बागमतीको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइने

बागमती प्रदेश सभाले भोलि बिहीबार ३ बजेका लागि बैठक बोलाएको छ । प्रदेश सभामा भोलि सरकारको तर्फबाट  नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । भोलि प्रस्तुत हुने नीति तथा कार्यक्रमका लागि मंगलबार साँझ मन्त्रीपरिषद्को बैठकले स्वीकृति प्रदान गरेको थियो । आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । 

केन्द्रको सिको गर्दै लोकप्रिय नीति तथा कार्यक्रम  

प्रदेश सरकारले ल्याउने नीति तथा कार्यक्रममा स्वास्थ्य, कृषि र शिक्षा क्षेत्रमा उच्च प्राथमिकतामा परेको मुख्यमन्त्री कार्यालयले जानकारी दिएको छ । कार्यालयका एक कर्मचारीका अनुसार केन्द्रको सिको गर्दै बागमती प्रदेशमा पनि लोकप्रिय बजेट ल्याउने तयारी गरिएको छ । 

प्रदेशका सबै स्थानीय तहमा स्वास्थ्य बिमा, सामाजिक सुरक्षा भत्तामा हेरफेर, सबै विद्यालयमा विद्यालय नर्स, एक वडा एक स्वास्थ्य केन्द्र,  मकवानपुरको सिम भञ्ज्याङ सहित प्रदेशको १३ वटै जिल्लामा नेपाली कागज उत्पादन गर्ने उद्योग, विद्यार्थीको लागि छात्रवृत्ति अनुदान जस्ता विषयहरूले उच्च प्राथमिकतामा स्थान बनाएको उक्त कर्मचारीले जानकारी दिए । 

प्रदेश सरकारका प्रमुख सचिव डा. मुकुन्द पौडेलले भने सरकारले लोकप्रियताको लागि भन्दा पनि विषयगत र तथ्यपरक बजेट ल्याउनका लागि त्यही खालको नीति तथा कार्यक्रमको निर्माण गरेको बताए । उनले भने,‘वर्षको नीति तथा कार्यक्रममा कोरोना नियन्त्रणका लागि आवश्यक स्वास्थ्यका कुरा प्राथमिकतामा रहेका छन् । अस्पताल स्तरोन्नति देखि पुराना अधुरा योजना पुरा गर्न नीति तथा कार्यक्रम केन्द्रित भएको छ । सरकारले तथ्यगत आधारमा नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।’

प्रदेश सरकार प्रवक्ता समेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले भने भोलि प्रस्तुत भएपछि मात्रै जानकारी दिने भन्दै स्वास्थ्य क्षेत्र स्वाभाविक रूपमा प्राथमिकतामा परेको बताए । उनले प्रदेशका सबै जनता खुशी हुने गरी प्रदेश सरकारले काम गरेको भन्दै सोही अनुसारको नीति तथा कार्यक्रम र बजेट ल्याउने दाबी गरे ।   
 





  • प्रकाशित मिति : जेठ २६, २०७८ बुधबार १८:३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया