अदालतबाट होइन, प्रचण्डका कारण नेकपा खारेज भएको हो : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डले नचाहेकाले तत्कालीन नेकपा खारेज भएको जिकिर गरेका छन्। 

एमालेमा देखिएको विवाद समाधानका लागि पहलकदमी लिँदै आइबार साँझ एक वक्तव्य निकालेर ओलीले सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट नेकपाको एकता भंग नगरेको दाबी गरेका हुन्। उनले सर्वोच्चले नेकपा नाम ऋषि कट्टेललाई दिएपछि अर्को लिएर निर्वाचन आयोगमा जान भनेको पनि सम्झाएका छन्। 

ओलीले अदालतको फैसलापछि निर्वाचन आयोगले १५ दिनको समय दिएर अर्को पार्टी दर्ताका लागि बोलाउँदा पनि प्रचण्ड जान तयार नभएपछि नेकपाको एकता भाँडिएको बताएका हुन्। 

‘कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाएर मात्रै मुलुकको राष्ट्रिय एकतालाई सुदृढ गर्न सकिन्छ भन्ने विश्वासका साथ हामीले २०७५ जेठ ३ मा पार्टी एकीकरणको ऐतिहासिक निर्णय गरेका थियौं,' ओलीले भनेका छन्, 'एकीकरणको मुख्य पहलकर्ता र प्रस्तावकका रुपमा मेरो भूमिका कस्तो थियो भन्ने कुरा यहाँ दोहर्याइरहन आवश्यक देख्दिनँ। तर त्यो एकीकरण निष्कर्षमा पुग्न सकेन।'

ओलीले यसका कारणबारे धेरै भन्न जरुरी नरहेको पनि उल्लेख गरेका छन्। ‘२०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसला एकीकरण प्रक्रिया भङ्ग हुनुको मुख्य कारण थियो भनेर कतिपयले टिप्पणी गर्छन् । तर यो यथार्थ होइन', उनले भनेका छन्, 'सर्वोच्च अदालतले त नेपाल कम्युनिष्ट पार्टीको नाम पहिल्यै निर्वाचन आयोगमा दर्ता रहेकाले त्यससँग नाम जुझ्ने गरी गरिएको दर्ता मिलेन भनेको मात्रै हो।'



सर्वोच्चले एकता कायमै राख्ने भए नयाँ नाम लिएर आउन भनेको पनि उनले बताएका छन्। 'एकता कायम राख्ने भए नयाँ नाम प्रस्ताव गर भनेको हो । र, त्यसका लागि समय पनि दिएको हो', उनले भने, 'पार्टीको प्रथम अध्यक्ष हुनुको नाताले मैले यसमा आफैँ पहल पनि लिएको हुँ । तर 'प्रचण्ड' को अनिच्छाका कारण मेरो प्रयास सफल हुन सकेन।’



ओलीले पार्टी एकता कायम नभएपछि मात्रै आफूहरू एमालेमा फर्किएको बताएका छन्। 'एकता बचाउन खोजेकै हो', उनले भनेका छन्, 'एकीकरणका पक्षधरको साझा पार्टी, एकताको विरासत बोकेको पार्टीका रुपमा नेकपा एमालेलाई नयाँ स्वरुप र गतिसहित अघि बढाउने निष्कर्षमा पुगेका हौँ।'

एकता महाधिवेशन नगर्दै खारेजीमा परेको नेकपाका प्रथम अध्यक्ष ओलीले आफ्नै पहलमा एकता भएको पनि बताएका छन्। उनले आगामी दिनमा पनि एकताका लागि सक्दो प्रयास गरिरहने उल्लेख गरेका छन्। 

  • प्रकाशित मिति : जेठ २३, २०७८ आइतबार २२:४९:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया