'अब सिध्याउने कुरा नगरौँ, एमाले बचाउन मन फराकिलो पारौँ'
ओली समूह पनि लचिलो बन्दै गएको तर्क

नेकपा एमालेकी नेतृ एवम् बागमती प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्यले पार्टीको विवाद मन फराकिलो बनाएर मिलाउनुपर्ने बताएकी छन्। अब एक अर्कालाई साथ दिँदै एकताको आधार बनाउनुपर्ने उनले बताइन्। 

लामो विवाद चलिरहेका बेला पार्टी विभाजनतर्फ गइरहँदा नेपाल समूहबाट प्रधानमन्त्री केपी शर्मा ओलीकी कट्टर आलोचकमध्ये एक शाक्यले एकताका लागि सकारात्मक दबाब दिँदै जानुपर्नेमा जोड दिएकी छन्। 

‘अब मन फराकिलो बनाऔं । एक अर्कालाई साथ दिऊँ, सघाउँदै जाऊँ', फरकधारसँगको कुराकानीका क्रममा शाक्यले भनिन्, 'बोलीचाली बन्द भएकाले अब कुरा खुलाऔँ । के फाइदा भयो र सिद्याउने कुरा गरेर ?’

यसअघि नेतृ शाक्यले ओलीको विकल्प खोज्न ढिला गर्न नहुने तर्क गर्दै आइरहेकी थिइन्। तर, पछिल्लो राजनीतिक घटनाक्रम बदलिरहँदा बागमती प्रदेशमा माधवकुमार नेपाल समूह ओली नेतृत्वको समूहप्रति नरम देखिएको छ। 
बागमती प्रदेश सदस्यसमेत रहेकी शाक्य यसअघि मुख्यमन्त्रीकी दाबेदार पनि थिइन्। तर ओलीले डोरमणिलाई मुख्यमन्त्री बनाइदिए। नेपाल पक्षलाई पेल्ने नियतका साथ शाक्यलाई मुख्यमन्त्री हुनबाट ओलीले बञ्चित गरिदिए। त्यसपछि पुस ५ को राजनीतिक घटनाक्रमले डोरमणिलाई बिदा गर्ने गरी शाक्यले मुख्यमन्त्रीमा दाबी गरेकी थिइन्। 

माओवादीसँग मिलेर शाक्यले आफ्नै नेतृत्वमा पौडेलविरुद्ध २ पटक अविश्वास प्रस्ताव लगिन्। अहिले भने शाक्य आफैँले निर्देशन दिएर बागमती सरकारको आगामी वर्षको नीति कार्यक्रम पारित भएको छ। यसअघि ओलीको कडा आलोचकका रुपमा चिनिएकी नेतृ शाक्य यसपटकको संसदीय दलको बैठकमा उपस्थिति भइन्। पटक पटकको आग्रह लत्याएकी उनी यसपटक सहभागी भएर आफ्ना कुरा पनि राखिन्। 

‘प्रदेशमा पनि राम्रो थिएन, बोलीचाली नै थिएन । हामी त सत्ता पक्षभित्रका पनि प्रतिपक्ष बनेका थियौं', उनले अगाडि भनिन्, 'तर, अहिले अवस्था अलिक नरम हुँदै गएको छ।’



दलमा अर्थपूर्ण उपस्थिति !

ओली-नेपाल टकराव चलिरहँदा एकताको सन्देश केन्द्रसम्मै पुग्ने गरी शाक्य संसदीय दलको बैठकमा उपस्थित भइन्। ‘संसदीय दलको बैठकमा बोलाएको बोलायै गरेपछि गएँ । मैले तपाईंहरुको कुरा पनि सुन्छु र मेरा कुरा पनि राख्छु भनेँ । त्यहाँ आफ्ना कुराहरु राखेँ,’ शाक्यले अघि भनिन्, ‘पार्टी, आन्दोलनको कुरा राख्दै हामी कहाँ पुग्दैछौँ ? हाम्रा उपलब्धि गुम्दै त छैनन् ? भनेर आफ्ना सबै कुराहरु राखेँ ।’



शाक्यले संसदीय दलको बैठकमा राखेका कुराले केही आशाको दियो जागेको छ। ‘सबै कमरेडहरुले हामी त निराश भइसकेका थियौं । तपाईंका कुरा सुनेपछि आशावादी भयौं, नत्र निराशा धेरै बढ्दै गइरहेको थियो भन्नुभयो', उनले सुनाइन्, 'त्यसपछि ठिकै छ म मिल्नका लागि कञ्जुस्याई गर्दिनँ भनेँ।’

बागमतीबाट एकतको नयाँ परीक्षण सुरु भएको पनि शाक्यले बताइन्। ‘त्यसपछि एकताको नयाँ परिक्षण बागमतीले किन नदेखाउने त? सकारात्मक सवक नेतृत्वलाई हामीले किन नसिकाउने त ? भन्ने कुरा भयो', उनले सुनाइन्, 'डोरमणि कमरेडको पनि त्यति नकारात्मक कुरा थिएन।’

पार्टी बचाउने कुरा आफ्नो समूहमा मात्रै नभइ ओली समूहमा पनि सुरु भएको उनले बताएकी छन्। 'हामीभित्र मात्रै नभई उता (ओली समूह)मा पनि त्यस्तै छटपटी रहेछ', उनले थपिन्, 'कम्तीमा पनि एमालेलाई बचाउनु पर्‍यो, मिल्नुपर्यो', उनले भनिन्, 'आन्दोलन र बलिदानबाट बनेको यो पार्टी ओलीको एकलौटी होइन। सबैले दुःख गरेको पार्टी हो भन्ने भावना बढ्दै गएको छ।’

ओलीले अझै पनि झुक्याउने गरी आएमा सहन नसकिने उनले बताइन्। 'होइन, अझै पनि झुक्याउने गरी ओली आए भने सोच्नुपर्ने बाध्यता हुन्छ', उनले थपिन्, 'अन्तिमसम्म प्रयास गर्नैपर्छ भनेर एकताको हात बढाउन खोजेका हौँ। हाम्रो प्रयास एमाले बचाउनका लागि हो।'

  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १७:३३:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया