विधानै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हास्यास्पद : ठाकुर पक्ष

प्रदेश २ मा जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले संसदीय दलको नेता चयन गरेको विषयमा अध्यक्ष महन्थ ठाकुर पक्षका नेताहरुले आफूहरुलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिएका छन् । 

पार्टी अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा बसेको बैठकबाट संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरिएको सम्बन्धमा अध्यक्ष ठाकुर पक्षका नेताहरुले भने यसबारे आफूहरूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

यादव पक्षले संसदीय दलको विधान पारित गर्नुका साथै दलको नेता समेत चयन गरिएको बताइरहँदा ठाकुर पक्षका नेता समेत रहेका प्रदेशसभा सदस्य परमेश्वर साहले आफूहरूले संसदीय दलको नेता चयन गरिएको सम्बन्धमा सञ्चारमाध्यमबाटै थाहा पाएको बताए । उनले भने, ‘बैठक कहाँ बस्यो, कसले गठन गर्‍यो, कुन प्रक्रियाबाट गर्‍यो केही जानकारी भएन । चोरबाटोबाट दलको नेता चयन गरेको हुनसक्ने बेग्लै कुरा हो । तर, आफूहरुलाई केही जानकारी छैन् ।’

नेता साहले अहिलेसम्म संसदीय दलको विधान नै नबनेको अवस्थामा दलको नेता चयन हुनु आफैंमा हास्यास्पद रहेको सुनाए । उनले भने,‘संसदीय दलको विधान प्रदेश समितिमा पास हुनुपर्नेमा प्रदेश समिति पनि बनेको छैन । पार्टीको विधानको धारा २८ मा संसदीय दलको विधान प्रदेश समितिले अनुमोदन गरेपछि मात्र लागू हुने कुरा उल्लेख रहेको छ ।’

प्रदेश समिति नै छैन भने विधान कसरी बन्यो उनले प्रतिप्रश्न गरे । उनले यदि संसदीय दलको नेता चयन गरिएको छ भने त्यो गैरवैधानिक र गैरकानुनी रहेको दाबी समेत गरे । पार्टीको विधानभन्दा माथि कोही हुन नसक्ने उनको धारणा छ । 

त्यस्तै, जसपा नेपालका कार्यकारिणी सदस्य समेत रहेका प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले मुख्यमन्त्री लालबाबु राउतलाई संसदीय दलको नेता चयन गरिएको बारेमा आफूलाई कुनै जानकारी नरहेको बताए । उनले आश्चर्य व्यक्त गर्दै भने, ‘म त दिनभर यहीँ बसेको छु तर त्यस्तो कुनै जानकारी मलाई भएन । बैठक बसेर संसदीय दलको नेता चयन भएको कुरा मलाई थाहा छैन ।’ 



यता, अर्का अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा जनकपुरधाममा भएको बैठकमा सो पक्षले तत्कालीन समाजवादी पार्टीका ३० र राजपाका ६ जना प्रदेशसभा सदस्य गरी ३६ जनासँग सो निर्णयमा हस्ताक्षर गराइएको र अन्य केही थप प्रदेशसभा सदस्यहरुलाई समेत आफ्नो पक्षमा ल्याउने तयारी गरिरहेको स्रोतले जनाएको छ । 

दलको नेता बन्न २८ जना सांसदको समर्थन चाहिन्छ । हाल प्रदेश २ मा पूर्व संघीय समाजवादी फोरमका ३०, पूर्व राजपाका २५, एमालेका २१, कांग्रेसका १९ र माओवादी केन्द्रका ८ तथा एक जना स्वतन्त्र गरी कुल १०४ जना सांसद छन् ।



यसअघि प्रदेशसभाको सदस्य संख्या १०७ रहे पनि माओवादी केन्द्रले ओली पक्षमा सामेल भएका आफ्ना चार सांसदलाई कारबाही गरेको थियो । यस हिसाबले प्रदेश २ मा सरकार बनाउनका लागि ५३ जना सांसद भए पुग्छ ।

  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार १६:५७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया