विचार . प्रहरीमाथिकाे सङ्कट
आइजिपी खनालले गुमाएको साख

‘जहाँ सर्वेन्द्र, त्यहाँ सफलता’ । कुनै समय यो वाक्यांश प्रहरी संगठनभित्र मात्र होइन, पब्लिकमा पनि निकै चर्चित बन्यो । यही वाक्यांशका ‘नायक’ सर्वेन्द्र खनाल पछिल्लो समय असफलताको भूमरीमा भासिएको अनुमान गर्न सकिन्छ ।

२९ माघ २०४६ मा प्रहरी निरीक्षकबाट संगठनमा प्रवेश गरेका खनाल पछिल्लो एक दशक सधैं ‘लाइमलाइट’मा रहिरहे । खनालमाथिको त्यो प्रकाश सबैले वाहवाह गर्ने खालको थियो ।

किनकि बदनामीको शिखरतिर यात्रा गरिरहेको संगठनमै रहेर उनले सबैलाई चित्तबुझ्दा काम गरेका थिए । अपराध अनुसन्धान महाशाखामा प्रमुख हुँदा उनले गरेका कामको लामो फेहरिस्त बन्न सक्छ । फुटबलको म्याच फिक्सिङका संलग्न खेलाडीहरुको गिरफ्तारी, गुण्डा नाइकेमाथिको इन्काउन्टर, काठमाडौंको बढ्दो ट्राफिक व्यवस्थापन, व्यवसायीमाथि धम्क्याउने गिरोहलाई कारवाहीलगायतमा प्रभावकारी भूमिका खेलेकाले सर्वेन्द्रको नाममा सुनौलो जलप लाग्न लामो समय लागेन ।

विडम्बना ! त्यो जलप मात्र थियो । जलप मात्रै भए पनि सर्वेन्द्रले २९ चैतमा महानिरीक्षक पद सम्हालेपछि त्यसलाई जोगाउनु पर्ने थियो । बरु, मिल्थ्यो भने संगठनको सुधार र प्रहरी छविमा सुधार गरेर त्यो जलपलाई अझ गाढा बनाउनु पर्ने थियो । 

तर, पछिल्ला केही घटनाले उनको नामबाट त्यो सुनौलो जलपलाई पाखलिदिएको छ ।

खनाललाई थाहा नभएको पक्कै होइन, संगठनको नेतृत्व गर्दा त्यस्ता रसायनहरुसँग मिश्रण हुन्छ, जसले जलपलाई निकै छिटो खुइल्याउन सक्छन् ।



सायद खनाल विगतका उपलब्धिको ‘चर्चा र रमाइलो’मा नै भुलिरहे । यसले उनलाई मात्र होइन, संगठनलाई आम मानिसको सकारात्मक दृष्टिकोणबाट बाहिर धकेलिदिएको छ । 

हुन त सर्वेन्द्रले प्रहरी संगठनमा सुधार आएको, प्रहरी सेवाबाट नागरिकले सुरक्षित महसुस गरिरहेको दाबी गरिरहेका छन् । तर, पछिल्लो समयमा क्रमिक रुपमा सार्वजनिक भएका घटनाले प्रहरी गैरजिम्मेवारीको ‘अप्टिमम लेभल’मा पुगेको स्पष्ट पार्न सक्छन् । 



सबैभन्दा आश्चर्यजनक कुरा त प्रहरी अपराधिक गतिविधिमा स्वयं संलग्न भएको मात्र होइन, अपराधी जोगाउन नै मुख्य भूमिका खेलिरहेका प्रसङ्ग बाहिर आएका छन् । ३३ किलो सुनकाण्ड, भक्तपुरको इन्काउन्टर, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्यालगायतका केही यता सार्वजनिक भएका घटनामा प्रहरीको नियत राम्रो नदेखिँदा प्रहरी संगठनमाथि प्रश्नैप्रश्न जन्मिएका छन् ।

उसको संलग्नता त एउटा पाटो, अर्कोतिर प्रहरीको अनुसन्धानमाथि पनि विश्वास गर्न नसकिने वातावरण बन्दै गएको छ । फ्रान्सका लागि पूर्वराजदूत केशव झा हत्या प्रकरणबारे अहिलेसम्म प्रहरीले कुनै निष्कर्ष निकाल्न सकेको छैन । ऊ झाको आत्महत्या हो भन्ने आधार नभेटिएको बताउँछ तर झाको हत्या कसरी भयो र कसले गर्यो भन्ने प्रश्न पनि उसका लागि समस्याको विषय भएको छ । यसले नेपाल प्रहरीको अनुसन्धानमाथि प्रश्न उठाउन सकिने वातावरण बनाएको छ ।

इतिहासलाई समीक्षा गर्ने हो भने पनि नेपालको सन्दर्भमा प्रहरीमाथिको विश्वास सधैं सङ्कटमा पर्दै आएको छ । तर, खनालले नेतृत्व सम्हाल्दै गर्दा नेपाली जनता इतिहासका घटना बिर्सेर नयाँ बिन्दुबाट प्रहरीमाथि विश्वासको वातावरण बनाउन तयार थिए । त्यति बेला र अहिले सामाजिक सन्जालमा मात्रै गरिएको पोस्टहरु हेर्ने हो भने पनि प्रहरीको धमिलो हुँदै गएको छविबारे प्रष्ट हुनसकिन्छ । प्रहरीको प्रतिष्ठालाई उकास्न आइजिपी खनालको कार्यकालमै सम्भव छ भन्ने आश गरेको प्रहरी संगठन नै अहिले निराश भएको बुझ्न सकिन्छ ।

केही समययता खनालले सार्वजनिक कार्यक्रममा आफ्नै संगठनका अधिकारीहरुमाथि निकै कडा शब्द प्रयोग गर्न थालेका छन् । उनले प्रहरी अधिकारीलाई ‘नालायक प्रहरी’, ‘बर्खास्त गरिदिन्छु’,जस्ता शब्द प्रयोग गरेर ‘तर्साउन’ खोजेका छन् । तर, बिर्सनु हुँदैन, नेतृत्वले यस्ता शब्दावली प्रयोग गर्नु आफैंलाई असुरक्षित महसुस गर्नु हो ।

त्यसैले प्रश्न जन्मिएको छ, के खनाल आफैंमाथि असुरक्षाको महसुस गरिरहेका छन् ?

योसँगै अर्को प्रश्न पनि जन्मिन्छ, प्रहरी संगठनको नेतृत्व गर्नेले नै असुरक्षित महसुस गरिरहेको समयमा आम जनताले प्रहरीबाटै सुरक्षाको प्रत्याभूति कसरी गर्ने ?

यो त अझ परको कुरा हो । प्रहरी आफैं अनुशासनमा नरहेपछि उसले समाजमा कस्तो शिक्षा देला ? के ‘मोरल पुलिसिङ’ मात्र अब प्रहरीको दायित्व हो ?

केही वर्षअघि कपाल लामो पालेकै आधारमा चोकचोकमा युवाहरुलाई गुण्डा भनेर ‘जथाभावी’ निर्देशन र नीति कथा बाँडेको प्रहरी अहिले बलात्कार तथा हत्याका घटनामा संलग्न छ भन्ने समाचार बाहिर आइरहँदा ‘एक्सन’ आइजिपी खनाल फिल्डमा उतार्न किन सक्दैनन् ?

यी र यस्तै सन्दर्भले अहिले प्रहरीमाथि प्रश्नहरुको चाङ खडा गरेको छ । खनालको पदावधी रहुन्जेल यी प्रश्नहरुको जवाफ त आउने सम्भावना नै देखिँदैन । त्यसपछि पनि आम नागरिकका मनमा उब्जिएका प्रश्नहरुको जवाफ प्रहरी संगठनले देला भन्ने विश्वास गर्न सकिँदैन ।

हाम्रो समाजलाई हिजोसम्म राजनीतिक केन्द्रले प्रयोगशाला बनाए । यद्पि समाजका विभिन्न आयाममाथि समयसमयमा एक्सपेरिमेन्ट भइरहेका छन् । यो एउटा संक्रमणकालिन अवस्था हो । हिजो हामीसँग १० वर्षे लामो सशस्त्र युद्धले दिएको तिता स्मृतिहरु अझै मेटिएका छैनन्, त्यसपछि राजनीतिको अवधारणामा भएका समस्याहरुले अझै पिरोलिरहेका छन्, अझै समानता र पूर्ण सुरक्षाको अनुभूति घर, समाज र छिमेकमा हुन सकेको छैन । यस्तो समयमा प्रहरी समाज र प्रत्येक नागरिकको रक्षक हुनसक्नु पर्थ्याे, पर्छ । तर, नागरिकले सुरक्षा महसुस गर्न पाएकै छैनन् ।

उल्टै, प्रहरी नै अपराधी भेटियो, प्रहरी नै गुण्डागर्दीमा संलग्न, घुस लिँदालिँदै प्रहरी पक्राउजस्ता ठूला हेडलाइनमा समाचार दैनिक आइरहेका छन् । यही समाचारको समानान्तर अर्को शीर्षक समृद्ध नेपाल, सुखी नेपालीको नारा बोकेको कुनै एउटा कार्यक्रमको अर्को समाचार हुन्छ । प्रहरीले प्रहरी शब्दको अर्थ बोध नगरेसम्म यी दुई समाचारमा शब्दमा लेखिएका कार्टुनजस्ता प्रतित हुन्छन्, तर मनलाई झन् कठोर बनाउँछन् । किनकि प्रहरीको पछिल्लो भूमिकाले प्राकृतिक न्यायको सिद्धान्त अर्थहीन बनेको छ ।

दण्डहिनता र अराजकताले हामी नेपालीका आधारभुत अधिकार नै सङ्कटमा परेका छन् । प्रहरी सङ्गठनको बदनामी र गैर जिम्मेवारपूर्ण कार्यशैलीका कारण सुरक्षा, प्रजातन्त्र, लोकतन्त्र, सरकार, नियम, तथा कार्यप्रणालीमाथि नै नागरिकको विश्वास टुट्न लामो समय लाग्दैन ।

यो विश्वास टुटाउने या बलियो बनाउने भन्ने गम्भीर जिम्मेवारीबाट खनाल नचुकुन् । इतिहासले उनलाई पक्कै सम्झिनेछ ।

  • प्रकाशित मिति : असोज २, २०७५ मंगलबार १६:२०:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया