सुपारी तस्करी : वाणिज्य र कृषिका कर्मचारीसँग सेटिङ, योजनाकार दीपक पोखरेल
फरकधार / २६ जेठ, २०७८

नेपालकै उत्पादनले पुगे पनि तेस्रो मुलुकबाट नेपाल सुपारी ल्याएर भारत तस्करी गर्नेहरुले वाणिज्य विभाग र कृषि मन्त्रालयका अधिकारीहरुसँग सेटिङ मिलाएका छन् । यसलाई नेतृत्व गरेका छन्, दीपक पोखरेलले । दीपक पोखरेलले कसरी यो तस्करीको सेटिङ गरेका छन् भन्नेबारे फरकधारमा प्रकाशित यो समाचार पढ्नुहोस् :

​दीपक पोखरेल : सुपारी तस्करीका नाइके

यसअघि नेपालमा बाहिरबाट सुपारी ल्याउनु पर्ने वा नपर्ने विषयमा कृषि मन्त्रालयले एक कार्यदल गठन गरेको थियो । २०७१ सालमा बनेको यो कार्यदलले आफ्नो प्रतिवेदनमा नेपालमा वार्षिक ६ हजार २ सय मेट्रिक टन सुपारी आवश्यक रहेको उल्लेख गरेको छ । पाँच वर्षमा यसको माग दोब्बर बढ्दा पनि अहिले नेपालमा १२ हजार मेट्रिक टन सुपारी आवश्यक पर्ने अनुमान गर्न सकिन्छ । तर, नेपालमा केही सुपारी तस्करी र व्यापारीको मिलोमतोमा अहिले हजारौँ मेट्रिक टन सुपारी विदेशबाट आउन थालेको छ । यसरी तेस्रो मुलुकबाट ल्याइएको सुपारी भारत तस्कर गरेर पठाइने गरेको पाइन्छ ।

२०७१ सालकै अर्को तथ्यांक के छ भने नेपालमा वार्षिक नौ हजार सात सय ७० मेट्रिक टन सुपारी उत्पादन हुन्छ । सुपारी उत्पादन पनि वर्षेनी बढिरहेको छ ।

तर, नेपालमा आफ्नै उत्पादनले माग पूर्ति हुुने भए पनि अन्य देशबाट सुपारी ल्याउन दिनु प्रष्ट रुपमा आर्थिक चलखेल भएको निष्कर्ष यस विषयमा काम गरिरहेका अधिकारीहरु बताउँछन् । नेपाल सुपारी खेती विकास संस्थाले प्रकाशन गरेको सुपारी संसार नामको स्मारिकाका सम्पादक तथा उपभोक्ता अधिकारवादी कृष्ण मार्सेली आर्थिक चलखेलकै कारण नेपालमा विदेशबाट सुपारी ल्याइएको बताउँछन् ।

त्यस्तै, सुपारी प्रशोधन गरेर नेपाली उद्योगलाई बेच्दै आएका व्यवसायी सुरेश पोखरेल पनि नेपालमा अहिले ६–७ गुट्खा उद्योग भएको र अन्य प्रयोजनका लागि पनि नेपालकै सुपारी उत्पादनले पुग्ने बताउँछन् ।

‘नेपालमा उत्पादन हुने सुपारी ६० प्रतिशतले नै नेपाली बजारको माग पूरा गर्छ,’ उनले भने, ‘तर, यस्तो हुँदाहुँदै नेपालमा अन्य देशबाट सुपारी ल्याउन दिनु भनेको ठूलो आर्थिक चलखेल हो ।’

उनले अहिले वाणिज्य विभागले नेपालमा २५ हजार मेट्रिक टन सुपारी आवश्यक भएको भन्नु पनि यही सेटिङ र तस्करीका लागि सहयोग पुर्याउने उद्देश्य भएको बताए । 

उनीमात्र होइन, सुपारी जोनका अध्यक्ष निलकण्ठ उप्रेती पनि तेस्रो देशबाट सुपारी आयात अनुमति दिनु नेपाली किसानलाई मासेर तस्करहरुलाई साथ दिनु भएको बताउँछन् ।

५ वर्ष यता आयातमा रोक लगाइएको सुपारी तस्करी यही वर्ष फेरि आयात गर्न अनुमति दिनु र कोटा निर्धारण गर्नु सुपारी तस्करी र सरकारी अधिकारीको मिलेमतो भएको  उनको ठहर छ । 

‘सुपारी आयात र भारतमा निर्यात गर्ने विषयमा ठूलो चलखेल छ, हामीले बारम्बार यसलाई सम्बन्धित निकायमा भनिरहेका छौँ, तर कतैबाट पनि यसको सुनुवाइ भएको छैन,’ उनले बताए ।

सुपारी आयातमा अर्बौंको खेल  

वाणिज्य विभागले तेस्रो मुलुकबाट नेपाल ल्याउन अनुमति दिएको २५ हजार मेट्रिक टन नेपाल आएर भारत पुग्दा अर्बौ रुपैयाँ फाइदा हुने देखिन्छ । इन्डोनेसियामा एक मेट्रिक टन सुपारीलाई औसतमा १८ सय डलर पर्छ । यसको  भन्सार एक हजार ५० डलर तिर्नु पर्छ । 

इन्डोनेसियाबाट नेपालसम्म आउँदा लाग्ने ढुवानी खर्च एक मेट्रिक टनको करिब एक लाख रुपैयाँ पर्न आउने व्यवसायीहरू बताउँछन् । यसरी हेर्दा नेपालमा तेस्रो मुलुकबाट आएको एक मेट्रिक टन सुपारीको नेपाली मूल्य चार लाख रुपैयाँको हाराहारी पर्न आउँछ । यो सुपारी भारतमा बेच्दा एक किलोमा कम्तिमा पनि १ सय ५० रुपैयाँ फाइदा हुने गरेको व्यापारीहरू नै बताउँछन् ।

नेपाली बजारमा ६० रुपैयाँसम्ममा बिक्री भइरहेको काँचो सुपारी भारतमा एक सय २० भारतीय रुपैयाँमा बिक्री भइरहेको छ । यही कारण पनि दीपक पोखरेल र उनीनिकट केही व्यापारीले वर्षेनी नेपालबाट भारत सुपारी तस्कर गर्ने गरेका छन् ।

सेटिङमै अनुमति  

२०७७ साल चैत्र नौ गतेको राजपत्रको सूचनामा केराउ, छोकडा, सुपारी र नधुल्याएको मरिच पैठारीमा लगाइएको बन्देज हटाइएको उल्लेख छ । 

राजपत्रमा आर्थिक वर्ष २०७७/७८ का लागि परिमाण तोकि परिमाणात्मक बन्देज लगाइएका सुपारी लगायतका सामाग्री आयात गर्न खुल्ला गरिएको थियो । 

यही राजपत्रको आधारमा बाणिज्य विभागले कृषी मन्त्रालयको सिफारीसमा सुपारीका लागि २५ हजार मेट्रिक टन परिमाण आयात गर्न कोटा खोलेको थियो । 

कोटा खुलेपछि सुपारी आयात गर्न इच्छा देखाउँदै ८५ कम्पनीले निवेदन दिएका थिए । 

तर, यसको अनुमति दिइयो २५ कम्पनीलाई । स्रोतका अनुसार सेटिङ मिलाएर यी २५ कम्पनीले सुपारी आयात र निर्यातका लागि काम गरिरहेका छन् ।

‘कम्पनी नयाँ खडा गरेका होलान् तर केही तस्करहरूले नै यसमा आधिपत्य जमाइसकेका छन्,’ विराटनगरका एक सुपारी व्यवसायीले फरकधारसँग बताए ।

  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १५:२२:५५,   अन्तिम अपडेट : जेठ २६, २०७८ बुधबार १९:१८:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया