नेकपा एमालेका नेता माधवकुमार नेपाल माधव कुमार नेपाल यतिबेला आफ्नै समूहका नेता-कार्यकर्ताको दोहोरो चेपुवामा छन्। लामो समयदेखि पार्टीमा जारी विवाद किनारा लगाउन नसक्दा उनी दिनदिनै अफ्ठ्यारोमा पर्दै गएका छन्। पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेतालाई एकपछि अर्को तान्न थालेपछि उनी संकटमा परेका हुन्।
नेपाल समूहमा एउटा पंक्ति ओलीसँग मिल्नै नहुने, तत्कालै नयाँ पार्टी दर्ता गर्नुपर्ने पक्षमा छ भने अर्को पक्ष नयाँ पार्टी खोल्दा २०५४ मा फुटेको मालेकै हालत हुने बताइरहेका छन्। यी दुई कुराले यतिबेला माधव नेपाल न एमाले छाड्न सक्छन्, न त नयाँ पार्टी खोल्न सक्ने अवस्थामै छन्। पछिल्लो समय आफ्नै समूहमा ‘विग्रह’ सुरु भएपछि नेता नेपाल नेताको संकट बढेको हो।
दोस्रो पुस्ता
यदि एमालेमा दुवै पक्षका दोस्रो पुस्ताका नेताहरु सक्रिय नभएको भए नेपाल–खनाल समूहले नयाँ दल खोलिसक्थ्यो। नेता नेपालले आफ्ना केही सहयोगीलाई निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न लगाइसकेका छन्।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै यो समूहका सांसदहरु कुनै बेला राजीनामा दिनसमेत तयार भए। सिंहदरबारस्थित संसद सचिवालयमा पुगेको राजीनामा नेताद्वय सुवास नेम्वाङ र विष्णु पौडेलको सक्रियताले टरेको थियो।
त्यसो त ओलीले दोस्रोपटक जेठ ८ मा गरेको संसद विघटनपछि एकताका लागि हरप्रयास गरिरहेका नेताहरुको आशा पनि लगभग भत्किएको छ। धुम्बाराहीस्थित पार्टी कार्यालय हुँदै मेरियट होटलदेखि चपली हाइटसम्म भएका ओली-नेपाल वार्ताले सार्थकता नपाएपछि दोस्रो तहका नेताहरु पार्टी एकता जोगाउन सक्रिय भएका थिए।
पछिल्लो पटक चपलीहाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा भएको वार्ताले सकारात्मक दिशा लिएको भन्दै विवाद साम्य गर्न जेठ २ मा कार्यदल नै बन्यो। दुवै पक्षका दोस्रो तहका नेताहरुसहित बनेको कार्यदल अहिले निष्क्रिय भइसकेको छ। जेठ १० मा ओलीले नेपाल पक्षका कार्यदल संयोजक भीम रावललाई पार्टीबाटै निकालेपछि वार्ता रोकिएको हो।
पार्टीका समस्या समाधानका लागि कार्यदलमा छलफल भइरहेकै बेला कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्ष शीतल निवास र सर्वोच्च अदालत पनि पुगेपछि ओली रुष्ट बनेका हुन्। उनले त्यसलगत्तै माधव नेपालसहित ११ नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेका छन्।
नेपाल समूहमै ‘विग्रह’
नेपाल समूहमा अहिले दुई लाइन छन्। एउटा हार्डलाइनर, अर्का सफ्टलाइनर । माधव नेपाल, झलनाथ खनाल, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री लगायतका नेताहरु हार्डलाइनर हुन्
ओलीले पहिलो पटक गरेको संसद विघटनका बेला खरो रुपमा प्रस्तुत यी नेताहरु दोस्रो पटक विघटनपछि झनै आक्रोशित छन्। हदैसम्म प्रयास गर्दा पनि ओलीले पार्टीमा कुनै सल्लाह नगरी एकता भंग गरेको उनीहरुको आरोप छ। ओलीसँग मिल्ने भन्दा पनि संघर्ष गरेर नयाँ दल दर्ता प्रक्रिया अघि बढाउन ढिला गर्न नहुने उनीहरुको मत छ।
नेपालनिकट नेताहरु रामकुमारी र राजेन्द्र राईले अब ओलीसँग मिल्ने कुरा आत्मसमर्पण हुने बताउँदै आएका छन्। उनीहरुले अब नयाँ पार्टी दर्ता गरेर जानुको विकल्प नभएको बताइरहेका छन्।
मिल्ने पक्षमा
नेपाल समूहमै अहिलेसम्म देखिएका अन्य केही नेताहरु पार्टी एकता हुनपर्ने भन्दै नरम बाटोमा छन्। योगेश भट्टराई, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतका नेताहरु सकेसम्म पार्टी एक हुनुपर्ने भन्दै निरन्तर कसरतमा छन्। बुधबार दिउँसो पनि एमाले महासचिव ईश्वर पोखरेलसँग योगेश भट्टराईले भेटवार्ता गरेका थिए।
यी नेताहरुले देखाएको मध्यमार्गी लाइनका कारण उनीहरुलाई आफ्नो समूहमा तान्ने प्रयासमा छन् ओली। नेपाल समूहका आफ्नै भनिएका नेताहरुले बलियो साथ नदिएपछि यसअघि सिंहदरबार पुगेको राजीनामा रोकिएको थियो।
चर्चा
२ जेठमा बनेको कार्यदल हिजो (बुधबार) सम्ममा भताभूंग भइसकेको छ। तर, कार्यदलका केही सदस्यहरु ओली पक्षका दोस्रो तहका नेताहरुसँग निरन्तर छलफलमै छन्।
सोमबार राति याक एण्ड यति होटलमा भएको ४ घण्टा लामो छलफलले नेता नेपाललाई झस्काएको थियो। त्यसपछि नेपाल समूहका जनवर्गीय संगठनका पदाधिकारीले नेपालको ध्यानाकर्षण पनि गराएका थिए।
नेपाल र खनाललाई नै जानकारी नदिई ओली समूहसँग छलफल भइरहेको थाहा पाएपछि बुधबार दिउँसो जनवर्गीय संगठनका पदाधिकारी र नेपालबीच भर्चुअल संवाद भयो।
कार्यदलका सदस्य समेत रहेका नेपाल समूहका हार्डलाइनर नेता भीम रावललाई पार्टी सदस्यताबाटै निष्कासित गरिसकेको अवस्थामा भएका छलफललाई मान्यता दिन नहुने राय पदाधिकारीले नेता नेपाललाई दिएका थिए।
‘सर्वोच्च अदालतले २ जेठमा फर्कनुपर्ने स्पष्ट फैसला सुनाइसकेपछि त्यहाँ नफर्किएसम्म नेकपा एमाले भेटिन्न । त्यहीँ जानुपर्छ । कारबाहीको डण्डा चलाइसकेको अवस्थामा ओलीसँग छलफल पनि जायज छैन,’ भर्चुअल बैठकको निष्कर्ष थियो
नेपाल समूहमा शंका
ओली समूहसँग भएका पछिल्ला केही छलफलहरु पार्टीका शीर्ष नेताहरुलाई नै थाहा नभएपछि नेपाल समूहका नेताहरु सशंकित छन्। एकताको पक्षमा आवाज उठाइरहेका भट्टराई, भुसाल, पाण्डे लगायतका नेताहरुले ओली समूहसँग गरेको अनौपचारिक छलफलको प्रयासले विग्रहको सम्भावना बढाएको हो।
एमालेमा आफ्नो समूह मजबुत बनाउन र प्रतिनिधिसभा पुनःस्थापित भइहाले पनि आफू नै प्रधानमन्त्री बन्ने योजना ओलीले बनाएर आफ्ना नेताहरु तान्ने प्रयास गरिरहेको नेपाल समूहका हार्डलाइनर नेताहरुको बुझाई छ।
जुन कुरा एमाले प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार सञ्चारकर्मीसँगको कुराकानीमा पनि संकेत गरेका छन्। उनले भनेका थिए,‘सकेसम्म एकतालाई जोगाउन सकियोस्, धेरैभन्दा धेरै साथीहरु मूलधारमा अडिनुस् भन्ने नै प्रयास छ ।’
त्यही कुराबारे थप व्याख्या गर्दै नेपाल समूहका नेता बेदुराम भुसाल भन्छन्, ‘धेरैभन्दा धेरै साथीहरुलाई एमालेमा राख्न कोसिस गर्दैछौं भनेपछि सकिएन र ? अब एकता भन्ने त भएन?’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।