‘बहुराष्ट्रिय राजनीतिको कल्पना भएन भने देश द्वन्द्वमा जान्छ’
जनताको मुद्दा सम्बोधन गर्दा जसपामा किन असन्तुष्टि ?

जनता समाजवादी पार्टी(जसपा)को महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतो महत्वपूर्ण मन्त्रालयसहित प्रधानमन्त्री ओलीका नयाँ सारथी बनेका छन्।  शुक्रबार भएको मन्त्रिपरिषद हेरफेरमा उनले उपप्रधानसहित शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। 

लामो सयदेखि मधेश आन्दोलनमा जोडिएका नेता महतोले शुक्रबार राति शपथग्रहण गरेलगत्तै मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन्।  मन्त्रालयको पदभार ग्रहण गर्ने क्रममा उनले दिएको अभिव्यक्तिको आलोचना भइरहेको छ।  

मन्त्री महतोले बहुल राष्ट्रिय राजनीतिको बहस सुरु गरेसँगै यसले देशमा द्वन्द निम्त्याउने चर्चा धेरैले गरिरहेका छन्। नवनियुक्त मन्त्री महतोलाई हामीले किन विवादित अभिव्यक्ति दिनुभयो ? फेरि देशलाई द्वन्द्वतिर लैजान लाग्नुभएको हो ? भनी प्रश्न गरेका छौँ।

तर मन्त्री महतोले बहुराष्ट्रिय राजनीतिक बहस भएन भने चाँही देश द्वन्द्वतिर जाने तर्क गरेका छन्।  

महतोसँग गरिएको कुराकानीको सम्पादित अंश :

महत्वपूर्ण मन्त्रालयसहित सरकारमा जानुभएको छ।  कसरी अगाडि बढ्ने सोच बनाउनुभएको छ ? 



सरकारमा सहभागिताको मुख्य सवाल चाँही हामीले यसअघि उठाएका माग, मुद्दा नै हो।  हामी त्यही मुद्दा सम्बोधनकै लागि सरकारमा गएका हौं।  केही सवालहरू सम्बोधन भएका छन्, केही सवालहरू सम्बोधन हुन बाँकी छ। पहिलो दायित्व हाम्रो त्यो हुन्छ।  

अर्को दायित्व चाँही राज्यले लिने दायित्व जुन हो त्यो हुन्छ।  विभागीय दायित्व जुन हामी र हाम्रो पार्टीका साथीहरूले पाएका छौं, त्यो जिम्मेवारी इमान्दारीताका साथ पूरा गर्छौँ।  पुरै सक्षमताका साथ देश र जनताको सेवा गर्ने हो।  भावी कार्यदिशा भनेको अधिकार र पहिचानको एजेण्डा हो।  सुशासन र समृद्धि देशमा ल्याउने हो।  



त्यसका लागि हामीले काम गर्ने हो।  जसका लागि एउटा वैकल्पिक शक्ति निर्माण गर्ने हो।  हिमाल, पहाड, तराई मधेसमा वैकल्पिक शक्ति निर्माण गरेर फरकधार!(हाँस्दै) तपाईंहरूको फरकधारले जसरी काम गरिरहेको छ, जुन मुलुकले खोजेको हो।  

तपाईंले भन्नुभएको बहुल राष्ट्रिय राजनीति भनेको कस्तो हो ? 

बहुल राष्ट्रिय राजनीतिको जुन कल्पना हो त्यसलाई आत्मसाथ गरेर हामी अगाडी बढ्छौँ।  यो देश ४ वर्ण, ३६ जातको साझा फूलबारी हो।  त्यो नेपाल र नेपालीको नियम कानुन, संविधान र व्यवहारमा समेत लागु हुनेगरी शासन प्रणाली त्यही अनुसारको नियम कानुन र संविधानको चाँही अवस्था, त्यो सबै विगतमा हुन सकेन्। 

जुन प्रकारका विभेद, भेदभाव, उत्पीडन छन्।  समस्यामा परेका आदिवासी जनजाति छन्, मधेसी मुस्लिम, थारु लगायत दलितहरूलाई कसरी मुक्ति दिलाउने भन्ने जस्ता एजेण्डा बोकेर पार्टी गठन भएको थियो। ती एजेन्डालाई पनि अगाडि बढाउने काम गर्छौं।  सँगसँगै पार्टीको काम पनि अगाडि बढ्छ।  र राज्य सरकारको काम पनि गर्छौं।  सरकारमा गएर आफ्ना माग र मुद्दाहरूलाई सम्बोधन गर्न पनि प्रयत्न हुन्छ।  

शपथग्रहण लगतै बहुल राष्ट्रिय राजनीतिको बहस सुरु गर्नुभयो भनेर आलोचना सुरु भएको छ नि ? 

यो देशमा त बहुलराष्ट्रिय राजनीति हुन्छ होइन ? यो देश ४ वर्ण, ३६ जातको साझा फूलबारी होइन् ? पृथ्वीनारायण शाहले नै नेपाल निर्माण गर्दा भनेको होइन् ? यो एकल राष्ट्रिय राज्य होइन।  यो एउटै जातीय राज्य होइन।  यो सबै वर्ग, समुदायको देश हो।  सबैले राज्य शासनमा सहभागिता पाउनुपर्छ।  समानता पाउनुपर्छ, पहिचान पाउनुपर्छ।  

त्यही अनुसारको चाँही शासनको पद्धति निर्माण गर्नुपर्छ।  बहुराष्ट्रिय राजनीति भनेको विभिन्न राष्ट्रियता (इथ्निसिटी) हो के।  इथ्निसिटी भनेको जातीय समुदाय।  पहिचान भएका विभिन्न व्यक्तिहरू छन यहाँ।  राष्ट्रियता भनेको इथ्निसिटी हो, देश होइन्। इथ्निसिटी भनेको जातीय पहिचान हो।  

यसले त फेरि देशलाई द्वन्द्वतिर लान्छ भने टिप्पणी हुन थालेका छन नि ? 

यो वाइयातहरूले त्यस्तो कुरा गरिदिएको हो।  यो त भएन भने चाँही देश द्वन्द्वतिर जान्छ।  सबैले पहिचान पाएन भने पो द्वन्द्वतिर जान्छ त।  समाधान भएन भने पो द्वन्द्वतिर जान्छ।  अहिले मधेसीले आवाज उठाइरहेको छ।  

आदिवासीले आवाज उठाइरहेको छ। थारुले आवाज उठाइरहेको छ त, के हो त्यो ? त्यसकारण बहुराष्ट्रिय राज्यलाई त्यो अनुसार एडजस्ट गर्न सक्नुपर्छ।  त्यो भएन भने मुलुकमा विद्रोह भइरहन्छ।  

यो त बहुलताले भरिएको, विविधताले भरिएको देश हो नि त।  त्यो अनुसारको व्यवहार गर्नुपर्ने राज्यले बनाउन परेन त ? किन थारु विद्रोह गरिरहेको छ ? किन आदिवासी जनजाति विद्रोह गरिरहेको छ ? किन मधेसी विद्रोह गरिरहेको छ ? किन दलित विद्रोह गरिरहेको छ ? केही न केही त छ नि यहाँ त।  यो देशको शासन प्रणालीमा कुन इथ्निसिटी कसरी के भइरहेको छ त्यो जनताले खोजिरहेको छ।  यसले सबैको पहिचान, मान्यता र सबैको राज्य प्रणालीमा समावेशी हुन्छ।  त्यो हामीले गर्न सक्नुपर्छ।  बहुराष्ट्रिय राजनीतिको स्थापना भनेको सबैको राज्य हो।  नेपाल सबै नेपालीको हो।  

यसलाई अझै प्रष्ट पारिदिनु होस् न

एक लाइनमा यसको परिभाषा गर्दा बहुराष्ट्रिय राजनीति भनेको यो देश बहुलताले भरिएको हो।  नेपाल सबै नेपालीको नेपाल हो।  विभिन्न जात वर्ण भएपनि सबै नेपालीको नेपाल हो।  कुनै प्रकारको विभेद अन्त्य हुनुपर्छ।  र, बहुराष्ट्रिय राजनीतिको मान्यता अनुसार देशको शासन र कानुन सञ्चालन हुन सक्नुपर्छ।  जहाँ-जहाँ कमजोरी छन् त्यसलाई करेक्सन गर्दै जानुपर्छ।  पटक्कै नभएको त होइन्, सुधार त भएको छ नि।

संघीयता आयो, समावेशिता ल्यायौं, यी कुराहरूको सुरुवात त भएको छ नि।  तर, यो अपूर्ण छ के।  त्यसलाई पूर्णता दिनुपर्छ।  पूर्णताको लागि हामीले आवाज उठाउनुपर्छ।  संघर्ष नगरिकन वा आन्दोलन नगरिकन त नहुँदो रैछ नि त ? त्यसको लागि संघर्ष गर्नैपर्छ। अनि समाधानको बाटो निस्कन्छ।  

नेपाल सबै नेपालीको बन्छ, त्यतिबेला यो सुखी नेपाली समृद्ध नेपाल बन्ने प्रक्रियामा सबै नेपालीले उपेक्षाबाट मुक्त भएर अपनत्व महसुस गर्छ।  हिमाल, पहाड, तराई, मधेसका सबै वर्ग जात जातीका नागरिकहरू यो मेरो दायित्व हो, जिम्मेवारी हो भन्ने भावनाले ओतप्रोत हुन्छ।  

जसपाभित्र असन्तुष्टि चुलिएका छन्। यसको समाधान कसरी हुन्छ ? 

पार्टीमा देखिएको असन्तुष्टि देखिनु हुँदैन थियो। जरुरी थिएन।  किनभने पार्टीले आफ्नो माग, मुद्दा समाधान गर्न प्रयत्न गर्दाखेरी असन्तुष्ट हुने कुनै कारण थिएन।  किन साथीहरू असन्तुष्ट भए ? जनताको काम गराउनका लागि, पार्टीले उठाएका मागहरू सम्बोधनका लागि अगाडी बढ्दा खेरी, समाधान गराउँदा किन असन्तुष्टि देखाउनुपर्ने हो ? त्यसैका लागि राजनीति गरेको होइन् ? 

हामीले गरेको आन्दोलनमा आम कार्यकर्ता चाँही ज्यानको बाजी लगाएर भाग लिन्छ।  अनि उ शहादत हुन्छ।  मुद्दा लाग्छ।  जेलनेल पर्छ।  अनि त्यसका लागि कसले सोच्ने हो ? पार्टीले सोच्न पर्दैन ? अनि त्यो काम गर्दाखेरि अपराध भयो ? आन्दोलनले उठाएका माग, मुद्दा सम्बोधन गराउँदा यो अपराध भयो ? त्यसका लागि असन्तुष्टि जनाउनुपर्ने हो ? 

त्यसकारण खाली सत्ता र कुर्सीका लागि लाग्नेहरूको चिन्तन, सोँच, प्रवृत्ति राम्रो देखिएन्।  यो कुरा जनताले मुल्यांकन गरिरहेका छन्। बुझिरहेका छन्।  माग मुद्दाका लागि पार्टीले काम गर्दा किन विरोध गर्नुपर्ने? भनेर जनताले भनिरहेका छन्।  

त्यसैले अधिकांश जनता कार्यकर्ताहरू एकढिक्का छ।  पार्टी एकढिक्का छ।  जनता समाजवादी पार्टीमा यी माग, मुद्दा र आगामी दिनका कार्यभार त्यो समेतलाई लिएर गोलबन्द गरेर अगाडि जान्छौं।  पार्टीमा अनावश्यक रुपमा असन्तुष्टि खडा गरिरहेका छन्।  त्यो गलत हो।  नेपाली जनताले त्यसलाई बुझेका छन्। 

  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १२:४६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया