विपद् व्यवस्थापनमा जुट्न मुख्यमन्त्री शाहीको निर्देशन
अटेरी गरे प्रशासन लगाएर सुरक्षित ठाउँमा सारिने

देशभर मनसुन भित्रिएसँगै अत्यधिक वर्षाका कारण हुने विपद् व्यवस्थापनमा जुट्न कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशका सम्पूर्ण तहलाई निर्देशन दिएका छन् । पहाडी इलाकामा बस्तीहरु खोलाको किनार, बगर र गहिरो ठाउँमा भएको भन्दै मुख्यमन्त्री शाहीले ती बस्तीका नागरिकलाई मनसुन नसकिने बेलासम्म सुरक्षित ठाउँमा बस्न आग्रहसमेत गरेका छन् ।

‘नेपालको पूर्वी भागमा ठूलो क्षति भइसक्यो, कर्णाली पनि उच्च जोखिममा छ,’ ‘मुख्यमन्त्री शाहीले भने, ‘सरकारले गरेको आग्रहलाई कसैले अटेर गरेमा प्रशासनलाई भनेर भए पनि सुरक्षित ठाउँमा ल्याउने तयारी सरकारले गरेको छ ।’

जोखिमबाट हुने क्षति कम गर्नका लागि वडा स्तरमा स्वयंसेवक गठन गरी उनीहरुलाई तालिम दिन नेपाल प्रहरीका सहयोग लिने प्रदेश सरकारको तयारी छ । उद्धारका लागि सबै तयारी अवस्थामा रहन मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् । 

कर्णालीका सबै जिल्लामा जोखिममा परेका नागरिकको उपचारको प्रबन्ध मिलाउने र घटनास्थलमा स्वास्थ्यकर्मी तत्काल पुग्ने गरी व्यवस्था मिलाउनसमेत उनले निर्देशन दिएका छन् । 

अत्यावश्यक सामान खरिद गर्नका लागि विपद् कोषमा तत्काल १० करोड रुपैयाँ निकासा गर्ने र सडक अवरुद्ध हुने अवस्थालाई ख्याल गर्दै निश्चित क्षेत्रमा डोजर तयारी अवस्थामा राख्ने गरी काम गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिएका छन् ।





  • प्रकाशित मिति : असार २, २०७८ बुधबार १८:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया