धनुषामा थपियाे निषेधाज्ञा, पसल बिहान ११ बजेसम्म खाेल्न पाइने

धनुषामा थप निषेधाज्ञा जारी गरिएकाे छ । 

जिल्ला संकट व्यवस्थापन समितिको सोमबार बसेको बैठकले आगामी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई जारी राख्ने निर्णय गरेकाे हाे । कोरोना संक्रमणको फैलावट रोक्न निषेधाज्ञालाई निरन्तरता दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए ।

प्रजिअ बास्तोलाले निर्माण सामग्री लगायतका आवश्यकीय व्यवसायहरू बिहान ५ बजेदेखि बिहान ११ बजेसम्म र औषधी तथा स्वास्थ्य सेवासँग सम्बन्धित पसलहरू चौबीसै घण्टा स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी खोल्न पाइने बताएका छन् । 

त्यस्तै होटल रेस्टुरेन्टहरूले अनलाइन अर्डर तथा होम डेलिभरी र टेक अवे विधिबाट मात्र सेवा सञ्चालन गर्नसक्ने भए पनि रात्रिकालीन व्यवसाय सञ्चालनमा रोक लगाइएको छ ।
 
प्रजिअ बास्तोलाले कोरोना संक्रमणको प्रभावकारी रोकथाम तथा नियन्त्रण र यसको संक्रमण फैलिन नदिनका लागि जिल्लाभरि प्रतिकूल प्रभाव पर्नसक्ने कुनै किसिमको गतिविधि हुन र गर्न नदिन नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाहरु बाहेकका अन्य सबै सेवा र स्थलहरू पुनः ७ दिनसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको निर्णय अनुसार धनुषा जिल्लाभरि निषेधाज्ञाको समयअवधि थपिएको जानकारी दिए ।

प्रशासनले औषधी उपचार एवं आदेशमा उल्लेख भए बमोजिमका अत्यावश्यक कामका लागि बाहेक सर्वसाधारणलाई घरबाट बाहिर ननिस्कन आग्रह गरेको छ । निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ्गपुल, सपिङ मल, हाट बजार, मनोरञ्जन स्थल, सैलुन, ब्युटीपार्लर, जिम खाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, संग्रहालय लगायतकाहरू सञ्चालन गर्न समेत रोक लगाइएको छ ।

मालबाहक सवारी साधन, सुरक्षा र स्वास्थ्य सेवा एवं सो सम्बद्ध कर्मचारीहरूले प्रयोग गर्ने सवारी साधन, दुरसञ्चार, इन्टरनेट, एम्बुलेन्स, दमकल, शववाहन, फोहोरमैला व्यवस्थापन, खाद्यान्न, फलफुल, पेट्रोलियम पदार्थ, पानी, तरकारी, दुधजन्य पदार्थ, पशुपंक्षीको दानालगायत ढुवानीका सवारी साधनहरू, आइसोलेसन एवं होल्डिङ सेन्टरको व्यवस्थापनमा प्रयोग हुने सवारी साधन, अत्यावश्यक सेवा र कार्यमा प्रयोग हुने गरी अनुमति प्राप्त (पास) सवारी साधनहरू, सरकारी तथा सार्वजनिक संस्थानका सवारी साधनहरू बाहेक अन्य सबै प्रकारका निजी तथा सार्वजनिक यातायातका सवारी साधनहरू (पूर्व पश्चिम राजमार्गमा वारपार गर्ने बाहेक) समेत सञ्चालन गर्न नपाइने आदेशमा उल्लेख छ ।



प्रशासनको यस आदेशलाई उल्लंघन गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
 



  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १६:४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया