विचार
संसारमै कम्युनिस्ट जुट्छन्, टुट्छन्, फुट्छन्ः नौलो कुरा होइन

सबैभन्दा पहिले टुट्ने, फुट्ने र जुट्नेबारे कुरा गर्दा समाजको मनोविज्ञानबारे अध्ययन गर्ने र त्यसबारे विचार राख्नु पर्ने हुन्छ । 

हाम्रो समाज यो अर्थमा अलिक फरक विचार र धारणा बोक्ने समाज हो । कसैले नयाँ कुरा गर्दा वा फरक विचार बोक्दा हाम्रो समाजले गुट बन्यो भन्ने शब्द प्रयोग गरिहाल्छ । यो भ्रम हो । यसको अर्थ के हो भने हाम्रो समाज भ्रममा छ ।

संसारभर जुनसुकै पार्टी होस् या संस्था नै किन नहोस्, पदाधिकारीबीच विचारमा विविधता हुन्छ, एउटै विचार भएका मानिसहरु अत्यन्त कम हुन्छन् । केहीअघिमात्र दुई दल एक भएर बनेको पार्टी नेपाल कम्युनिस्ट पार्टीमा पनि फरक विचारमाथि विमर्श हुनु स्वभाविक हो । तर, यसलाई अब हामी फरक विचारमाथिको विमर्श भन्नुभन्दा गुट भन्न रुचाउँछौं । 

पार्टी एकता भएपछि हामीले पार्टीलाई कसरी अगाडि बढाउने भन्ने कुरा निकै जिम्मेवारपूर्ण कुरा हो । यो कसरी अगाडि बढ्छ भन्ने पनि निकै महत्वपूर्ण कुरा हो । तर, यसको अर्थ हामी गुटउपगुटमा विभाजित भएका छौँ भन्ने होइन ।

यसबारे विभिन्न मान्यता तथा फरक विचार पक्कै हुनसक्छन् । जस्तो कि एकतालाई पूर्ण बनाउन व्यक्तिले व्यक्ति छान्ने पद्दतीबाट अगाडि बढ्ने कि विधि बनाउने बनाएर संस्थागत हिसाबमा अगाडि बढ्ने भन्नेबारे बहस आवश्यक छ । यद्यपि बिर्सन हुँदैन, व्यक्तिले व्यक्ति छान्ने प्रक्रिया निर्णय होइन, एउटा आधार मात्र हो । किनकि त्यो अप्ठ्यारो कुरा हो । व्यवहारमा यसलाई उतार्न निकै कठीन हुनसक्छ ।

फरक विचार भएकाले नै तल्ला कमिटी एकताको विषयमा पछिल्लो समय गुट विभाजका कुराहरु आएका छन् । तर, त्यो गुटको आधार होइन । ३ जेठमा पार्टी एकता हुँदा एमाले वरिष्ठ नेता झलनाथ खनाल नेपाल बाहिर हुनुहुन्थ्यो । उहाँको वरियता खोसियो । केही समय उहाँले असन्तुष्टि पनि राख्नुभयो । अहिले पनि उहाँका असमझदारी छन् । तर, पार्टीले उहाँलाई यस विषयमा प्रष्ट पारेको छ, उहाँ मौन हुनु भएको छ ।



अर्को कुरा, पार्टीले केही समयअगाडि तयार पारेको विधानमा पनि गुट विभाजनबारे प्रष्ट पारेको छ । विधानमा भनिएकाले पनि पार्टीमा गुट बन्ने र अलगअलग विश्लेषण हुने सम्भावना कम छ ।

तर, केही विश्लेषकहरु पार्टीभित्र असन्तुष्टी देखा परेकाले अब यस्तो हुन्छ, अब उस्तो हुन्छ भन्ने मनगढन्ते विश्लेषण गरिरहेका छन् । असन्तुष्टीका कुरा आउन सक्छन्, तर को किन र के विषयमा असन्तुष्ट भन्ने महत्वपूर्ण कुरा हो ।  



यो पक्कै पनि हो, हामी व्यक्ति छनोटको बाटोमा गएको खण्डमा समस्या निम्तनेछन् । किनकि अहिले पनि समान हैसियत, योगदान दिएका मानिसहरु हाम्रो पार्टीमा धेरै हुनुहुन्छ । तीमध्ये कसलाई के आधारमा प्राथमिकता दिइयो वा दिइएन भन्ने प्रश्न उठ्न सक्छन् । यस्ता प्रश्नलाई गुटउपगुटको ट्याग लगाउन चाहिँ  हुँदैन ।

मापदण्ड बनाएर, यो मापदण्डका आधारमा यो प्रकृयाबाट र यसको आधारमा स्थानीय कमिटीको एकता प्रकृया अगाडी बढ्छ भन्ने सिद्धान्त सुरु हुने हो भने यस्ता कुनै पनि समस्या आउँदैनन् । मापदण्डमा नै नपरिसकेपछि आफू परिनँ भनेर कसैले पनि गुट बनाएर बस्दैन ।

केही समयअघि नेकपाले स्थानीय तहमा कार्यकारी प्रमुख, उपप्रमुख वा सांसद बनेका नेताहरुलाई पार्टी कमिटीको कार्यकारी जिम्मेवारी नदिने भन्ने निर्णय गरेको छ । अब, त्यसलाई कतिपयले पार्टीमा हाम्रो पोजिसन हुन्थ्यो होला भएन भन्ने सोच्नु स्वभाविक हो । तर, बाहिर अस्विकार गरेर हिँड्न त उहाँहरुले पनि मिल्दैन । 

हुन त अहिले पनि इतिहासका कुरा आएका छन् । त्यही इतिहासमाथिको पुनरावलोकनका कारण गुट र उपगुटका कुरा आएका हुन् । तर, बिर्सन हुँदैन कम्युनिस्ट पार्टी गुट–उपगुटको इतिहासबाटै यहाँसम्म आइपुगेको हो । र, यो सत्यता नेपालमा मात्र होइन, विश्वभर सर्वोपरी मान्न सकिन्छ । कम्युनिस्टहरु जुट्छन, टुट्छन् । यो सामन्य हो, यथार्थ हो । संसारमा केही पनि स्थिर हुँदैन, स्थिरता हुँदैन । विकास र परिवर्तनको प्रक्रियामा जाँदा विभिन्न विभाजन हुन्छन्, यो स्वीकार गर्नै पर्ने कुरा हो ।

३ जेठमा पार्टी एकता भएपछि हाम्रो सबैभन्दा चिन्ताको विषय हो, अब कसरी अगाडि बढ्ने । यो विषयमा छलफल भइरहेको छ, विभिन्न विचार आइरहेका छन् । यसलाई सामन्य प्रक्रियाका रुपमा हेर्नुपर्छ । 

कम्युनिष्ट पार्टी निर्माण र सञ्चालनको एउटा आफ्नै प्रकारको निश्चित सिद्धान्त हुन्छ । हामीले यसपटक हाम्रो एकता र सन्चालनलाई ‘जनवादी केन्द्रीयताको सिद्धान्त’ भन्ने गरेका छौं । त्यो सिद्धान्तअनुसार विधि बनाएर, मापदण्ड बनाएर त्यही मापदण्डअनुसार कमिटी सन्चालन गर्ने कुरा हो । र, सत्यता यो हो कि विविधताले झनै बलियो बनाउँछ । सबैको विचार मन्थनबाट विभिन्न प्रकारका राय र सल्लाह आउँछन् । 

यसको अर्थ अहिले नेकपामा गुटको राजनीति चलिरहेको छैन भन्ने पनि होइन । हो, अहिले गुट, उपगुट छ तर बाहिर भनिएजस्तो चर्को छैन । माधव नेपाल पत्तासाफ भन्ने, अब माधव नेपाल वा झलनाथको कुरा केही चल्दैन भन्ने चाहिँ वाहियात कुरा हो । किनकि यतिबेला सबैको ध्यान पार्टीलाई झन् बलियो बनाउने, एक बनाउनु हो ।

पार्टी नेतृत्व पनि अहिले एकता पूर्ण र बलियो होस् भन्ने चाहेको छ । त्यसैले गुटउपगुटका कुरा कमजोर कुरा हुन् । पार्टी बनिसकेपछि चाहिँ यो विषयमा पनि नेतृत्व पंक्ति नजाला भन्न सकिँदैन ।

  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ०:५०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया