आत्मसमर्पण गरे भन्नेलाई घनश्याम भुसालको जवाफ : धेरै सपेराहरु सर्पबाटै टोकिएका छन्

नेकपा एमाले माधव नेपाल समूहका प्रभावशाली नेता घनश्याम भुसालले आफूहरुविरुद्ध पार्टीभित्रैबाट अनर्गल प्रचार भइरहेको भन्दै गुनासो गरेका छन्। 

नेता भुसालले आफूहरुले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणका रुपमा व्याख्या गरेको बताए। उनले विवादको कुरा गर्दा विभाजनको रुपमा व्याख्या गर्ने एउटा समूह नै पार्टीमा तयार भएको दाबी गरेका छन्।

‘फेरि हामीविरुद्ध अनर्गल प्रचार शुरु भएको छ', उनले भनेका छन्, 'हामीले एकताको कुरा गर्दा त्यसलाई आत्मसमर्पणको रुपमा व्याख्या गर्ने र विवादको कुरा गर्दा विभाजनका रुपमा व्याख्या गर्ने एउटा समूह नै तयार भएको छ।’

नेता भुसालले नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह खडा भएको पनि आशंका गरेका छन्। ‘पञ्चायतकालमा राजनीतिलाई विकृत बनाउने सत्ता संरक्षित समूह मण्डलेको रुपमा स्थापित भएको थियो', उनले भनेका छन्, 'पञ्चायत धरासायी हुनुमा त्यस समूहको कम्ती योगदान थिएन।'

उनले पञ्चहरू नै त्यस्ता समूहबाट आजित भएर संसदमा बोल्न बाध्य भएको स्मरण गरे। 'त्यसबेलाका कतिपय पञ्चहरू नै त्यस समूहसँग आजित भएर संसदमै ‘सुकुलगुण्डा’ भनेर विरोध गरेको सम्झिन्छु', उनले भने, 'आज नेकपा एमालेको राजनीतिलाई विकृत बनाउन त्यस्तै समूह त खडा भएको छैन? अनि परिणाम पनि त्यस्तै हुने त होइन? धेरैजसो सपेराहरु सर्पबाटै टोकिएका छन्।’

माधव समूहका नेता भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डेहरू कुनै पनि हालतमा एमालेको एकता बचाइराख्ने अभियानमा छन्। उनीहरुमाथि पछिल्लो समय माधव पक्षीय कार्यकर्ताहरूले नै गालीगलौजसहित आक्रमण प्रयास गरिरहेका छन्।





  • प्रकाशित मिति : जेठ २४, २०७८ साेमबार १६:३३:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया