एमाले सुदूरपश्चिम संसदीय दलले ह्विप उल्लंघन ७ जना सांसदलाई सोध्यो २४ घण्टे स्पष्टीकरण

नेकपा एमाले सुदूरपश्चिम संसदीय दलले आफ्ना ७ सांसदलाई स्पष्टीकरण सोधेको छ । मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत दिन जारी गरिएको ह्विप उल्लंघन गरेको भन्दै संसदीय दलका नेता प्रकाशबहादुर शाहले २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।

ह्विप उल्लंघन गर्नेहरुमा अध्यक्ष केपी शर्मा ओली पक्षका ७ प्रदेश सभा सदस्यहरु हुन् । प्रदेश सभा सदस्यहरु बलदेव रेग्मी, पठानसिंह बोहरा, लिलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा र नेपालु चौधरी छन् । 

बुधबार २६ गते ५ बजेचित्र दलको कार्यालयमा स्पष्टीकरण दिनु भनिएको छ । स्पष्टीकरण नदिए वा चित्तबुझ्दो नभए दलको विधानअनुसार कारबाही गर्ने चेतावनी समेत स्पष्टीकरण पत्रमा दिइएको छ । एमालेका अध्यक्ष ओली पक्षका नेताहरु मात्र रहेको स्थायी कमिटीले माओवादी केन्द्र नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएको थियो ।

तर, माधवकुमार नेपाल समूहको बहुमत रहेको संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गर्‍यो । तीन मन्त्रीले राजीनामा दिए लगतै चार मन्त्री र तीन राज्यमन्त्री लिएर नेपाल समूह प्रदेश सरकारमा कायमै छ । मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेपछि एमाले संसदीय दलको बैठक मंगलबार बसेको थियो । बैठकले भट्टको पक्षमा मत दिने निर्णय गरेको थियो ।

बैठकमा ओली पक्षका सांसदहरुले विश्वासको मत दिन नहुने भन्दै फरक मत राख्न चाहे पनि बहुमत पक्षले दिएको थिएन । एमाले माधव पक्षको साथले गर्दा माओवादी नेतृत्वको सरकार जोगिएको छ । सभामुख बाहेक ५१ जना प्रदेश सदस्य रहेको प्रदेशमा मुख्यमन्त्रीको पक्षमा ३० मत परेको थियो । विपक्षमा ९ मत परेका थिए । विपक्षमा मत गर्ने ओली समूहका ७ र जनता समाजवादी पार्टीका २ जना रहेको थिए । काँग्रेसले निर्वाचनमा भाग लिएन ।





  • प्रकाशित मिति : जेठ २५, २०७८ मंगलबार १८:४८:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया