सेनाको हेलिकोप्टरमा मनाङ गएका मुख्यमन्त्रीले फर्किन अर्को हेलिकोप्टर मगाए

नेपाली सेनाको हेलिकोप्टरमार्फत बाढी प्रभावित मनाङको अवलोकनमा पुगेका गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले पोखरा फर्किन अर्को हेलिकोप्टर मगाएका छन्। 

मुख्यमन्त्री पोखरेल बिहीबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमार्फत पोखरा विमानस्थलबाट मनाङको चामे पुगेका थिए। मनाङको चामे र तालगाउँ बाढी प्रभावित क्षेत्रका बाढीपीडितको उद्धारमा खटिएको सेनाको हेलिकोप्टरलाई पोखरामा होल्ड गराएर राहात सामाग्रीसहित पोखरेल त्यसतर्फ उडेका थिए। 

मनाङको बाढी प्रभावित क्षेत्र अवलोकन लगत्तै उनले अर्को हेलिकप्टरमा फर्किन लागेको बताएका छन्। सेनाको हेलिकोप्टर उद्धारमै खटिने भएकाले आफूले फर्किनका लागि अर्को हेलिकोप्टर मगाएको जानकारी उनले फेसबुकमा लेखेका छन्।  

‘हामी आएको हेलिकोप्टर यहीँ उद्धारमा खटिने भएकाले अर्को हेलिकोप्टरबाट फर्कने तयारीमा छौं', उनले भनेका छन्। मुख्यमन्त्री पोखरेलको टोली अहिले पनि मनाङको चामेमा रहेको छ। 

उनको सचिवालयका अुनसार मनाङको मौसममा एक्कासी बदली भएकाले सेनाको हेलिकोप्टर पनि उद्धारमा खटिन पाएको छैन। नेपाली सेनाको हेलिकोप्टर उद्धारमा खटिने भएपछि मुख्यमन्त्री पोखरेललाई लिन प्रभु एयरको हेलिकोप्टर जाने तयारी थियो। 



प्रभु एयरको हेलिकोप्टर पनि अहिले मनाङको बगरछापमा अवतरण गरेको छ। उक्त हेलिकोप्टर चामेमा पुग्न नसकेपछि मुख्यमन्त्री र भौतिक मन्त्री दीपक मनाङेसहितको टोली अहिले उतै अड्किएको छ। 



  • प्रकाशित मिति : असार ३, २०७८ बिहीबार १७:२६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया