logo-img

दिल्ली उड्नुअघि झलनाथको सन्देश : विभाजनले विनाश निम्त्याउँछ, एमालेलाई फुट्नबाट रोकौँ
अगाडि भने : देश र पार्टीको अवस्थाले चिन्तित बनाएको छ

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले देशको वर्तमान राजनैतिक जटिलताले आफूलाई धेरै चिन्तित बनाएको बताएका छन्। उपचारका लागि बुधबार दिउँसो दिल्ली उड्नुअघि विज्ञप्ति निकालेर पूर्वप्रधानमन्त्री खनालले दलहरुबीचको विवाद र ध्रुवीकरणले एमाले विभाजनतर्फ गएको बताएका छन्। 

‘उपचारका क्रममा आएका एकपछि अर्को स्वास्थ्य समस्याले डाक्टरहरुको सल्लाहमा म आज केही दिनका लागि देश बाहिर जाँदैछु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा आभार', उनले भनेका छन्, 'सफल उपचारपछि स्वदेश फर्केर यहाँहरुमाझ पुनः आउनेछु भन्ने विश्वास लिएको छु। देशको बिथोलिएको वर्तमान राजनैतिक अवस्थाले मलाई चिन्तित बनाएको छ । राजनैतिक दलको विवाद र ध्रुवीकरणले विभाजनतर्फ गएका छन्।'

अन्तर संघर्षका कारण विभाजनको परकम्प तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा परेको बताउँदै उनले अहिले त्यही असर नेकपा (एमाले) मा परिरहेको बताएका छन्। खनालले राष्ट्रिय एकता, अखण्डता लोकतन्त्र र स्थायित्वका खम्बा दलहरुले व्यक्तिगत इगो साँध्ने काम यथाशीघ्र बन्द गर्नुपर्ने बताएका छन् ।

‘राष्ट्रिय एकता, अखण्डता लोकतन्त्र र स्थायित्वको खम्बा दलहरु भित्र यस्तो हुनु देश, जनता, लोकतन्त्र, विकास र समृद्धिका निम्ति दुर्भाग्यपूर्ण अवस्था हो', उनले भनेका छन्, 'त्यसैले देशका प्रमुख दलहरु र तिनका नेताबीचको अनावश्यक टकराव, महत्वाकांक्षा र व्यक्तिगत इगो साँध्ने काम यथाशीघ्र अन्त्य गरिनु पर्दछ। हामी सबै एकजुट भएर मुलुकका मूलभूत समस्या हल गर्नु पर्दछ भन्ने कुरा आग्रह गर्न चाहान्छु।’



नेता खनालले जनताको चाहना र अपेक्षाविपरीत नेताहरुको गलत प्रवृत्ति, बदलाको भाव र अनावश्यक इगोका कारण पार्टी जीवनमा गम्भीर संकट आएको बताएका छन्।

‘देश, लोकतन्त्र र पार्टीको यो अवस्थाले मलाई अत्यन्तै चिन्तित बनाएको छ । विगतमा हामी सबै मिलेर ठूलाठूला सफलता प्राप्त गरेको स्मरण गरौं । एकता सफलताको बाटो हो भने फुट विनासको', उनले भनेका छन्, 'त्यसैले रिस, राग, अहंकार र बदलाभाव त्यागेर पार्टीका वैधानिक प्रकृयाअन्तर्गत फुटबाट जोगाउँदै एकतावद्ध पार्न नेता कार्यकर्ताहरूलाई विशेष आह्वान गर्न चाहन्छु।’

नेता खनालले पार्टीलाई फुटतर्फ नधकेल्न आग्रह गर्दै धैर्य र संयमका साथ एकता जोगाउने प्रयत्न गरे मात्रै सफल हुने पनि स्मरण गराएका छन्। ‘टुटफुट र विभाजन होइन एकता गर्ने गराउने कार्यमा अगाडि बढौं भन्ने सबैमा आह्वान गर्न चाहन्छु’, खनालले अन्त्यमा भनेका छन्। 



  • प्रकाशित मिति : असार २, २०७८ बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया