के कोरोना खोप लगाएका व्यक्तिको शरीरमा साँच्चै फलाम टाँसिन्छ ?

भारतको महाराष्ट्र नासिकका एक व्यक्तिको शरीरमा फलाम टाँसियो । अरविन्द्र सोनार नाम गरेका ती व्यक्तिले केही दिन अगाडि कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप लगाएका थिए । उनको दाबी थियो,– कोरोना खोप लगाएपछि शरीरमा फलाम टाँसियो । 

उनले सार्वजनिक गरेको भिडियो हेर्दा शरीरमा चम्चा, थाल, सिक्का लगायतका धातु टाँसिएको देखिएको छ । आफूले कतैबाट सुनेपछि के हुँदो रहेछ भनेर चेक गर्ने क्रममा आफ्नो पनि शरीरमा धातु टाँसिएको दाबी उनले गरेका छन् । 

मधुमेहबाट पीडित अरविन्द्रको शरीरमा धातु टाँसिएपछि भारतका अन्य क्षेत्रमा पनि यस्ता खालका घटना सार्वजनिक हुन थालेका छन् । भारतमा उक्त घटना सार्वजनिक भएको केही दिनपछि नेपालमा पनि त्यस्ता खालका घटना सामाजिक सञ्जालमा देख्न पाइएको छ । काठमाडौं असनकी ६० वर्षीया संगिता तिमिलाको शरीरमा चम्चा, साँचो लगायतका धातु टाँसिएको देखिएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा कोभिड–१९ विरुद्धको दुई डोज खोप लगाएपछि शरीरमा चम्चा, सिक्का, साँचो लगायतका धातु अडिएको देखिएको छ । 

त्यस्तै यदु प्रसाद भट्टले पनि यसबारे सुनेपछि आफैंले परीक्षण गरे । त्यसपछि उनको शरीरमा पनि धातु टाँसिएको देखिएको छ । उनले आफैंले सार्वजनिक गरेको भिडियोमा बाँया हातमा चम्चा टासिएको देखाएका छन् । तर, खोप नलगाएको दायाँ हातमा भने चम्चा टाँसिएन । 

के साच्चै खोप लगाएपछि यसरी नै धातु टाँसिन्छ त ? संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन यो विषयमा सत्यता नरहेको बताउँछन् । ‘खोप लगाएपछि धातु टाँसियो भन्नुमा कुनै सत्यता छैन्’ डा.पुन भन्छन्, ‘त्यसका लागि त खोप लगाउनुभन्दा पहिला टाँसिएको थियो वा थिएन त्यो पनि हेर्नुपर्ने र त्यसपछि मात्र भन्न सकिन्छ।’ 



अहिले जसरी सामाजिक सञ्जालमा यस्तो खालको भिडियो सार्वजनिक भइरहेका छन्, त्यो देख्दा उनलाई केही वर्ष पहिलाको एउटा घटना खुबै याद आउँछ । उनले राम्रैसँग चिनेका एक जनाले रेबिजविरुद्धको सुई लगाएका थिए । 

सुई लगाएपछि ती व्यक्तिले पिसाब फेर्दा पिसाबमा स–साना कुकुर देख्न थाले रे । ती व्यक्तिले डा. पुनलाई यसो भन्दा उनी मज्जाले हाँसेका थिए । अहिले पनि त्यही घटना उनको दिमागमा आइरहन्छ। 



यस्ता खालको अफवाह बेला बेला आउने गरेको उनको पुन बताउँछन् । ‘केही समय अगाडिसम्म पनि कोरोना नै छैन भन्नेहरू पनि अहिले धमाधम खोप लगाइरहेको उनले जानकारी दिए । 

‘भारतमा केही अफवाह आयो भने त्यसको केही दिनभित्रमा नेपाल पसिहाल्छ’ डा. पुन सुनाउँछन्, ‘केही समय अगाडिसम्म कोरोना छैन भन्नेहरू कोरोना लागेरै मृत्यु भएको घटना पनि देखेको छु । अहिले फेरी अर्को अफवाह आएको छ ।’ 

केही दिन अगाडि भारतमा भएको उक्त घटनाको भिडियो हेरेपछि डा. पुनलाई अब नेपालमा कोही न कोहीले यस्तै खालको भिडियो बनाइहाल्छ भनेर सोचिरहेका थिए । उनले सोचअनुसार नै खोप लगाएपछि शरीरमा धातु टाँसियो भन्दै भिडियो बनाउनेहरु देखिन थालेका छन् । 

खोप लगाउनुभन्दा पहिला कस्तो थियो ? खोप लगाएपछि कस्तो भयो भन्नेबारे परीक्षण नै नगरी यस्तो दाबी गर्न नसकिने पुनको भनाइ छ । यस विषयमा अनुसन्धान गर्न सकिने भएपनि अहिले आएका कुरा हल्ला मात्रै भएको उनले बताए । 

भारतीय डाक्टर अशोक थोराटले पनि यसबारे अनुसन्धान हुनुपर्ने बताएका छन् ।  नासिक जिल्ला अस्पतालका प्रमुख समेत रहेका डा. थोराटले अन्य ठाउँमा पनि यस्ता घटना भएको खण्डमा जानकारी दिन अनुरोध गरेका छन् । उनले माथिल्लो निकायसँग यसबारे अनुसन्धान गर्न समेत माग गरेका छन् । 

महाराष्ट्रको अन्धविश्वास निर्मूल समितिले यस विषयमा अनुसन्धान थालेको छ । समितिका पदाधिकारी मिलिन्द देशमुखले भारतीय सञ्चारमाध्यमलाई खोप र चुम्बकबारे कुनै सम्बन्ध नरहेको भन्दै थप अनुसन्धान थालिएको बताए । 

  • प्रकाशित मिति : जेठ ३०, २०७८ आइतबार १३:१४:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया