वैकल्पिक राजनीतिको संस्कृति सुरु गर्ने अभियानको रुपमा चिनिन्थे, उज्ज्वल थापा । विवेकशील साझा पार्टीका पूर्वसंयोजकसमेत रहेका थापा राजनीतिक आन्दोलनका नाममा वर्षौंदेखि स्थापित परिचयलाई तोड्दै फरक परिचय दिने यात्रामा थिए।
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण मंगलबार उनको मृत्यु भयो। सामाजिक सञ्चालमा केही दिनदेखि उनको नाममा देखिएका शुभेच्छाले उनको युवामाझ देखिएको लोकप्रियतालाई छर्लंग बनाएको छ ।
उज्ज्वलले यो त्यसै पाएका भने होइनन् । देश बनाउने नयाँ हुटहुटी उनमा थियो। त्यही हुटहुटीलाई शुभचिन्तकले पछ्याइरहेका थिए र थापाको स्वास्थ्यमा समस्या आउँदा शुभचिन्तक आत्तिँदै प्रेम प्रकट गरिरहेका थिए।
अस्पताल भर्ना भएपछि मात्र थापाका लागि २४ घन्टामा ५० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन भयो। कुनै पनि व्यक्तिको उपचारका लागि सार्वजनिक रूपमा आर्थिक सहायता अपिल गर्दा चौबीस घन्टामै यति ठूलो रकम उठ्नु आफैँमा ठूलो कुरा थियो।
देश बनाउने सपना बोकेका थापाले संसार छाडेर बिदा भइसकेका छन्। नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल राजनीतिक अभियानमा युवाहरुलाई जोड्न सक्रिय र सफल थापाजस्तो अरु कोही नभएको बताउँछन्।
नेता पौडेलको नजरमा उज्ज्वल
नेपाली राजनीतिका विकृतिलाई समाप्त गर्ने अभियानमा उज्ज्वलजीको एकदमै पहलकदमी थियो। एउटा नयाँ पार्टी निर्माण गरेर राजनीतिको स्वच्छताको निम्ति प्रगतिशील विचारलाई राजनीतिको एजेन्डा बनाउनका निम्ति उहाँले निरन्तर प्रयास गर्नुभएको हो। कतिपयले उहाँहरुको त्यो अभियानलाई पत्याएनन्। तर, उहाँहरु डगमगाउनुभएन, निरन्तर त्यो अभियानलाई अगाडि लिएर जानुभयो। उहाँले चाहेजस्तै गरी नेपाली राजनीतिका ती विकृति अन्त्य हुने हो भने साँच्चै राजनीतिमा स्वच्छता प्राप्ति हुन्छ।
शिक्षा, स्वास्थ्य र जनजीविकाका मुद्दामा उहाँले जसरी पेचिलो ढंगबाट हस्तक्षेप गर्ने प्रयत्न गर्नुभयो, त्यो असाध्यै अनुकरणीय छ। शान्तिपूर्ण मार्गबाट राजनीतिमा नैतिकताको प्रधानतालाई स्थापित गर्ने र राजनीतिक विकृतिलाई अन्त्य गरेर व्यवस्थित ढंगबाट राज्य सञ्चालन गर्ने उद्देश्यले उहाँहरुका प्रयास अगाडि बढिरहेका थिए। यथार्थमा उज्ज्वलजी एउटा राजनीतिक स्वच्छता बोकेको व्यक्तित्व र प्रगतिशिल विचारका माध्यमबाट नेपाली राजनीतिमा नयाँ कार्यशैली भित्र्याउन प्रयास गरिरहेका असल नेता हुनुहुन्थ्यो।
उहाँहरुको अभियान र गतिविधिबाट हामीले धेरै कुराहरु सिक्न पाउँछौँ। उहाँहरुले युवाहरुको भूमिकालाई जसरी सक्रिय बनाउनुभयो, त्यो कुरा असाध्यै अनुकरणीय छ। युवाहरुलाई मोटिभेट गराउन खेल्नुभएको भूमिकाबाट हामी सबैले सिक्नुपर्नेछ।
राजनीति मुद्दाविहीन हुँदैन, विचारविहीन हुँदैन, राजनीति एकदम फोहोर र विकृतिको डंगुर बन्नुहुँदैन, यसलाई सफा गर्नुपर्छ र लोकतान्त्रिक मूल्यमान्यतालाई अंगिकार गर्दै नैतिकताको विषयलाई आत्मसात गरेर अगाडि बढ्नुपर्छ भन्ने उहाँको जुन मान्यता थियो, त्यो लोकतान्त्रिक व्यवस्थाभित्र अनिवार्य विषय हो। त्यो पक्षबाट हामीले सिक्नुपर्छ। उहाँले त्यो विषय उठाउनु मात्र भएन, आफैँभित्र कार्यान्वयन पनि गर्नुभयो।
विवेकशील साझा पार्टी सञ्चालनको सन्दर्भमा उहाँको नेतृत्व जति काविल र सशक्त देखियो त्यो साँच्चै अनुकरणीय छ। अनुशासित राजनीतिका सक्रिय पात्रका रुपमा उज्ज्वलजी सदा स्मरणीय पात्र हुनुहुन्छ। उहाँबाट हामीले यी सबै कुरा सिक्नुपर्छ।
उहाँहरुले नयाँ शैली नेपाली राजनीतिमा भित्र्याउनुभयो। उहाँहरुलाई पुरानो शक्ति नभएका कारणले, राजनीतिमा लामो निरन्तरता नभएका कारणले, उहाँहरु हस्तक्षेप गर्ने उद्घोषका साथ बाहिर आउँदा अरुले खिसिट्युरी पनि गरे। यी सबै कुराबाट विचलित नभईकन निरन्तर रुपमा उहाँहरुले यात्रा अगाडि बढाउनुभयो। हाम्रो समग्र नेपाली राजनीतिलाई सच्याउने अभियानको नेतृत्व उज्ज्वलजीले गर्नुभएको थियो। फरक पार्टीमा रहे पनि उस्तै विचार भएका, उस्तै कार्यशैली भएका असल मित्रलाई आज गुमाउनुपर्दन पीडाबोध भएको छ ।
उज्ज्वलजीजस्ता प्रगतिशील विचार बोक्ने, राजनीतिमा स्वच्छता स्थापित गर्न चाहने पात्रहरुको नेपाली समाजमा लामो समयसम्म आवश्यकता थियो। दैवको लीला ! हामीले उहाँलाई गुमायौँ। यसले नेपालको राजनीतिलाई सच्याउने, स्वच्छ बनाउने अभियानमा एउटा स्वच्छ अभियन्तालाई गुमाएको छ।
राजनीतिक अभियानमा युवाहरुलाई जोड्ने, युवाहरुको आकांक्षालाई जोड्ने, युवाहरुको भूमिकालाई सक्रिय बनाउने र समग्र फोहोरलाई सफा गर्ने सन्दर्भमा तुलना गरेर हेर्दा उहाँजस्तो सक्रिय र सफल अर्को कुनै व्यक्ति छैन। लामो निरन्तरता भएका मान्छेहरुले परम्परालाई पछ्याउने, अघिल्लो पदलाई पछ्याउने काम गरे । तर, उहाँ छोटो समय आउनुभयो, हस्तक्षेप गर्नेगरी अगाडि बढ्नुभयो, सुधारका विषयलाई मुद्दा बनाउनुभयो, त्यसको निरन्तरता उहाँ बाँचेर लामो समयसम्म भइरहेको भए साँच्चै परिणाममुखी हुन्थ्यो।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।