निगमले कमजोरी नसुधारे हस्तक्षेप गर्ने पर्यटन मन्त्रीको चेतावनी
मागियो सुधारको ठोस योजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियाले सुधारको ठोस कार्ययोजना ल्याउन नेपाल वायु सेवा निगमलाई निर्देशन दिएका छन्। 

न्यूरोडस्थित निगम कार्यालयको सोमबार अनुगमन गर्दै मन्त्री अरगरियाले सरकारले आशा गरे जस्तै निगमलाई सुधार गर्न ठोस कार्ययोजना ल्याउन निर्देशन दिएका हुन्। 

उनले निगममा देखिएको कमजोरी सच्याउन एक साताको समय दिँदै त्यसपछि आफूले हस्तक्षेप गर्ने चेतावनी पनि दिएका छन्। निगमसँग आन्तरिक उडानका लागि प्रयाप्त जहाज हुँदा पनि उचित प्रयोग नभएको गुनासो आएको उनले बताए । उनले एक वर्षदेखि आन्तरिक उडान नहुनुको वस्तुनिष्ठ कारण खोजिने पनि बताएका छन्। 

कोरोना महामारीले हवाइसेवामा पारेको असरबाट जुध्‍न र यसबाट निगमलाई पार लगाउन सरकारको मुख मात्रै नताकी निगमलाई अघि बढाउने कार्ययोजना ल्याउन निर्देशन दिए। मन्त्री अरगरियाले त्यसैका आधारमा मन्त्रालयले आगामी रणनीति बनाउने जानकारी दिए। 

त्यस्तै उनले निगमको माथिल्लो तहमा रहेका कर्मचारीको क्षमता अनुसार उचित स्थानमा राखेर कार्यसम्पादन गरे मात्रै निगमको हित हुने भन्दै कर्मचारीको विज्ञता र क्षमता अनुसार कार्यसम्पादन गर्न गराउन निर्देशन दिए। 

उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै आगामी दिनमा बजार हिस्सामा स्वामित्व बढाउन आक्रमक ढंगले लाग्न पनि निर्देशन दिए । 



त्यस क्रममा निगमका महाप्रबन्धक डिम प्रसाद पौडेलले निगमको आगामी कार्य योजनाबारे जानकारी गराए। निगमलाई अहिलेको अवस्थाबाट माथि उठाउने धेरै सम्भावना रहेको बताउँदै उनले त्यसमा सरकारको सहयोग चाहिने बताए।

कोरोनाको दोश्रो लहरका कारण निगमले तय गरेको कार्ययोजनालाई कार्यान्वयन गर्न सफल नभएको जानकारी पनि उनले मन्त्री अरगरियालाई दिएका छन्। 



  • प्रकाशित मिति : जेठ ३१, २०७८ साेमबार १७:५०:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया