सामाजिक अभियन्ता भनेर चिनिने ज्ञानेन्द्र शाहीको टोलीमाथि भौतिक आक्रमण गरेको आरोपमा पक्राउ परेकाका आफन्तहरूले तत्काल रिहाइको माग गरेका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सुर्खेत अगाडि विरोध प्रदर्शन गर्दै बिना सर्त रिहाइको माग गरेका हुन् ।
पक्राउ परेकाकी आफन्त मिना सलामी मगर भन्छिन्, केपी ओली त के आफ्नो नगरपालिकाको मेयरको नाम थाहा नभएकालाई केपीको भरौटे भन्दै कुप्रचार गरिएको छ । केपी ओली को हो हामीलाई के मतलब ? दिनभरि काम गरेर खाने मजदुरलाई बिना गल्ती प्रहरीले थुनेको छ । उल्टै कुटपिट गर्ने ज्ञानेन्द्र शाहीलाई अस्पतालमा राखेको छ ।’
‘बिहान ८ बजे खाना खाएर काममा गएका श्रीमानसहित गाउँका अन्य युवा मोटरसाइकलमा वीरेन्द्रनगरबाट घर जाने क्रममा करेखोलामा जम्काभेट भएछ ’, उनले भनिन, ‘उताबाट आएको ज्ञानेन्द्र शाहीको टोली रक्सीले एकदमै मात्तिएको थियो । हाम्रो पक्षका युवाहरूले बाटो साइड माग्दा उताबाट उल्टै ढुङ्गाले हानेपछि बल्ल दुई पक्षबीच झडप भएको हो ।’
वीरेन्द्रनगर १३ कै यमबहादुर पुन मगर भन्छन्, ‘निषेधाज्ञाको समयमा राहत वितरण गर्ने नाममा जे पायो त्यही गर्न पाइँदैन । उहाँहरूले त्यो दिन त्यहाँ गएर राहत वितरण हैन, उल्टै रक्सीले मातिएर गाउँका युवाहरूलाई कुट्नु भएको छ । केही युट्युबमा राखिएको भिडियोमा ज्ञानेन्द्र शाहीले सस्तो लोकप्रियताका लागि झुट बोलेका छन् ।’
यसका साथै उनीहरूले ज्ञानेन्द्र शाही विरुद्ध नाराबाजी समेत गरेका छन् ।
ज्ञानेन्द्र शाही र उनकाे टाेली माथि जेठ २८ गते राति कुटपिट भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले वीरेन्द्रनगर-१३ का पाँच जना युवाहरूलाई पक्राउ गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।