नेपाल राष्ट्र बैंकले विदेशी लगानी भएका कम्पनी र उद्योगले सम्भाव्यता अध्ययन तथा पूर्वसञ्चालन खर्च विदेशबाट ल्याउँदा अनुमति नचाहिने व्यवस्था गरेको छ। राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ मंगलबार जारी गर्दै लगानीकर्तालाई खुकुलो व्यवस्था गरिदिएको हो।
राष्ट्र बैंकले सार्वजनिक गरेको विनियमावलीको दोस्रो परिच्छेदमा भनिएको छ, ‘विदेशी लगानीकर्ताले विदेशी लगानी स्वीकृति गर्ने निकायबाट विदेशी लगानीको स्वीकृति प्राप्त गरेपछि त्यसबापतको विदेशी मुद्रा नेपाल पठाउन वा ल्याउन राष्ट्र बैंकबाट पूर्वस्वीकृति लिनु अनिवार्य हुने छैन।’
तर राष्ट्र बैंकले विदेशबाट रकम ल्याउँदा बैंकिङ प्रणाली नै उपयोग गर्नुपर्ने नियम पनि ल्याएको छ। नयाँ व्यवस्था अनुसार रकम भित्र्याएको ६ महिना बितेपछि पनि राष्ट्र बैंकलाई लिखित जानकारी दिनुपर्ने छ।
'यो विनियमावली लागू हुनुअघि भित्रिएको विदेशी लगानी बापतको रकम वा प्रचलित व्यवस्था बमोजिम भएको विदेशी लगानी लेखांकन नभइसकेको हकमा त्यस्तो रकम-लगानी लेखांकनको लागि पनि विनियमावली लागु भएको मितिबाट बढीमा एक वर्षभित्र निवेदन पेस गर्नुपर्ने छ', राष्ट्र बैंकले अगाडि भनेको छ।
गभर्नर महाप्रसाद अधिकारीले लगानी बोर्डमा प्रमुख कार्यकारीका रूपमा लिएको अनुभवलाई विनियमावलीमा प्रयोग गरेका छन्।
राष्ट्र बैंकले विदेशी ऋण लिन भने स्वीकृति लिनु पर्ने नियम ल्याएको छ। निवेदन परेको १५ दिनभित्र स्वीकृति दिइने जनाइएको छ। त्यसका लागि ऋण लेखाङ्कन ६ महिनाभित्र गरिसक्नुपर्ने छ।
विनियमावली
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।