परराष्ट्र मन्त्रीबाट बाहिरिएपछि प्रदीप ज्ञवालीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले करिब सवा तीन वर्ष मन्त्री पदबाट बाहिरिँदा आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको जानकारी दिएका छन्।
उनले आफूलाई परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हाल्ने अवसर दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति आभार व्यक्त गरेका छन्। 'करिब सवा तीन वर्ष परराष्ट्र मन्त्रीका रुपमा कार्यरत रहेर विदा भएको छु', उनले भनेका छन्, 'यस्तो गरिमापूर्ण जिम्मेवारी सम्हाल्ने अवसर दिनुभएकोमा सम्माननीय प्रधानमन्त्रीज्यूप्रति आभार व्यक्त गर्दछु।'
उनले परराष्ट्र मन्त्रीका रुपमा आफूलाई सहयोग गर्नेहरुलाई पनि धन्यवाद दिएका छन्। 'मेरो कार्यकालमा प्रदर्शित टिम स्पिरिट एवम् परिवार-सदृश वातावरण निर्माणका लागि मन्त्रालयका सचिवहरु शङ्करदास वैरागी (हाल मुख्यसचिव), भरतराज पौड्याल एवं समस्त परराष्ट्र मन्त्रालय परिवारलाई धन्यवाद ज्ञापन गर्दछु', उनले भनेका छन्, 'समकक्षी विदेशमन्त्रीहरु, संयुक्त राष्ट्र सङ्घ लगायत बहुपक्षीय र क्षेत्रीय सङ्गठनका प्रतिनिधि तथा नेपालस्थित विदेशी नियोगहरुबाट प्राप्त सद्भाव र उहाँहरुसँगको सहकार्य मेरा लागि अविस्मरणीय रहने छ।'
उनले मन्त्रीबाट बाहिरिएपछी सहकर्मी मन्त्रीहरुलाई पनि सम्झिएका छन्। 'यस अवधिमा सञ्चारकर्मी साथीहरु एवम् पूर्व कुटनीतिज्ञ, विज्ञ एवम् यस क्षेत्रका जानकारहरुबाट कार्यसम्पादनमा प्राप्त सहयोग मेरा लागि मूल्यवान रहेको छ', उनले अगाडि भनेका छन्, 'मलाई यो अवसरको ढोका खोलिदिने गुल्मी क्षेत्र नम्बर १ का मतदाताप्रति कृतज्ञ छु।'
सम्पत्ति विवरण
ज्ञवालीले साढे ३ वर्ष मन्त्री हुँदाको अवधिमा आफूले विदेश भ्रमण वापदको लेबी ३ लाख १४ हजार ९३० बुझेको बताएका छन्। अर्कातिर पारिश्रमिक वापदको लेभी ६ लाख २० हजार बुझेको पनि जानकारी दिएका छन्।
उनले ती दुवै लेभीसहित जम्मा ९ लाख ३४ हजार ९३० रुपैयाँ नेकपा एमालेको खातामा जम्मा गरेको पनि बताएका छन्। उनले आफ्नो पारिश्रमिकको करकट्टी बापत ३ लाख ७२ हजार ४९१ रुपैयाँ १३ पैसा सरकारी कोषमा दाखिला भएको उल्लेख गरेका छन्।
उनले अहिले आफ्नो खातामा ७ लाख ४१ हजार ७७५ रुपैयाँ ६० पैसा बचत रहेको जनाएका छन्। 'केही घरायसी सामान एवं दुई सय जति पुस्तक थपिनुबाहेक मन्त्री बने लगत्तै सार्वजनिक मेरो सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी गराउँछु', उनले भनेका छन्
उनले परराष्ट्र मन्त्रीका रुपमा आफूले प्रयोग गरेको सरकारी ल्यापटप पनि फर्काएको बताएका छन्। 'मैले प्रयोग गर्दै आएका सवारी साधन र ल्यापटप (म्याकबुक प्रो) आजै मन्त्रालयलाई फिर्ता गरेको छु', उनले भनेका छन्, 'पुल्चोकस्थित सरकारी निवास भोलि बिहान छाड्ने जानकारी गराउन चाहन्छु।'
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।