मौसमविदले पहिले नै भनेका थिए : यो वर्ष बाढीपहिरोले ठूलो संकट ल्याउँछ
अझै संकट आउँछ, सरकारले पूर्वतयारी थालोस् : अर्याल

अघिल्लो वर्षभन्दा यस वर्ष धेरै बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको विभागले उल्लेख गरेको छ।

यसअघि नै दक्षिण एसियाका ७ वटा देशहरु सम्मिलित साउथ एसियन आउट लुक फोरमको सम्मेलनले यस नेपालमा पहिलेभन्दा धेरै पानी पर्ने अनुमान गरेको थियो । उनीहरुले अघिल्ला वर्षभन्दा धेरै पानी पर्ने भएकाले नेपाल विशेष पूर्वतयारी गर्नुपर्ने पनि सुझाएका थिए।

अघिल्ला वर्षहरुभन्दा यो वर्ष अत्यधिक पानी पर्ने सम्भावना रहेको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिएका छन्। ‘हामीले अनुमान गरे बमोजिम नै बर्षा भइरहेको छ’, उनले भने, ‘बर्षा बढी हुने भएकाले बाढी, पहिरो र डुबानको समस्या पनि अघिल्लो वर्षभन्दा बढी हुनेछ।’ 

उनले सरकारी अधिकारी र सर्वसाधारणलाई मौसम विभागको पूर्वानुमान बुलेटिन हेरेर त्यसै अनुरुप पूर्व तयारी गर्दै सजगता अपनाउन आग्रह गरेका छन् । 

असार सुरु नहुँदै आएको बर्षाले बाढी र डुबान हुन थालेको छ। मौसमविद्को पूर्वानुमान अनुसार नै बर्षा भएर बढी भएमा नेपालका कयौं क्षेत्रहरु अझै ठूला प्राकृतिक विपत्ति थपिने सम्भावना छ। 

‘जोखिमपूर्ण क्षेत्रहरुको अनुगमन गर्नु आवश्यक छ’, अर्यालले भने, ‘स्थानीय तहसँग समन्वय गरी गृह मन्त्रालयले उच्च जोखिम  र क्षतिका सम्भावित क्षेत्रमा पूर्वतयारी गर्नुपर्नेछ ।’ 



वर्षा सुरु हुँदै गर्दा नेपालमा बाढी पहिरोले ठूलो क्षति गर्ने भएकाले यसको व्यवस्थापनमा सम्बन्धित निकाय सतर्क हुनुपर्ने उनको भनाइ छ । अझै २ देखि ३ दिनसम्म देशभर पानी पर्ने उनले बताए। केही स्थानहरुमा भारी बर्षाको सम्भावना रहेको मौसमविद् अर्यालले बताए।

हरेक बिहान ५ बजे जल तथा मौसम विभागले मौसमको पूर्वानुमान बुलेटिन निकाल्ने गरेको छ । हरेक ७२ घण्टाको मौसमसम्बन्धी जानकारी प्रकाशन गरिने उक्त बुलेटिनमा देशका कुन कुन क्षेत्रमा कति बर्षा हुने सम्भावना छ? त्यसको पनि जानकारी उल्लेख गरिएको हुन्छ। 



देशभर मौसम गडबडी भएर गण्डकी, लुम्बिनी र बागमती प्रदेशका अधिकांश स्थानमा केही दिन अझै बर्षा हुने मौसम विभागले जनाएको छ । असार १ गतेदेखि देशका ठूला नदीहरुमा बाढी आइरहेको छ।

७२ घण्टासम्मको पूर्वानुमान ?

असार २ गते

हाल देशभर सामान्यदेखि पूर्ण बदली भएर गण्डकी, लुम्बिनी र बागमती प्रदेशका अधिकांश र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

असार ३ गते 

देशभर सामान्यदेखि पूर्ण मौसम बदलीको सम्भावना रहनेछ । देशका अधिकांश स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम बर्षाको सम्भावना  छ। सुदूरपश्चिम, बागमती र लुम्बिनीका केही स्थानमा भारी बर्षाको सम्भावना रहनेछ । 

असार ४ गते 

देशका अधिकांश स्थानमा हल्का तथा भारी बर्षा हुनेछ । सुदूरपश्चिम, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा भारी बर्षाको सम्भावना छ ।  

  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १६:४:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया