विवादबीच प्रधानन्यायाधीश जबराले बोलाए 'फुल कोर्ट'

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतमा पूर्ण बैठक 'फुल कोर्ट बोलाएका छन्। प्रधानन्यायाधीश जबराले संवैधानिक इजलास सञ्चालनसम्बन्धी नियमावली संशोधन, न्यायाधीशहरुको रोष्टर हेरफेर र सर्वोच्च अदालतको सेवा विस्तार लगायतबारे परामर्श गर्न ‘फु कोर्ट’ डाकेका हुन्। 

सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जेठ २३ गते बस्ने संवैधानिक इजलासबारे आवश्यक निर्णय लिन शुक्रबार दिउँसो बस्ने गरी बैठक बोलाइएको बताएका छन्। 

जेठ २३ गते बस्ने संवैधानिक इजलासमा वरिष्ठताका आधारमा नयाँ संवैधानिक इजलास गठन गर्ने तयारी प्रधानन्यायाधीश जबराले गरिरहेका छन्। 

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी गठबन्धनबाट हालिएकासित ३० वटा रिटमाथि आइतबार संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ। त्यसअघि नै प्रधानन्यायाधीशले संवैधानिक इजलासमा हेरफेर गर्ने गरी फुल कोर्ट बोलाएका हुन्। 

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाका लागि संवैधानिक इजलासमा बोलाइएका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठलाई लिएर बादी वकिलहरूले कानुनी प्रश्न उठाएका थिए। 

बादी पक्षका वकिलहरूले अनेक कानुनी प्रश्न उठाए पनि न्यायाधीशद्वय केसी र श्रेष्ठले मंगलबार आफूहरुले संवैधानिक इजलास छाड्नुपर्ने कुनै कारण नभएको राय दिएका थिए। तर उनीहरुलाई इजलासबाट हटाउनुपर्ने पक्षमा रहेका न्यायाधीशद्वय दीपक कार्की र आनन्दमोहन भट्टराईले इजलासमा बस्न नसक्ने भन्दै बाहिरिएका छन्। 



मंगलबार दुई न्यायाधीश बाहिरिएपछि प्रधानन्यायाधीशले आइतवार बस्ने संवैधानिक इजलासअघि वरिष्ठताका आधारमा नयाँ न्यायाधीश समेटेर इजलास गठन गर्ने जानकारी दिएका थिए। 



  • प्रकाशित मिति : जेठ २०, २०७८ बिहीबार २०:२६:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया