टिलेटरमा राखेर अत्याधुनिक उपकरण इक्मोबाट उनको उपचार थालिएको थियो। 



'जेठ १७ गते उहाँको पिसिआर रिपोर्ट नेगेटिभ आए पनि शरीरका अंगहरूले प्रभावकारी रुपमा काम गर्न सकेका थिएनन्। जटिल संक्रमणको प्रभाव रहेकाले स्वास्थ्य स्थितिमा परिवर्तन आउन सकेको थिएन', मेडिसिटीका प्रवक्ता तथा मेडिकल सुपरिटेन्डेन्ट डा. राज राणा र मुटु शल्य चिकित्सक डा. विजय राजवंशीले निकालेको विज्ञप्तिमा भनिएको छ, 'चिकित्सकहरुको अथक प्रयास र सबैको शुभेच्छाका बावजुद पनि उहाँको शारीरिक अवस्था सुदृढ हुन सकेन। आज जेठ १८ गते मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उहाँको असामयिक निधन भएको अवगत गराउँदछौँ।'

थापाको कोरोना रिपोर्ट सोमबार नेगेटिभ आए पनि निमोनिया बढेर फोक्सोमा गम्भीर असर पुगेपछि निधन भएको मेडिसिटी अस्पतालले जनाएको छ। उनी गम्भीर बिरामी परेपछि देश तथा विदेशबाट पनि उपचारका लागि लाखौँ सहयोग उठेको थियो। 



प्रार्थना र शुभेच्छा काम लागेन 

मेडिसिटीको भेन्टिलेटरमा अत्याधुनिक मेसिन इक्मोबाट उपचार गराउँदा एकदमै खर्चिलो हुने भएपछि विवेकशील साझा पार्टीले सहयोग अभियान चलाएको थियो। उनको उपचारमा सहयोगका लागि देश तथा विदेशबाट पनि शुभेच्छुकहरु तयार भएका थिए। 



थापाको उपचारका लागि विदेशबाट 'गोफन्डमी' मा खोलिएको खातामा मात्रै शनिबारसम्म २२ हजार ३ सय डलर जम्मा भएको थियो। नेपालमा रहेको बैंक खातामा उनको उपचारका लागि करिब २६ लाख ५० हजार रुपैयाँ जम्मा भएको थियो। 

अवस्था जटिल हुँदै गएको खबर पाएपछि चिन्तित बनेका शुभेच्छुकहरुले उनलाई बचाउन हरतरहले सहयोग अभियान चलाएका थिए। करिब २५ लाख रुपैयाँ खर्च अनुमान गरिएको अवस्थामा त्यो भन्दा धेरै सहयोग उनका लागि केही दिनमै उठेको थियो।

भलाद्मी राजनीतिज्ञ

नेपालका राजनीतिज्ञहरू सर्वसाधारणमाझ बदनाम छन्। २०६२/६३ अघिसम्म नेपालमा जसले सडकको रेलिङ भाँच्यो, तोडफोड गर्यो त्यही नै बहादुर नेता ठहरिन्थ्यो। यो क्रममा बेला बेला अहिले पनि कांग्रेस, एमाले र माओवादीका नेता कार्यकर्ताहरूले देखाइरहन्छन्। 

तर उज्ज्वल यस्तो एउटा नेता थिए, जसले कहिले पनि आन्दोलनलाई अशिष्ट र अमर्यादित बनाएनन्। उनी जहाँ जहाँ आन्दोलन लिएर पुग्थे, त्यहाँ बिरलै प्रहरीसँग झडप हुन्थ्यो, हिंसा हुन्थ्यो, तोडफोड हुन्थ्यो।

आन्दोलनका लागि हजारौँ, लाखौँ मानिस चाहिन्छ भन्ने नेपाली राजनीतिक वृत्तलाई एउटा पर्चा, पोस्टर छातीमा टाँसेर केही सहयोगीसहित सडकमा उभिएर उनी भद्र चुनौती दिन्थे। उनले माइतीघर मण्डल या नयाँ बानेश्वर या अन्य कुनै पनि ठाउँमा आन्दोलन गर्दा कहिल्यै तोडफोड र हिंसालाई प्राथमिकता दिएनन्। 

उज्ज्वल विशेषगरी सहरी क्षेत्र र शिक्षित युवामाझ लोकप्रिय थिए। सामाजिक सञ्जाल ट्वीटर र फेसबुकमा अभ्यस्त युवा पुस्तामा उनले एउटा भद्र राजनीतिज्ञको छाप छाडेका थिए। भलै उनी नेपालको राजनीतिको मूलधारमा आइपुगेनन्। वैकल्पिक राजनीतिक शक्तिलाई स्थापित गर्ने अभियानलाई उनले निरन्तर अघि बढाइरहे।

उनले वैकल्पिक राजनीतिको शुरुवात गरेर मूलधारका राजनीतिक दलहरूलाई वैकल्पिक शक्ति आउन सक्छ भन्ने गतिलो सन्देश दिए। नेपालमा वैकल्पिक राजनीतिको बीजारोपण गराउने उनी आफ्नो योजना उचाइमा नपुग्दै आफू भने अनन्तमा लीन भएका छन्।  

अन्य राजनीतिक दलका नेताहरु ७० काट्दासम्म पदका लागि लुछाचुँडी गरिरहँदा उनले आफूलाई पार्टी नेतृत्वबाट विश्राम दिएर मिलन पाण्डेलाई अघि सारे। अहिले विवेकशील साझाको नेतृत्वमा उनै पाण्डे छन् भने थापा पछाडि बसेर सघाइरहेका थिए। 

मूलधारका भनिने राजनीतिक दलका नेता कार्यकर्ताको व्यवहार र गतिविधिबाट हैरान भएका युवा पुस्तामाझ उज्ज्वल कति लोकप्रिय थिए भन्ने कुरा सामाजिक सञ्जालमा उनका लागि भएका प्रार्थना र सहयोग अभियानले पुष्टि गरेका छन्। 

उनी आफैं पनि ठूला र पुराना भनिने दलहरूको अराजक शैलीबाट दिक्क थिए। त्यहीकारण युवा पुस्तालाई वैकल्पिक राजनीतिमा तान्दै उनले विवेकशील नेपाली दल खोलेका थिए। उनले विवेकशील नेपाली दललाई पुराना भनिएका दलहरूको रवैयामाथि प्रश्न उठाउने एउटा मञ्चका रुपमा विकास गरेका थिए। 

उनले नेपालको राजनीतिक प्रणालीमा देखिएका विकृति विसंगति  र कमजोरी सच्याएर अघि बढ्न निरन्तर प्रयत्न गरिरहे। वैकल्पिक राजनीतिको उनको अभ्यास आज पर्यन्त जारी थियो। नेपालमा राजनीतिलाई फोहोरी भनिन्छ। जुन कुरा अहिले संघीय संसद र प्रदेशमा सत्ताका लागि भइरहेको किचलोले पनि पुष्टि गरेको छ।

उनै उज्ज्वल राजनीतिको यही फोहोर सोहोर्न आफैं राजनीतिमा होमिएका थिए। उनले शिक्षित युवा पुस्तालाई राजनीतिमा नहोमी नेपालको राजनीतिको फोहोर सफा गर्न नसकिने बताउँदै आएका थिए। 

थापाले आफ्नो जीवनलाई सकेसम्म सरल र शालीन बनाइरहे। न त उनको अघि पछि अन्य नेताका जस्ता कार्यकर्ता हुन्थे न त तामझाम नै गर्थे। सार्वजनिक स्थानमा उनी उभिँदा त्यहीँबाट भद्र आन्दोलन सुरू हुन्थ्यो। बिरामी परेपछि देखिएको सद्‌भावले उनी कति लोकप्रिय थिए भन्ने पुष्टि गरेको छ। तर अनेक सद्भाव र प्रार्थनाले पनि उनको भौतिक शरीर हामीसामु रहेन।

उज्ज्वलले नेपालमा वैकल्पिक राजनीति स्थापित गर्न उल्लेख्य भूमिका खेलेको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले बताएका छन्। 'थापाको निधनले राष्ट्रिय राजनीतिमा अपूरणीय क्षति पुगेको छ। खास गरी शान्तिपूर्ण र रचनात्मक प्रदर्शनका माध्यमबाट राजनीतिक, सामाजिक, आर्थिक, जनस्वास्थ्य सरोकार लगायतका मुद्दामा दलहरूले नागरिकको समर्थन हासिल गर्ने र सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उहाँको अहम् भूमिका छ', उनले भनेका छन्। 

पाण्डेको बुझाइमा पनि थापाले कहिले पनि निष्‍ठाको राजनीति छाडेनन्। 'उहाँले अँगाल्नु भएको सु-संस्कार, अहिंसा र निष्‍ठाको मार्गलाई विवेकशील साझा पार्टी अविचलित र प्रतिबद्ध भएर अवलम्बन गर्दै अगाडी बढ्ने छ', पाण्डेले भनेका छन्, 'नेपाली राजनीतिमा एउटा वैकल्पिक शक्ति चाहिने उहाँको धारणा थियो। उहाँको यही विचारले मलाई पनि राजनीतिमा तानेको हो। उहाँले हामीलाई कहिले पनि सानो भनेर हेर्नु भएन। सबैजना मिल्दा वैकल्पिक शक्ति बन्ने उहाँको धारणा थियो। अहिले सानो भए पनि एक दिन पक्कै वैकल्पिक राजनीतिक शक्तिका रुपमा उभिने विश्वास उहाँले बोक्नु भएको थियो।'

उज्ज्वललाई धेरैले विकृतियुक्त नेपाली राजनीतिमा अहिंसात्मक र भद्र आन्दोलनबाट गरेको हस्तक्षेपका कारण मन पराएका थिए। उनी बिरामी परेपछि नेपाली कांग्रेस, नेकपा एमालेदेखि माओवादीसम्मका नेताहरुले स्वास्थ्य लाभको कामना गरेका थिए। 

देशमा रहेका कलाकार र सेलिब्रिटीदेखि विदेशमा रहेका कयौँ नेपाली युवाहरुले उनको स्वास्थ्य लाभको कामना गरिरहे। कोरोनाको संकटबीच उपचारका लागि रातारात चाहिए जति पैसा पनि संकलन गरे। तर आजदेखि देशले एउटा इमान्दार र भद्र राजनीतिज्ञ गुमाएको छ, एउटा आशाको दियो सदाका लागि निभेको छ।

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया