महामारीभन्दा पनि भोकमरीबाट मरिने श्रमिकको डर
साना व्यावसायीहरुको विचल्ली
फरकधार / १ असार, २०७८

कोरोना महामारी बढ्दै जाँदा त्यसको रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी छ । निषेधाज्ञामा अत्यावश्यक कामबाहेक अन्य गतिविधि गर्न रोक लगाइएपछि दैनिक ज्यालादारी गरेर गुजारा गर्नेहरू र अनौपचारिक क्षेत्रका श्रमिकहरूको आम्दानी नहुँदा यतिबेला उनीहरू महामारीसँगै भोकमरीमा पर्ने डरमा छन् ।

मुख्यतः साना लगानीकर्ता तथा त्यस क्षेत्रका श्रमिकहरूलाई लक्षित गरेर महामारीमा सरकारले राहत तथा कुनै प्याकेज ल्याउन नसक्दा भोकमरीमा पर्ने चिन्ता बढेको उनीहरू बताउँछन् । काठमाडौंको भृकुटीमण्डपमा फेन्सी व्यापार गर्दै आएका काभ्रेका रत्न श्रेष्ठले निषेधाज्ञा लागू भएसँगै पसल खोल्न नपाएको र अहिले हातमुख जोर्नै कठिन हुन लागेको बताउँछन् । यसरी नै लामो समय निषेधाज्ञा लम्बिए स्टलको भाडा कसरी तिर्ने हो भन्ने चिन्ताले सताउन थालेको उनले बताए ।

त्यस्तै, न्युरोडमा मोबाइल तथा टिभी पसल सञ्चालन गर्दै आएका राजेश श्रेष्ठ पनि उस्तै तनावमा देखिन्छन् । निषेधाज्ञाका कारण पसल बन्द गर्नु परेको र व्यापार गर्न नपाउँदा बेहाल हुन लागेको बताउँछन् । उनलाई पनि निषेधाज्ञा लम्बिँदै गयो भने व्यापार गर्न नपाउँदा महँगो सटर भाडा कसरी तिर्ने हो भन्ने चिन्ताले पिरोलिरहेको छ ।

त्यस्तै, सिन्धुपाल्चोक घर भई गठ्ठाघरस्थित बसोबास गर्दै आएका र फेन्सी पसल सञ्चालन गरिरहेका स्वस्थानी पौडेल पनि यति बेला काम गर्न नपाउँदा हातमुख जोर्न कठिन हुन थालेको बताउँछन् ।

‘सटर भाडा अत्यधिक महँगो छ, ऋण धन गरेर सटर लिएर फेन्सी पसल सञ्चालन गर्न थालेको डेढ वर्ष भयो, अझै ऋण तिर्न सकिएको छैन, निषेधाज्ञाले काम ठप्प छ, काम नभए पनि दैनिकी गुजार्नै धौधौ पर्न थाल्यो,’ उनले भने ।

अनौपचारिक क्षेत्रमा दैनिक मजदुरी गरेर गुजारा गर्नेहरू निषेधाज्ञाका कारण काम गर्न नपाउँदा यतिबेला चिन्तामा परेका छन् । पहिलो पटक गतवर्ष सरकारले बन्दाबन्दी गर्दा सरकारी, गैरसरकारी संस्थाहरूले राहतको व्यवस्था गरे पनि अहिले त्यस्तो कुनै व्यवस्था नहुँदा भोकमरीले सताउन लागेको श्रमिकहरूको भनाइ छ ।

भोकमरी आउन नदिन सरकारी तथा गैरसरकारी तवरबाट तत्काल उचित राहतको व्यवस्था गर्न उनीहरूले आग्रह गरेका छन् । निषेधाज्ञा अवधिभरको भाडा, व्यवसाय गर्न लिइएको ब्याज छुटसम्मको व्यवस्था सरकारले गर्नुपर्ने उनीहरूको माग छ ।

नेपाली कांग्रेससम्बद्ध नेपाल अटो रिक्सा, ई-रिक्सा तथा रिक्सा ठेलासम्बद्ध श्रमिक संघका अध्यक्ष खिलनाथ बस्नेतका अनुसार अहिले यो क्षेत्रमा लागेका सयौं श्रमिकको अवस्था बेहाल छ । राज्यबाट कुनै राहत नमिल्दा दैनिकी गुजार्ने श्रमिकहरूलाई धौधौ परिरहेको उनी बताउँछन् ।

बस्नेतका अनुसार बन्दाबन्दी अवधिभर घरघरमा रहेको अटो रिक्सा, ई-रिक्सा तथा रिक्सा ठेला, पर्यटन सफाइ, हवाई यातायात श्रमिकहरूलाई सरकारले दैनिकी गुजार्न उचित राहतको व्यवस्था गर्नुपर्छ । श्रमिकहरूको लगानीमा सञ्चालित सवारीसाधनमा बन्दाबन्दी अवधि भरको ब्याज छूट नहुने हो भने श्रमिकको स्थिति झन् भयावह हुने उनको भनाइ छ ।

केन्द्रीय तथ्यांक विभागको पछिल्लो नेपाल श्रम सर्वेक्षणअनुसार मुलुकभित्र दैनिक ज्यालादारी गर्ने श्रमिकको संख्या १५ लाख ८६ हजार छ । त्यस्तै, औपचारिक क्षेत्रमा २६ लाख ७५ हजार श्रमिक कार्यरत छन् भने अनौपचारिक क्षेत्रमा ४४ लाख ११ हजार कार्यरत रहेको विभागको तथ्यांकमा देखिन्छ ।

राष्ट्रिय योजना आयोगको एक अध्ययनमा गत वर्षको बन्दाबन्दीमा आन्तरिक श्रम बजारमा कार्यरत १७ लाख श्रमिकले कोरोना भाइरसका कारण रोजगारी गुमाएको देखिएको थियो । देशभित्र र बाहिर गरी २१ लाख नेपालीले रोजगारी गुमाएको सरकारी तथ्यांक आए पनि उनीहरूको उचित व्यवस्थापनमा सरकारले प्रभावकारी कदम चाल्न चुकेको श्रम विज्ञहरूको भनाइ छ ।

श्रम विज्ञ गणेश गुरुङ, सरकारले निषेधाज्ञा लम्ब्याएको तर श्रमिकका बारेमा केही पनि नसोचेको बताउँछन् । उनका अनुसार रोगसँगै जुधिरहेका नागरिकलाई भोकमरीमा पर्नबाट जोगाउन सरकारले तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउनुपर्छ । अन्यथा रोगबाट भन्दा पनि श्रमिकहरू भोकबाट मर्ने निश्चित छ ।  

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार तत्कालीन प्याकेजबारे अहिले कुनै तयारी भएको छैन भने आगामी आवको बजेटमार्फत् विदेशबाट फर्केका र नेपालमै रोजगारी गुमाएकाहरूलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा जोड्ने घोषणा गरिएको छ ।

त्यसबाहेक लामो समय निषेधाज्ञा लम्बिए त्यसबाट परेको असर अध्ययन गरेर राहत तथा कार्यक्रम ल्याउनेबारे सामान्य छलफल भइरहेको श्रम मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १५:४५:७,   अन्तिम अपडेट : असार १, २०७८ मंगलबार १६:३७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया