जसपामा फुटको फाइनल अभ्यास : महन्थ र उपेन्द्र एक अर्कालाई कारबाहीको डण्डा चलाउँदै
महाधिवेशन हुन नपाउँदै निम्तियो संकट

तत्कालीन नेकपाको जस्तै नियति जनता समाजवादी पार्टीमा पनि देखिएको छ। नेकपाकै रडाकोका कारण सुरु भएको विवादले जसपा पनि अब फुटको अन्तिम बिन्दुमा पुगेको छ।

जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीचको पत्र युद्धले अब यो पार्टी पनि नेकपा जस्तै महाधिवेशन नभइ विभाजन हुने करिब पक्का भएको छ। मंगलबार चलेको पत्र युद्धले जसपाको एउटा समूहले नयाँ दल दर्ता गरेर अघि बढ्ने करिब पक्का भएको छ।

संसदीय दलमा बहुमत भएका महन्थ र कार्यकारिणी परिषद्‍मा बहुमत भएका उपेन्द्रबीचको कलह कारबाही र निस्कासनसम्म पुगेपछि अबको केही दिनमा एउटा समूहले नयाँ दल खोलेको समाचार अनौठो हुने छैन।

करिब चार महिनादेखि सुरु भएको जसपाको आन्तरिक विवाद कारबाहीको अवस्थामा पुगेपछि पार्टी कानुनी रुपमा मात्रै एक देखिएको छ तर प्राविधिक हिसाबले फुटिसकेको छ।

कांग्रेस, माओवादी र एमालेबाट निष्कासित माधवकुमार नेपालसँग उठबस गरिरहेका उपेन्द्र र केपी शर्मा ओली नेतृत्वको सरकारमा जान तम्तयार महन्थ समूहको कलहका कारण तराई-मधेसको सबैभन्दा ठूलो दल महाधिवेशनसम्म नपुग्ने फुट्ने पक्का भएको हो। 

पटक पटकको संवादले समाधान नदिएपछि आजदेखि कारबाहीसँगै दुई पक्षबीच पार्टीबाट निष्कासनको होडबाजी नै चलेको छ। पार्टी नीतिविपरीत प्रतिगमनकारीसँग सहकार्य गरेको आरोपमा यादव खेमाले महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, राजेन्द्र महतो र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाटै निष्कासित गरिएको घोषणा गरेको छ। ठाकुर समूहले पनि यस्तै आरोप लगाउँदै पार्टीको सदस्यसमेत नरहने गरी यादवलाई निष्कासित गरेको भन्दै विज्ञप्ति निकालेको छ।



उपेन्द्र यादवको विज्ञप्ति

सबैभन्दा पहिले किन पार्टीको नीतिविपरीत काम गरेको भनेर जसपा अध्यक्ष उपेन्द्र यादव समूहले प्रथम अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुसँग स्पष्टीकरण सोधेको थियो। तीन दिनभित्र जवाफ दिनु भन्दै यादव समूहले ठाकुरसहित चार नेतालाई गत जेठ ११ गते स्पष्टीकरण सोधेको थियो।



त्यो समय सीमाभित्र जवाफ नआएपछि पुनः २४ घण्टे अल्टिमेटम दिएर ठाकुर समूहका नेताहरुसँग स्पष्टिकरण सोधियो। जेठ १५ गते २४ घण्टे अल्टिमेटम दिएर सोधिएको स्पष्टीकरणको जवाफ नआएपछि १८ गते यादव समूहले अर्को विज्ञप्ति निकाल्यो।

‘पार्टीको विधानविपरीत काम गर्नेलाई स्पष्टिकरण सोध्ने, यथोचित उत्तर नआएमा कारबाही गर्ने निर्णय भयो। त्यही बमोजिम जेठ ११ गते पहिलो पटक तीन दिने र १५ जेठमा दोस्रो पटक २४ घण्टे स्पष्टीकरण पठाइएको थियो। तर त्यसको प्रतिउत्तर नदिएसँगै सम्पर्कमा नआएर पार्टी प्रक्रियाको गम्भीर गल्ती गरेको देखियो', यादवले निकालेको विज्ञप्तिमा भनिएको थियो, 'फलतः यही कारणले राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था बमोजिम पार्टीको सदस्यसमेत नरहने गरी कार्यकारिणी सदस्यहरु महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई निष्कासन गरिएको छ।’ 

ठाकुर समूहको पनि कारबाही

उपेन्द्र समूहबाट विभिन्‍न पाँच आरोप लगाउँदै चारजनालाई कारबाही गरिएको प्रेस विज्ञप्ति निकालिएको केही समयमै ठाकुर समूहबाट पनि उपेन्द्रलाई नै पार्टीबाट निष्कासन गरिएको अर्को विज्ञप्ति आयो। जसमा प्रथम अध्यक्ष ठाकुरले नै हस्ताक्षर गरेका छन्। 

'पार्टी अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्यो। जहाँ अनुशासनसम्बन्धी कारबाहीबारे छलफल भयो। पार्टीको विधान र नीतिविपरीत कार्य गरिरहेको सन्दर्भमा अध्यक्ष उपेन्द्र यादवलाई पटकपटक जवाफ सोध्दा पनि कुनै जवाफ नदिएकोले तथा पार्टीको सम्पर्कमा नआएकोले राजनीतिक दलसम्बन्धीको दफा १८ (१),(२),(३) र पार्टीको अन्तरिम विधान २०७७ को दफा ४९ को (१),(२),(३),(४),(५),(६),(७),(८) विपरीत कार्य गरेको हुनाले पार्टीको विधान दफा ५० को (१) बमोजिम निजलाई पार्टीको साधारण समेत नरहने गरी निष्कासन गरिएको छ,’ठाकुरले निकालेको विज्ञप्तिमा भनिएको छ।

आयोगलाई पत्र

ठाकुर पक्षले मंगलबारै निर्वाचन आयोगलाई पत्र पठाएको छ। १३४२ नम्बरमा दर्ता भएको पत्रमा दलको दर्ता किताबबाट उपेन्द्र यादवको नाम हटाई अध्यावधिक गर्न भनिएको छ। तर यी कारबाहीबारे प्रतिक्रिया लिँदा दुवै समूहका नेताहरु आफू बलियो रहेको दाबी गरिरहेका छन्।

बहुमतबाट कारबाही : उपेन्द्र

ठाकुर समूहका चार नेतामाथि गरिएको कारबाहीबारे प्रतिक्रिया लिँदा जसपा अध्यक्ष उपेन्द्र यादवले पार्टीको नियमानुसार भएको बताएका छन्। 'पार्टीको नीति र विधानविपरीत उहाँहरुले गतिविधि गरिरहेको पाइएपछि चारै जनामाथि कारबाही हो', उनले भने। 

यादवले ठाकुर पक्षले प्रतिगमनकारीसँग साँठगाँठ गरेको आरोप पनि लगाए। 'उहाँहरु (महन्थ समूह) ले पार्टी नीतिविपरीत काम गरेको पाइयो। प्रतिगमनकारीसँग साँठगाँठ गरेको पाइयो', यादवले भने, 'जुन गतिविध पार्टी नीतिविपरीत हो। यसबारे स्पष्टीकरण सोध्दा जवाफ नदिएपछि कार्यकारिणी समितिको अत्यधिक बहुमतबाट कारबाही चलाएका हौँ।'

प्रथम अध्यक्षको उपस्थितिबिना भएको कारबाहीबारे सोधिएको जिज्ञासामा उनले पार्टीमा कोही पनि प्रथम अध्यक्ष नरहेको जिकिर गरे। ‘विधानमा प्रथम लेखिएको नै छैन, त्यसैले कोही त्यो जिम्मेवारीमा छँदै छैन,’ उनले भने।

यादवले यो कारबाहीबाट पार्टी झन् मजबुत हुने दाबी गरे। ‘पार्टीभित्रका गलत मान्छेहरु कारबाहीमा परेपछि राम्रा मान्छे  बाँकी हुन्छन्', उनले भने, 'त्यसैले अब पार्टी झन् मजबुत हुनेछ।’

जालझेलबाट कारबाही : लक्ष्मणलाल कर्ण

यता ठाकुर समूहका नेता लक्ष्मणलाल कर्णले यादवको कारबाहीलाई अर्थहीन भनेका छन्। ठाकुर समूहबाट कारबाहीमा पारेका कार्यकारिणी समिति सदस्य कर्णले भने, 'कस्तो कारबाही ? कसले गर्‍यो कारबाही, कहिले भयो कारबाही?'

उनले पार्टीको बैठक बसेको आफूलाई कुनै जानकारी नै नभएको उल्लेख गरे। 'म पनि एउटा सदस्य हो नि तर मलाई बैठक बसेको थाहा नै छैन', उनले थपे, 'अनि कसले कारबाही गर्‍यो? पार्टीका प्रथम अध्यक्ष नै नगएको बैठकबाट पनि कारबाही हुन्छ र ? एउटा व्यक्तिले गरेको कारबाही हो, पार्टीको होइन। यस्ता कारबाही मानिँदैन। यो सबै जालझेल मात्रै हो।’

  • प्रकाशित मिति : जेठ १८, २०७८ मंगलबार १९:२९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया