हेटौंडा उपमहानगरले रोक्यो कोरोना विरुद्धको खोप अभियान
फाइल तस्बिर

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा आजदेखि लगाइने भनिएको कोभिड १९ विरुद्धको खोप ‘भेरोसेल’ रोकिएको छ । हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले  खोप लगाउने विषयमा अन्यौल भएको कारण खोप रोकिएको बताउँदै पत्रकार सम्मेलन गरेर मात्रै खोप लगाउने बताए । 

आजदेखि सुरु हुने भनिएको खोप अभियान अन्तिम समयमा रोकिएको हेटौंडा उपहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक तथा कोभिड फोकल पर्सन भोला चौलागाईंले जानकारी दिए । उनले अर्को सूचना जारी नभएसम्मको लागि खोप अभियान स्थगित भएको जानकारी दिए । 

खोप अभियानका विषयमा हेटौंडा उपमहानगरपालिकाका वडाध्यक्षहरु, उपमेययरले समेत अन्योलमा रहेको बताए । हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख रमन झाले खोप प्राविधिक कारणले रोकिएको भन्दै अहिले बैठक जारी रहेको बताए । 

खोप लगाउनका लागि हेटौंडाका १९ वटै वडामा टोली परिचालन भइसकेको थियो । हेटौंडाका दुई वटा वडामा खोपसहित गाडीसमेत पठाइएको थियो । खोप केन्द्रमा आएका उक्त उमेर समूहका मानिसहरु केही फर्किसकेका छन् भने केही कुरेर बसिरहेका छन् । 

६ हजार ५ सय डोज भेरोसेल
मकवानपुरको लागि कोरोना भाइरसविरुद्ध ६ हजार ५ सय डोज भेरोसेल खोप आएको छ । चीनबाट आएको कोरोना भाइरस विरुद्धको भेरोसेल खोप स्वास्थ्य मन्त्रालयबाट मकवानपुरको लागि ६ हजार ५ सय डोज आएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । 

मकवानपुरको लागि आएको खोप जिल्ला भित्रका हेटौंडाबाहेक अन्य स्थानीय तहमा ६२ वर्ष देखि ६४ वर्षसम्म उमेर समूहकालाई पहिलो डोज लगाउने सुरु भएको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी एवं जनस्वास्थ्य निरीक्षक लक्ष्मण घिमिरेले जानकारी दिए । 



घिमिरेले भने, ‘जिल्लाका १० वटै स्थानीय तहले आजदेखि कोरोनाविरुद्ध ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहकालाई भेरोसेल खोप लगाउने भनेर खोप लगिसकेका छन्, लगाउने जिम्मा स्थानीय तहको हो, अन्य विषय हामीलाई थाहा हुँदैन ।’ 

बागमती गाउँपालिकाले मंगलबार अर्थात हिजोदेखि खोप लगाउन सुरु गरिसकेको छ । घिमिरेका अनुसार जिल्लाको १० वटै स्थानीय तहलाई भेरोसेल खोपको पहिलो डोज बाँडिएको छ । जसमा सबैभन्दा बढी हेटौंडा उपमहानगरपालिकाले २ हजार ७ सय डोज खोप प्राप्त गरेको छ । 



त्यसैगरि थाहा नगरपालिकाले ६८५ डोज, मनहरी गाउँपालिकाले ५३९, बकैया गाउँपालिकाले ४८६ डोज, बागमती गाउँपालिकाले ४३४ डोज, मकवानपुरगढी गाउँपालिकाले ३९३ डोज, भीमफेदी गाउँपालिकाले ३९३ डोज, कैलाश गाउँपालिकाले ३७८ डोज, राक्सिराङ गाउँपालिकाले २०० डोज, इन्द्रसरोबर गाउँपालिकाले १९२ डोज खोप प्राप्त गरेका छन् । 

२१ हजारले लगाए कोभिसिल्डको पहिलो डोज 
यसअघि जिल्लामा भारतबाट आएको कोभिसिल्डको पहिलो डोज २१ हजार ४०३ जनाले र ६ हजार २४१ जनाले दोस्रो डोज खोप लगाएका छन् । हाल जिल्लामा  कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहनेको संख्या १५ हजार १६२ रहेको छ । 

भारतमा कोरोना संक्रमण बढेपछि भारत सरकारले आफ्नै देशका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर नेपाल लगायतका देशलाई खोप वितरणमा रोक लगाएको कारण दोस्रो डोज आउन नसकेको हो । खोपको लागि पहल भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १०:५८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया