स्वास्थ्य मन्त्रालयले मनसुनका बेलामा आउने स्वास्थ्य समस्याको सामना गर्न तयारी अवस्थामा रहेको जनाएको छ ।
विपत्तिका बेलमा आइपर्ने विभिन्न स्वास्थ्य समस्याको उपचार गर्न स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताए ।
वर्षा याममा डेंगु, मलेरिया, झाडापखाला, ज्वरो लगायतको स्वास्थ्य समस्या आउने भन्दै उनले ती समस्या समाधानका निम्ति स्वास्थ्य मन्त्रालय तयारी अवस्थामा रहेको बताए । विपतबाट तुरुन्त उद्दार गर्न प्रत्येक स्थानीय तहमा र्यापिड रेन्स्पोन्स टिम गठन गर्न स्वास्थ्यकर्मीलाई तालिम दिएर राखिएको पनि उनले जानकारी दिए ।
उनले भने, ‘प्रत्येक स्थानीय तहमा र्यापिड रेन्सपोन्स टिम कसरी गठन गर्ने भनेर स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य कार्यालयहरुलाई तालिम दिएर जनशक्ति तयारी अवस्थामा राखिएको छ । मनसुनसँगै झाडापखाला, ज्वरो, मलेरियाका बिरामी बढी देखिन्छन् । उपचारात्मक सेवा र प्रवर्द्धनात्मक सेवा सँगसँगै जानुपर्ने हुन्छ । स्थानीय तहमा रहेका द्रुत प्रतिकार्य समिति (र्यापिड रेन्पोन्स टिम) ले त्यहाँबाट रेस्पोन्स गर्नुहुन्छ ।’
प्रवक्ता पौडेलले आवश्यक स्वास्थ्य सामग्री तयारी अवस्थामा राखिएको बताए । उनले भने, ‘डेंगु लगायतका बिरामीलाई चाहिने एन्टिजेन किट, परीक्षण सामग्री, मलेरियाको आरडिटी, डेंगुको किट, झाडापखालाका लागि जीवनजल लगायत औषधीको व्यवस्थापन केन्द्रीय स्टोर, प्रदेशस्थित मेडिकल स्टोर र जिल्लासँगको समन्वयमा त्यो व्यवस्थापनको काम हुन्छ । त्यो नियमित काम भित्रै हुन्छ ।’
उनले स्थानीय तह तथा प्रदेशले केन्द्र सरकारसँग माग गरेको खण्डमा केन्द्रमा पनि र्यापिड रेस्पोन्स टिम बनाइसकेको बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।