ओलीको घोषणाले एक होला एमाले? यसो भन्छन् नेपाल पक्षीय नेता
वेदुरामको टिप्पणी : ओलीको घोषणाले एकता सम्भावना सकियो

नेकपा एमालेमा देखिएको विवाद सुल्झाउन पटक पटक भएका वार्ता विफल भए। गत जेठ २ गते कार्यदल बनाएर गरिएको वार्ताबाट पनि कुरो मिल्न सकेन। 

फागुन २३ गते सर्वोच्च अदालतले एमालेमै फर्काइदिएका केपी शर्मा ओली तथा माधवकुमार नेपाल र झलनाथ खनालबीचको द्वन्द्वका कारण एमाले फुटको डिलमा पुगिसकेको छ। 

पटक पटकको प्रयासपछि कुरा नमिल्दा दुवै पक्ष एक अर्कालाई निषेध गर्दै अघि बढिरहे। ओली र नेपालबीच वैशाख अन्तिममा भएको वार्ताले सकारात्मक सन्देश त दियो तर एमालेजनको खुसी लामो समय टिक्न सकेन। 

एकअर्कालाई सिद्धयाउने योजनासहित अघि बढिरहेका बेला आइतबार दिउँसो एमालेको नेपाल पक्षले एक वक्तव्य जारी गर्यो। जसको आशय थियो–अब ओलीसँग मिल्ने सम्भावना क्षण भयो।  

ओली सच्चिने सम्भावना नभएकाले आफ्नो तरिकाले अघि बढ्नुपर्छ। नेपाल पक्षले १० बुँदामा आफ्नो धारणा राख्दै ओलीले आत्मालोचना गर्दै सत्ताबाट बाहिरिएमा मात्रै  सहमति हुने सर्त राख्यो।  

पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने माग त छँदै थियो। केन्द्रीय सदस्य तथा आफ्नो पक्षका जिल्ला पदाधिकारीसँगको छलफलपछि नेपाल पक्षले निष्कर्ष सार्वजनिक गरेको थियो।  



नेपाल पक्षको यस्तो निष्कर्षपछि आइतबार साँझ पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एकताका लागि ६ बुँदे सशर्त प्रस्ताव अघि सारे। २३ फागुनमा सर्वोच्च अदालतले नेकपा विघटन गर्दै एमाले, माओवादीलाई आफ्ना पार्टीमा फर्किन भन्यो।

त्यसपछि  पार्टीभित्रै रहेर संघर्ष गर्ने निर्णय गरेको नेपाल–खनाल पक्षलाई कुनै मतलब नगरी ओली एकपक्षीय ढंगले अघि बढिरहे। २८ फागुनमा बालुवाटारमा आफू पक्षीय केन्द्रीय समितिको बैठक राखेर ओलीले गरेका निर्णयले विवाद झाँगिन पुगेको थियो।



त्यसपछि पार्टीमा चलेको कारबाही श्रृङ्खला, एक पक्षले अर्को पक्षलाई लगाएको आरोपको श्रृङ्खला, केही मध्यमार्गी नेताहरुले गरेको एकता प्रयासको श्रृङ्खला र अन्ततः नेपाल समूह नयाँ दल खोल्ने अवस्थासम्म पुग्दा ओली केही नरम भएर एकताका ६ बुँदे प्रस्ताव अघि सारेका छन्।  

यसअघि नेपाल समूहका केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यसँग नेता नेपालले आगामी रणनीतिको बारेमा छलफल गरेका थिए। बिहीबार र शुक्रबार केन्द्रीय सदस्य तथा शनिबार स्थायी कमिटी सदस्यसँग छलफल गरेर बृहत् कम्युनिस्ट पार्टी निर्माणको अवधारणासहित नयाँ पार्टी गठनको गृहकार्यमा लाग्ने तयारी भएको थियो।  

कसरी भत्किएको थियो एकता प्रयास? 

विवाद र आरोप प्रत्यारोपकै सिलसिलामा देखिएका दृष्टान्तले ओली आफू असजिलोमा परेपछि वार्ताका कार्डहरू फाल्ने गरेका छन्। पछिल्लो पटक २ जेठमा बनेको एकता कार्यदल पनि त्यसकै एउटा स्वरुप थियो। होटल मेरियटमा ८ र १० वैशाखमा भएका वार्ता सफल नभएपछि चपलीहाइटस्थित व्यापारी रामेश्वर थापाको घरमा ३० बैशाखमा नेपाल–ओलीबीच भेट भयो।  

विपक्षी गठबन्धनसँग मिलेर ओलीलाई अपदस्थ गर्ने नेपाल समूहको रणनीति बुझ्नेबित्तिकै ओलीले भेट गरेका थिए। बागमती प्रदेशमा भएको राष्ट्रियसभा सदस्य उपनिर्वाचन र ओलीले दोस्रोपटक गरेको प्रतिनिधिसभा विघटनपछि भने एमाले एक हुने सम्भावना क्षण भएको थियो।  

शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने  प्रस्तावमा साथ दिँदै सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा नेपाल समूहका सांसदहरुले हस्ताक्षर गरे। त्यसपछि ओलीले नेता नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका ११ जनालाई पार्टी सदस्यता नै नरहने गरी कारबाही गरे।  

एकता प्रयास गर्न बनेको कार्यदलका संयोजक रावललाई नै कारबाही गरेपछि स्वतः कार्यदल भंग भयो। कार्यदल भंग भएपछि पनि दोस्रो तहका केही नेताहरु भने एकताको प्रयासस्वरुप विभिन्न भेटघाट र छलफल भने अगाडि बढाइरहेका थिए।  

बिहीबार र शुक्रबार भएको केन्द्रीय सदस्यसँगको छलफलमा वार्तामा सहभागी सदस्यले ओली सच्चिएर आउने सम्भावना न्यून भएको ब्रिफिङ गरे। केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्यको धारणा सुनिसकेपछि अन्ततः नेपाल बृहत् पार्टी पुनर्गठनको निचोडमा पुगे।  

नेपाल समूह निचोडमा पुगेकै साँझ ओलीले आफ्नो सर्त सहित एकताका लागि आह्वान गरेपछि फेरि नयाँ खालको तरंग सिर्जना भएको छ।  

ओलीको यस्तो आव्हानपछि नेपाल–खनाल पक्षका नेताहरुको मिश्रित प्रतिक्रिया आएको छ। केहीले यसलाई सकारात्मक प्रयास भनेका भनेका छन् भने अधिकांशले यो ओलीको अर्काे चाल मात्रै भएको टिप्पणी गरेका छन्।  

ओलीको घोषणाले एकता भंग भयो : वेदुराम भुसाल

एकता उहाँ(ओली)ले भंग गर्नुभयो। हिजोको घोषणा भनेको उहाँको जेठ २ गते नफर्कने घोषणा हो। किनभने त्यहाँ उहाँले जेठ २ मा फर्कने कुरै गर्नु भएन्। उहाँले के भन्नुभयो भने नेकपा हुँदाको केन्द्रीय समितिमा रहेका एकता पक्षधर साथीहरुलाई लिएर त्यसको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी क्रियाशिल बनाउने भन्नुभयो। त्यो भनेको जेठ २ मा नफर्कने भन्नुभयो।

दोस्रो चाँही स्थानीय कमिटी र जनसंगठनका हकमा पनि ‘मूलभूत’ रुपमा जेठ ३ पूर्व भन्नुभयो। त्यो पनि सम्पूर्ण रुपमा नफर्कने कुरा भयो। तेस्रो उहाँले सर्वाेच्च अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन भन्नुभयो। त्यो त झन सम्भव नै छैन। हामीले राष्ट्रको हितलाई हेरेर हस्ताक्षरको निर्णय गरेका हौँ। प्रतिनिधिसभालाई बचाउन, संविधानको रक्षा गर्न गरेका हौँ।  

एकता गर्नै चाहेको हो भने उहाँ प्रतिनिधिसभा भंगको कुरालाई किन सदर गर्न खोज्दै हुनुहुन्छ? प्रतिनिधिसभालाई ब्यूँताएर गतिशिल बनाउन पर्यो नि एकता गरेर जाने भएपछि त। हामीले एकता गर्दाबित्तिकै उहाँले महन्थहरुलाई साथ लिनुभएको छ। बहुमत पुग्छ सरकार चल्छ।  किन अहिले नै निर्वाचनमा जानुपर्यो? त्यो कुरा किन उठाउनु भएन? त्यसकारण उहाँका यसअघिका सबै गल्तीलाई सदर गर्ने भन्दा अरु केही सोच्नुभएको छैन।

पार्टीको विषयमा पनि सोच्नुभएको छैन। राष्ट्रको विषयमा पनि सोच्नुभएको छैन्। अर्काे कुरा उहाँले कारबाही बारेमा केही बोल्नु भएको छैन। उहाँलाई पनि नेतृत्व गरेका वरिष्ठ नेताहरुलाई कारबाही गरेर पार्टीबाट निकालेँ भन्नु भएको छ। उहाँहरुलाई गरेको कारबाही के हुने भन्ने कुरा बोल्नु भएको छैन। अब भोलि गरिने छैन भन्नुभयो।

गरिसकेको कारबाही त गरिसकेँ सिद्धियो भन्नुभयो उहाँले। भनेपछि त कहाँ एकता होला त? ओलीले लेखेको त्यो भाषा बुझ्नेले अलमलिनु पर्ने कुरै छैन। म गर्दिनँ, मैले गर्ने यति हो आए आउ नआए नआउ भनेर उहाँले स्पष्ट भाषामा भन्नुभयो।  

यस वक्तव्यमा उहाँका दुई नियत देखिन्छन्।  

–एउटा चाहिँ मैले एकताको प्रयास गरेको थिएँ, आएनन् भनेर गाली गर्न मात्रै हो।  

–अर्को चाहिँ कथंकदाचित् आइहाले भने प्रतिनिधिसभाको विघटनलाई सदर गराउन सक्छु भन्ने उद्देश्य हो।  

अरु चाहिँ यसो गर्दा केही साथीहरुलाई नेपाल समूहबाट तान्न सकिएला कि भन्ने पनि होला। समग्रमा एकता चाहिँ चाहनुभएन। केही साथीहरुलाई तान्ने प्रयास हो। केही जान चाहेका साथीहरुलाई पनि अँ त्यति भनेपछि त जान सकिन्छ नि। मानेकै त हो ओलीले भनेर तर्क गर्नका लागि सजिलो बनाउनु भएको हो।  

नयाँ पार्टी नै विकल्प : राजेन्द्र राई

नेपाल समूहका अर्का प्रभावशाली नेता राजेन्द्र राई ओलीले ल्याएका विकल्पमाथि छलफल नै नहुने बताउँछन्। एकताका लागि ल्याएको प्रस्ताव नभएकाले अब नयाँ पार्टी दर्ता प्रक्रियामा जाने उनले जानकारी दिए।  

केपी ओलीले पार्टी एकता गर्न लागेका होइनन्। पुरानो कुराहरु मिल्ती हुँदैन। जेठ २ र ३ मा धेरै ठूलो अन्तर छ। जेठ २ भन्दा तलमाथि भन्ने त कुरा नै छैन। अदालतको हस्ताक्षर फिर्ता, मूलभूत विषय लगायतका धेरै कुराहरूले एकता गर्न खोजिएको भन्ने देखिँदैन।  

पार्टीभित्र यो विषयमा छलफल नै हुँदैन। ओलीले अघि सारेको त्यो बुँदामा एकता हुँदैन। अब नयाँ पार्टी दर्ता गरेर अघि जान्छ। त्यसमा कुनै कन्फ्युजन छैन। तर, अदालतको फैसला लगायतका कुराले नयाँ पार्टी दर्ता प्रोसेसमा नगएको हो। नत्र नयाँ पार्टी दर्तामा जान्छ।  

ओलीको अपिलमा कन्फ्युज : सोमप्रसाद पाण्डे 

नेपाल समूहका अर्का नेता सोमप्रसाद पाण्डे ओलीले गरेको एकता अपिलमा प्रयोग भएका शब्दहरूले कन्फ्युज गराएको बताउँछन्।  

धेरै कुराहरु भित्र आएका छन्। शब्द चयन पनि त्यही खालको देखिन्छन्। कारबाही फिर्ता पनि भएको छैन। वार्ता गर्ने सल्लाह गर्ने हो भने कारबाही पनि फिर्ता हुनुपर्यो नि। माधव नेपाल, झलनाथ खनाल, भीम रावल लगायतका कमरेडहरूको कारबाही फिर्ता हुनुपर्यो।  

मूलभूत भन्ने शब्द छ, त्यो के गर्ने भनेको हो? स्पष्टसँग जेठ २ मा जाने पदाधिकारी र स्थायी कमिटीको ब्यूँताउने लगायत कुराहरु अपिलमा आएको छैन। ओपन आइदिएको भए हुन्थ्यो तर आएन। एकताको प्रयासस्वरुप आएको भन्नका लागि केही छलफल हुनुपर्छ। आजको बैठकपछि आधिकारिक धारणा आउँछ। अहिले केही भन्न सकिने अवस्था छैन।

  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १३:४६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया