उपप्रधान एवम् सहरी विकास मन्त्री राजेन्द्र महतोले विगत माग, मुद्दालाई सम्बोधन गर्न आफूहरु सरकारमा आएको बताएका छन्। सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगेर पदभार ग्रहणपछि महतोले यस्तो बताएका हुन्।
उनले आफूहरु मधेस आन्दोलनका मुद्दा सम्बोधन गर्न सरकारमा आएको बताउँदै अब त्यसमै लाग्ने बताए। 'मलाई थाहा छ, पार्टी दुई चिरामा विभाजित भएको छ। पार्टीको माग मुद्दालाई लिएर हामी अघि बढेका हौँ। त्यसकै लागि हामी सरकारमा आएका हौँ', उनले भने, 'हाम्रा केही माग सम्बोधन भएका छन्। अन्य माग पनी हामी पूरा गर्छौँ।'
उनले उपेन्द्र यादव समूह सत्ताका लागि हिँडेको पनि बताए। 'जो सरकार र सत्ताका लागि हिँडेका छन् उनीहरुलाई केही भन्नु छैन', उनले भने, 'हामी हाम्रा थाँती रहेका मुद्दा पूरा गर्न सरकारमा आएका हौँ, हाम्रो मूल ध्येय नै यही हो।'
रेशमबारे
महतोले टीकापुर घटनाका दोषी रेशम चौधरीको मुद्दा सर्वोच्चमा चलिरहेकाले त्यसबारे आफूहरुलाई सरोकार नभएको बताए। 'रेशमको मुद्दा सर्वोच्चमा छ, त्यहाँ चलिरहन्छ। हाम्रो आन्दोलनका केही माग मुद्दा सम्बोधन भएका छन् केही बाँकी छन्', उनले भने, 'जनताका मुद्दाकै लागि हामी सरकारमा आएका हौँ। अदालतले के भन्छ हाम्रो सरोकारको विषय होइन।'
उनले आफ्ना सवालहरुसहित वैकल्पिक शक्तिका रुपमा स्थापित हुने लक्ष्यका साथ अघि बढेको बताए। 'हामी वैकल्पिक शक्तिका रुपमा अघि बढ्छौँ। जति दिन सरकारमा रहन्छौं, हाम्रा माग मुद्दामा केन्द्रित भएर काम गर्छौँ', उनले भने, 'अधिकार, पहिचान, सुशासन र समृद्धिका सवालमा हामी प्रतिवद्ध छौँ।'
उनले आफूहरु बहुल राष्ट्रिय राज्य अभियानमा पनि रहेको बताए। 'हामी बहुल राष्ट्रिय राज्यका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्छौँ', उनले भने, 'हामी हाम्रा मुद्दाहरु स्थापित गरेर छाड्छौँ, सरकारमा जाने निर्णय त्यसकै लागि भएको हो।'
भिडियो
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।