सन्दर्भ: संविधान दिवस
संविधान नयाँ आयो, सोच नयाँ भएन

सयौं वर्ष राणा शासन र राजतन्त्रले शासन गरेको हाम्रो नेपालमा कयौंले प्रजातन्त्रको छायाँसम्म देख्न पाएनन् । तर, परिवर्तन भइरह्यो । जब राणा शासन ढल्यो, पञ्चायती व्यवस्था फेरि जनतामाथिको बन्देजका रुपमा आयो । त्यसले देशमा राज गर्यो ।

तर, जनताले चाहेमा जे पनि हुनसक्छ । वर्षौंदेखिको आन्दोलनका कारण पञ्चायत ढल्यो ।

योबीचको संघर्ष चानचुने थिएन । कैयौं वर्ष यस्ता संघर्ष भए जसमा कयौं शीर ढले, शरीर ढले । त्योबीच एउटा त्रास भरिएको प्रश्न सुनिन्थ्यो, ‘के हामी कुनै दिन स्वतन्त्र भएर बाँच्न पाउँछौँ होला ?’

संघर्षको लामो यात्रामा हिँडेकाहरुले सायद सोचेका थिए– के एक दिन हामीले सोचेजस्तो बन्ला हाम्रो देश ?

संघर्षका पाइलाहरु हिँड्दा त्यस्तो दिन पनि आइदियो, नेपालमा पहिलो पटक नेपालकै संविधान सार्वजनिक भयो । 

यसले मनमा उत्साह थप्यो, चाहनाहरु जन्माइदियो, प्रस्फुटन गराइदियो ।



२०७२ सालमा संविधान आउनु भनेको केबल कागजमा मात्र संविधान आउनु थिएन । हामीले पञ्चायत भोगेर आएका थियौँ, हामीले राणा शासन भोगेर आएका थियौँ, ती भोगाईहरुका कारण हामीसँग एउटा उत्कृष्ट संविधान आइपुगेको थियो ।

जुन अवस्थाबाट हामी ग्रुजिएर आएका थियौँ, त्यहाँ एउटै मुख्य कुरा थियो– राजनीतिक स्वतन्त्रता । 



तीन वर्षअघि हाम्रो नयाँ संविधान नेपालको संविधान जारी हुनुभन्दा पहिले पनि संविधान जारी भएको थियो । तर, त्यसले हामीलाई पूर्ण स्वतन्त्र बनाएको थिएन । त्यतिबेलाको संविधान एकलौटी संविधान थियो, जुन हामी जनता र देशले स्वीकार गर्न सकेन । 

फलस्वरुपः २०७२ सालमा नेपालको संविधान जारी भयो । हामी स्वतन्त्र भयौँ ।

संविधान जारी भएपछि हामी सबैले सोचेका थियौँ, अब देशमा विकास हुन्छ । 

हामीले नयाँ संविधान पाएका थियौँ, पाएका छौँ तर हामी कसैले पनि आफ्नो सोचलाई बदल्न सकेका छैनौँ । हामी पुरानै सोचमा बसिरहेका छौँ । पुरानै चिन्तमा हामीलाई हिँडाइरहेका छौँ ।  

यसले गर्दा हामीले वास्तविक परिवर्तन महसुस गर्न सकेका छैनौँ । यदि संविधान लेख्दैमा हरेक कुरा पूरा हुन्थे भने २०२० सालमा पनि त कानुन बनाइएको थियो । 

त्यसैले, संविधान लेखिनु वा कानुन बन्नुमात्र सबै कुरा हुनु होइन । पहिले हामीले आफूमा परिवर्तन ल्याउनु पर्छ । हामीले सोच्नुपर्छ, हाम्रो भूमिकाबारे, हाम्रो दायित्वबारे ।

हो, अहिले संविधानले हामीलाई धेरै अधिकार दिएको छ । मेरालागि त यो उत्कृष्ट संविधान भएर आएको छ । तर, मैले बिर्सेको छैन, हामी जनता संविधानले दिएका सुविधाहरु उपयोग गर्नतिर मात्र लागेका छौँ, आफ्नो कर्तव्यलाई ध्यानमा राखेका छैनौँ । राजनीति पार्टी, आम जनता सबैले संविधानलाई उपयोग मात्र गर्ने सोच्यौँ, आफ्नो अधिकारलाई ध्यान दिएनौँ । त्यसैले अहिलेसम्म संविधान कार्यान्वयन हुन सकेको छैन । 

अनि पछिल्लो समय त देशमा यति धेरै घटना बढेका छन् कि हामीलाई ती घटनाले त्रसित बनाएका छन् । उदाहरणमा निर्मला पन्त हत्याप्रकरणलाई लिन सकिन्छ । महिनौं बितिसक्दा पनि निर्मलाका हत्यारालाई प्रहरीले पक्राउ गर्न सकेको छैन, यसले संविधान कार्यान्वयन नभएको हो कि भन्ने आशंका जन्माएको छ ।

अनि अर्को कुरा संविधान जनताको चाहनाअनुसार संशोधन पनि हुन सकेन, मधेशका नेपाली जनताको आवाज संविधानले सुनेन । यसले यो संविधानको गरिमामा एउटा सानो दाग लगाइदिएको छ, संविधान भनेको कुनै कुरा होइन जुन एकपटक पनि संशोधन हुनु हुँदैन ।

अहिलेको मुख्य आवश्यकता आर्थिक सम्वृद्धि हो । देशमा आएको संविधानले कतै पनि आर्थिक सम्वृद्धि हुनबाट छेक्ने ठाउँ छैन । सबै कुराहरुलाई स्वीकार गरेर संविधानलाई पूर्णरुपमा कार्यान्वयन गरेर देश विकासमा अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । 

आज गरेको कामको प्रतिफल भोलि नै प्राप्त हुनुपर्छ भन्ने सिद्धान्तमा बाँचेका हामीले आफ्नो सोचलाई बदल्न सकेका छैनौँ । आफैलाई नबदलेर अरु सबै कुरा बदलिनुपर्छ भन्ने सोचेका छौँ । तर, यो सम्भव हुने कुरा होइन । हामी त अझै पनि पुरानै कुराहरुमा अल्झिएका छौँ । 

देशका हरेकले आफू अनुकुल कुराहरु मात्र अहिले संविधानमा खोजिरहेका छौँ, सम्झौता गर्न चाहिरहेका छैनौँ । हामी सबैले आफू अनुकूल संविधान होस् भन्ने चाहेका छौँ, जुन सम्भव हुने कुरा होइन । त्यसैले हामीले केही विषयमा सम्झौता गर्नु पर्ने हुन्छ । त्यही अनुसार अगाडि बढ्नस पर्ने हुन्छ । तर, यही सम्झौता गर्ने ठाउँमा हामी चुकेका छौँ, पुरानै विचारमा हामी बाँचिरहेका छौँ । आफू अनुकुल देश भएन, कानुन भएन, संविधान भएन भनेर वादविवाद मात्र गरिरहेका छौँ ।

हामीले नयाँ संविधान त पायौँ, तर हाम्रो समाजको पुरानो संरचनालाई परिवर्तन गर्नेबारे केही सोचेनौँ । त्यसैले अझै पनि हाम्रो परिवेश पुरानै भएको छ । हामी आफू आधुनिक भएको जस्तो गरेका छौँ, तर हाम्रो सोच पुरानै छ । यो सोच पुरानै हुँदासम्म संविधान पूर्णरुपमा कार्यान्वयन हुनै सक्दैन ।

पुरानै सोचमा हामी बाँचिरहेमा संविधान बनाएर मात्र केही हुने होइन । संविधान त एउटा बाटो न हो, जसमा हामी हिँड्न जान्यौँ भने गन्तव्यमा पुग्छौँ । 
 


  • प्रकाशित मिति : असोज ३, २०७५ बुधबार ४:४५:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया