नेपालनिकट युवा संघको माग : एमाले मिलाउन ओलीले एउटा पद छाड्नैपर्छ

नेकपा एमालेको माधवकुमार नेपालनिकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टीको विवाद मिलाउने हो भने पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीले दुईमध्ये एक पद त्याग्नुपर्ने तर्क गरेको छ।

नेपाल-झलनाथ खनालनिकट युवा संघले २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशील बनाउँदै एमालेलाई अघि बढाउन ओलीसँग माग गरेको छ। प्रतिनिधिसभा विघटन गलत भन्दै ओलीले आत्मालोचना गरेर अघि बढेमा एमाले मिल्ने तर्क संघले गरेको छ।

'एक व्यक्ति, एक पदलाई कायम गर्ने गरी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिन आग्रह गर्दछौँ', संघले भनेको छ, 'त्यसो गरेर पार्टी एकताको पक्षमा उभिँदै कार्यकर्तामा एकताको सन्देश दिन पनि जोडदार माग गर्दछौँ।

पाँच बुँदे माग 

१) नेकपा (एमाले)को नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कमिटी अर्थात् २०७५ जेठ २ गतेको पार्टी कमिटीलाई क्रियाशिल बनाउनको लागि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ।

२) जनताको प्रतिनिधिमूलक संस्था संघीय प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनी त्यसमा आत्मालोचना गरी अगाडि बढ्नका लागि अध्यक्ष कमरेड केपी ओलीलाई जोडदार माग गर्दछौँ।



३) एक ढिक्का नेकपा (एमाले) ले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनमा बृहत्तर योगदान दिने स्पष्ट छ। यसर्थ अब पनि विधि र विधानविपरीत हिँड्नु सर्वनाशको बाटोभन्दा केही नहुने भएकाले त्यसबाट जोगिनका लागि नेताहरूलाई एक ठाउँमा राखी विधि र पद्धतिअनुसार २०७५ जेष्ठ २ गतेको कमिटी ब्यूँताउँदै बैठक राखी छलफल र बहस चलाउन जोडदार माग गर्दछौँ।

४) एक व्यक्ति एक पदलाई कायम गर्ने गरी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिएर पार्टी एकताको पक्षमा उभिन र आमकार्यकर्तामा पार्टी एकताको सन्देश प्रवाह गर्नको लागि जोडदार माग गर्दछौँ।



५) विश्व महामारीको रुपमा फैलिएको कोभिड-१९ विरुद्धको खोप नेपाली जनताले यथाशीघ्र लगाउन पाउने व्यवस्था गरी सम्पूर्ण आम नेपाली जनताको जीवन रक्षा गर्न जोडदार माग गर्दछौँ।

 

  • प्रकाशित मिति : असार १, २०७८ मंगलबार १६:२५:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया