बाबुराम भन्छन्, 'दीपक मनाङेको नयाँ जीवन र भूमिकामा किन पूर्वाग्रह राखेर बन्देज लगाउने ?'

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कुनै पनि मान्छे जन्मजात अपराधी नहुने बताएका छन् । दीपक मनाङेको विषयमा टिप्पणी गर्दै भट्टराईले यस्तो बताएका हुन् । 

गण्डकी प्रदेशसभामा सत्ता पक्षमा रहेका तत्कालीन युवा तथा खेलकुदमन्त्री मनाङे अर्थात राजिव गुरुङको विषयमा टिप्पणी गर्दै भट्टराईले भने, 'मेरो सुविचारित र अनुभवजन्य मान्यता छ– कुनै पनि मान्छे जन्मजात अपराधी हुन्न ।' 

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत गण्डकीमा नयाँ सरकार गठनको प्रक्रियाका समयमा आफूले मनाङेलाई भेटेपछि मिडियामा विभिन्न प्रतिक्रिया आएको भन्दै यसलाई आफूले अन्यथा नलिएको बताए । 

भट्टराई लेख्छन्, 'समाज÷राज्यले मान्छेलाई अपराधी बनाउँछ । साथै वर्गीय/जातीय/लैंगिक विभेद भएको समाजमा राज्य/समाजको वर्चस्वशाली तप्काले उत्पीडित/बहिष्कृत तप्कालाई सहजै ‘अपराधी’ बनाइदिन सक्छ  । अतः अपराध/अपराधी एक सापेक्ष अवधारणा हो ।'

भट्टराईले आफू जेल तथा बन्दीगृह सुधारको पक्षमा रहेको भन्दै नेपालमा धेरै जेलमा बस्नुपर्ने मान्छे सत्ताको कुर्सीमा वा घरमा बसेका तथा खुला रूपमा रहनुपर्ने मान्छे जेलमा रहेका बताए । 

भट्टराईले लेखेका छन्, 'त्यही सोचका साथ आफू प्रम छँदा मैले जेल सुधार निम्ति तत्कालीन सांसद देवी खड्काको संयोजकत्वमा एउटा उच्चस्तरीय आयोग बनाएको थिएँ, जसको प्रतिवेदन अझै कार्यान्वयन हुन सकेको छैन ।'



रत्नाकर बाल्मिकी बनेको हामी सबैले सुनेको भन्दै भट्टराईले मनाङे अब नायक बन्ने बताए । उनी लेख्छन्, 'राजीव गुरुङहरूले नयाँ जीवन र नयाँ भूमिका चाहन्छन् भने किन बन्चित गर्ने ? किन पूर्वाग्रह राख्ने ?'



  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १०:२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया