कांग्रेस सरकारमा जाने कुरा अफवाह मात्र: रामसरोज यादव
फरकधार / २६ जेठ, २०७८

प्रदेश-२ सरकारमा नेपाली कांग्रेस सहभागी हुने कुरा अफवाह मात्र रहेको नेपाली कांग्रेस प्रदेश-२ संसदीय दलका नेता रामसरोज यादवले बताएका छन् । 

हिजो बसेको प्रदेश मन्त्रिपरिषद् बैठकमा नेपाली कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराई मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरिएको समाचार बाहिरिएको प्रति कुनै सत्यता नरहेको उनले प्रष्ट पारेका हुन्। 

यसअघि सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सामेल गराउन मन्त्रालय टुक्राउने तयारी गरिएको जानकारी दिएका थिए । 

यता नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले भने प्रदेश सरकारमा सहभागी हुने विषयमा कुनै प्रकारको सहमति नभएको दावी गरेका छन् । 

नेपाली कांग्रेस संसदीय दलका नेता यादवले भने, ‘हामीसँग कुन मन्त्रालय दिने वा कतिवटा मन्त्रालय दिने विषयमा अहिलेसम्म कुनै सहमति भएको छैन ।’ उनले मन्त्रालय टुक्राउने विषयमा छलफल भएको कुरा भने स्वीकार गरेका छन्। 

माओवादी केन्द्र प्रदेश-२ संसदीय दलका नेता भरतप्रसाद साहले समेत सरकारमा सहभागी हुने विषयमा सरकारसँग अहिलेसम्म कुनै सहमति नभएको जानकारी दिए । उनले अहिले सरकारमा सहभागी हुनका लागि सैद्धान्तिक छलफल मात्रै अगाडि बढाइएको तर सहभागी नै भइहाल्ने जस्तो तत्काल कुनै सम्भावना नरहेको बताए । 

उनले भने,'मन्त्रालयको विषयमा सहमति भए हामी आजको आजै सरकारमा जान तयार छौँ । तर अहिले त्यस्तो कुनै छलफल भएको छैन ।’

यसअघि प्रदेश सरकारले नेपाली कांग्रेसलाई ३ र नेकपा माओवादी केन्द्रलाई २ मन्त्रालयको जिम्मेवारी दिई सरकारमा सहभागी गराउन लागिएको र मन्त्रीहरुको आजै सपथ ग्रहण समेत हुने जस्ता समाचारहरू बाहिरिएका थिए ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १३:२०:२३,   अन्तिम अपडेट : जेठ २६, २०७८ बुधबार १३:२५:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया