राजेन्द्र महतोको पुत्ला जलाउँदा माधव पक्षीय अनेरास्ववियुका नेताहरु पक्राउ

उपप्रधान एवम् सहरी विकासमन्त्री राजेन्द्र महतोले दिएको विवादित टिप्पणीको विरोधमा उनको पुत्ला जलाउने नेकपा एमाले माधव नेपाल समूहनिकट अनेरास्ववियुका नेताहरु पक्राउ परेका छन्। 

उपप्रधानमन्त्रीले बहुल राष्ट्रिय राज्यबारे विवादित टिप्पणी गरेपछि त्यसको विरोधमा नयाँ बानेश्वरमा पुत्ला जलाउने क्रममा प्रहरीले माधव पक्षीय अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामासहित करिब १२ जनालाई पक्राउ गरेको हो। प्रहरी हस्तक्षेपका क्रममा पराजुली घाइते भएका छन् ।

उनीहरुलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा राखिएको थियो। प्रहरीले अनेरास्ववियुका केन्द्रीय सचिव तथा रत्न राज्य क्याम्पसका सभापति टपेन्द्रजंग शाही सचिवहरु, महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईँ, नेताहरु अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाल, युवा संघका स्थायी कमिटी सदस्य मानबहादुर बुढालाई पक्राउ गरेको छ।

महतोले शनिबार मन्त्री पदको पदभार ग्रहणका क्रममा संविधान विरोधी अभिव्यक्ति दिएका थिए। त्यसकै विरोधमा उनको अनेरास्ववियुले पुत्ला जलाएको हो। जनता समाजवादी पार्टी संसदीय दलका नेता महतोले पदभार ग्रहण गर्ने क्रममा अब ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’गर्ने बताएका थिए ।

यो अभिव्यक्ति नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानविरुद्ध रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ। 





  • प्रकाशित मिति : जेठ २२, २०७८ शनिबार १९:४१:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया